Comments Add Comment

वैद्यले गरे साना ४ कम्युनिस्ट घटकसँग कार्यगत एकता

११ वैशाख, काठमाडौं । मोहन वैद्य (किरण)देखि ऋषिराम कट्टेलसम्मका साना ४ कम्युनिस्ट घटकले कार्यगत एकता गरेर अघि बढ्ने सहमति गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न मुद्दामा राष्ट्रघात तथा जनघात गरेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध लड्न वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) र सुलभ नेतृत्वको अर्को नेपाल कम्युनिष्ट दलले कार्यगत एकता गरेर अघि बढ्ने सहमति गरेका हुन् ।

कार्यगत एकताको सहमति पत्रमा सीपी गजुरेल नेतृत्वको देशभक्त जनतान्त्रिक मोर्चा पनि सहभागी छ । तर, गजुरेल नेतृत्वको यो समूह भने दल नभएर मोर्चा हो । गजुरेल, वैद्य नेतृत्वकै नेकपा (क्रान्तिकारी माओवादी)का नेता हुन् ।

विभिन्न मुद्दामा कार्यगत एकताको घोषणा गरेका ४ दलले सरकारको ध्यानाकर्षणका लागि भन्दै यही वैशाख २७ गते काठमाडौंको शान्तिबाटिकामा संयुक्त विरोधसभासमेत निर्णय गरेका छन् ।

उनीहरुले अंगीकृतका सन्तानलाई नागरिकता वितरण गर्ने सरकारको निर्णयको आलोचना गर्दै वितरण गरिएको नागरिकता रद्द गर्न माग गरेका छन् ।

सरकारले नागरिकता विधेयक संसदमा विचाराधीन अवस्थामा रहेकै बेला अंगीकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन केही साताअघि निर्णय गरेपछि यसबारे बहस भइरहेको छ । ५ दलले संसदमा विचाराधीन विधेयक फिर्ता गर्न पनि सरकारसँग माग गरेका छन् ।

भारतद्वारा तयार पारिएको नक्कली नेपाली नक्सामा २७२ वर्ग किलोमिटर जमिन गायव पारिएकोप्रति पनि ४ दलले आपत्ति जनाएको छ । नक्कली नक्साले भ्रम फैलाएकाले त्यसलाई प्रतिबन्ध लगाएर सरकारले नेपाली भूभाग सुरक्षित भएको नक्सा तयार पार्नुपर्ने ४ दलको भनाइ छ ।

विप्लव समूहमाथि राजनीतिक पूर्वाग्रहका आधारमा प्रतिबन्ध लगाइएको आरोप पनि ४ दलले लगाएका छन् । ‘राजनीतिक पूर्वाग्रहका आधारमा नेकपामाथि जुन प्रतिबन्ध लगाइएको छ, त्यसलाई तुरुन्त खारेज गर्न माग गर्दर्छौं’, कार्यगत एकताको सहमतिबारे जानकारी दिन जारी गरिएको विज्ञप्तिमा लेखिएको छ ।

वाइडबडी जहाज खरीद, ललितानिवास जग्गा बिक्री प्रकरण तथा एनसेल कर छलीबारे पनि ४ दलले चासो राखेका छन् । उनीहरुले यी प्रकरणमाथि छानबिन गरी दोषीमाथि कारबाही गर्न भनेका छन् ।

३३ किलो सुन तस्करी र निर्मला पन्तको हत्या छानबिनमा सरकारले उदासीनता देखाएको निष्कर्ष निकाल्दै उनीहरुले संलग्नमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment