Comments Add Comment

‘स्मार्ट घलेगाउँ’का घरमा रातो रङ, आँगनमा पर्यटकको रमझम

स्मार्ट भिलेज बनाउन प्रदेश सरकारले दियो ३० लाख

११ वैशाख, पोखरा । आन्तरिक पर्यटकको रोजाइमा पर्ने होमस्टे गाउँ हो, घलेगाउँ । लमजुङको क्व्होलासोंथर गाउँपालिकाको घलेगाउँ हरेक दिन पाहुनालाई गाउँ भित्राउँछ । अधिकांश ढुंगा र टिनले छाएका घरका आँगन नचरी, सोरठीले गुञ्जिन्छ ।

होमस्टे र प्रकृतिको पारखीका लागि घले र गुरुङको बसोबार रहेको घलेगाउँ उत्कृष्ट गन्तव्य हो । अन्नपूर्ण र लमजुङ हिमालको काखैमा रहेको घलेगाउँलाई सार्ककै नमूना ‘स्मार्ट भिलेज’को रुपमा विकास गरिएको छ ।

नमूना स्मार्ट भिलेजको बाटोमा हिँडिरहेको घलेगाउँमा दैनिक सरदर १५० जना पर्यटक पुग्ने गाउँपालिका अध्यक्ष प्रेम घले बताउँछन् ।

समान किसिमका घर । मोटरबाटो, बिजुली, इन्टरनेट सुविधा । गाउँकै उत्पादन र अर्गानिक खानाको स्वाद । निधारभरी दही र चामल मिलाइएको सेता अक्षतासहित न्यानो आथित्य र सत्कार । घलेगाउँमा पर्यटकको रोजाइ हुनुका पछाडि यी कुराको भूमिका छ । अब त्यसमा अर्को विशेषता पनि थपिँदै छ, सबै घरमा समान रङ ।

घलेका गाउँका सबै घरका टिनका छाना र भित्ता गाढा रातो रङले सजिदै छ । ‘स्मार्ट भिलेज बनाउने अभियान गएको वर्षदेखि थालेका हौं । सुविधा गाउँसम्मै पुर्‍याउएर पलायन रोक्ने, पर्यटकलाई आकषिर्त गर्न होमस्टे गाउँलाई व्यवस्थित गरिरहेका छौं,’ क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेम घलेले भने, ‘स्मार्ट भिलेजका सबै घरमा एउटै रङ पोत्न थालिसकेका छौं । यसले गाउँलाई थप आकर्षक र समान देखाउने छ ।’

गाउँपालिकाले गएको वर्षदेखि नै समान रातो रङ पोत्ने अभियान थालिसकेको छ । यो अभियानमा प्रदेश सरकार पनि हात मिलाउन आइपुगेको छ । स्मार्ट भिलेजका घरमा रातो रङ पौतन र गाउँलाई अझ व्यवस्थित गराउन गण्डकी प्रदेश सरकारले २९ लाख २५ हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।

‘स्मार्ट भिलेजका लागि स्थानीय सरकारसँगको साझेदारीमा अनुदान दिने निर्णय भएको छ,’ गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले भने, ‘गण्डकी प्रदेश सरकारले जति नै स्थानीय तहले पनि रकम छुट्याउने छ ।’ घलेगाउँलाई स्मार्ट भिलेज अभियानको गएको पुसमा मुख्यमन्त्रीले शुभारम्भ गरेका थिए ।

स्मार्ट भिलेज हुन गाउँमा भरपर्दो इन्टरनेट, टेलिफोन सेवा, गाउँ सफा र शान्त चाहिने मुख्यमन्त्री पृथ्वीसुब्बाको भनाइ छ । सुविधा र पूर्वाधार पूरा गर्दै घलेगाउँलाई स्मार्ट बनाएर सार्ककै नमूना गाउँ बनाउन लागिएको मुख्यमन्त्री गुरुङले बताए ।

स्मार्ट भिलेजमा गुरुङ संग्रहालय, चियाबारी, भेडीगोठ व्यवस्थित हसने छन् । बाटो वरपर फूल, गाउँका बाटोमा सिँढी निर्माण गरिने छ भने भएका सिँढी मर्मत गरिने गाउँपालिका अध्यक्ष घलेले जानकारी दिए ।

घलेगाउँमा करिब १२० घर छन् । जहाँका ३३ घरमा होमस्टे चलाइएको छ । पराराष्ट्रमन्त्री स्तरीय बैठक बसेपछि घलेगाउँ अझ बढी चर्चामा आएको थियो । गणतन्त्र स्थापनापछि पराराष्ट मन्त्रालयले परराष्ट्र साकै बैठक घलेघाउँमा भएको थियो । त्यही बैठकले घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँ घोषणा गरिएको थियो ।

गाउँमा २०५७ सालबाट होमस्टे चलाइएको भए पनि अरु गाउँजस्तै जनयुद्धले प्रभावित बन्यो ।

शाान्ति स्थापनापछि घलेगाउँले दिनहुँ पाहुनालाई स्वागत गरिरहेको अध्यक्ष घले बताउँछन् । घलेगाउँले ६ सय वर्षभन्दा पुरानो इतिहास बोकेको गाउँले बताउँछन् ।

लमजुङ सदरमुकाम बेसीसहरदेखि ३२ किलोमिटर दुरीमा रहेको घलेगाउँमा साँच्चिकै नमस्ना बनाउन गाउँपालिका लागिपरेको अध्यक्ष बताउँछन् । ‘स्मार्ट मान्छेहरु बसोबास गर्ने, स्मार्ट पाहुना राख्ने स्मार्ट गाउँ बनाउने अभियानमा हामी छौं,’ अध्यक्ष घलेले भने, ‘अभियानमा प्रदेश सरकारले पनि हात मिलाएको छ । संघले पनि मिलाउने छ ।’

तस्वीरहरू : सामाजिक सञ्जालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment