Comments Add Comment

कथा : तक्मा

बिहान अबेर उठ्छु र झ्यालको पर्दा खोल्छु । भेन्टिलेसनबाट छिरेको चिसो हावाले अनुहारलाई स्पर्श गर्छ । हृयाङ्ओभरले अलि बिसञ्चो छु । दुई ग्लास चिसो पानी घटघटी पिउँछु । ब्रेकफास्टका लागि ‘कुकहाउस’ जान जाँगर चल्दैन । केही समय कोठामै लर्‍याङलुरुङ गर्छु ।

आवश्यक सामानहरु बरगन र झोलाहरुमा प्याक गर्छु । कोठा सफा गर्छु । थकाइ लागेजस्तो भइरहन्छ । फेरि ओछ्यानमा पल्टन्छु । भोलिदेखिका दिनहरु कसरी बित्ने हो ? मन खेलिरहन्छ । घडीमा समय हेर्छु । दिउँसोको ठीक साढे बाह्र बजेको रहेछ । ‘कुकहाउस’तर्फ लाग्छु । कुकहाउसबाहिर सदाझैं पङ्क्तिबद्ध उभिएका कोही पनि देखिँदैनन् । झुक्किएँ पो कि ? फेरि घडी हेर्छु । मिनेटको काँटा पाँच मिनेट अघि बढिसकेको हुन्छ । ढोका तानेर कुकहाउसभित्र पस्छु । टेबलहरु रित्ता छन् ।

भात, सुँगुरको मासु र दाल थापेर म खाना खान बस्छु ।

नम्बरी चन्द्र खाना लिएर आइपुग्छ । प्लेट र पानीको ग्लास टेबलमाथि राख्छ ।

‘ओइ आनन्द, भोलि बिहान कति बजे बाटो लाग्ने हो ?’

‘चार बजे नै परेड स्क्वायरमा फलैन हुने सि.एस.एम.ले हुकुम सुनाको छ ।’

‘बिहान नाफीमा फोन गर्न गएको, दश-बाह्र जना भन्दा धेरै लाइनमा थिए । आधा घण्टाजति उभिएँ । पालो आएन । त्यसपछि कोठा फर्किएँ । बूढीलाई फोन गर्न पाइनँ यार । उसको समय अर्को हप्ता हो ।’

‘बहिनी बच्चा जन्माउने छिन् ?’

‘त्यही भएर त चिन्ता लागेको छ ।’

‘बाबुआमा बन्न लागेकोमा दुवैजनालाई अग्रिम बधाइ छ ! बहिनीलाई स्वास्थलाभको कामना ! धेरै चिन्ता गर्नु राम्रो होइन चन्द्र । भोलि बिहानै परिचालित हुनु छ । चिन्ताले गाह्रो बनाउँछ । बिमार पो भइन्छ कहिलेकाहीँ ।’
‘भन्न जति सजिलो हुन्छ, भोग्नलाई गाह्रो छ यार । चिन्ता त भइहाल्छ नि ।’

‘भरै राति सबै सुत्ने तरखरमा हुन्छन्, त्यो बेला फोन गरे भो नि ।’

‘अँ, त्यसै गर्नु पर्ला यार ।’

भात खाइसकेर बाँकी सामान किन्न नाफी जान्छौं । नाफी छिर्दाछिर्दै फोन गर्ने ठाउँतिर हेर्छु । फोन गर्नेहरुको लाइन देखिँदैन ।

‘चन्द्र फोनको लाइन खाली छ जस्तो छ ।’

चन्द्र बीस पाइलाजति अघि बढ्छ । फोन लाइनहरु हेर्दै भन्छ- ‘खाली  रै’छ । छिटो आऊ । फेरि अरु आउँछ ।’

छिटोछिटो पाइला चाल्दै म दुई नम्बर कोठामा पस्छु ।

टकहोम फोनकार्डको पिन नम्बर डायल गर्छु अनि फोन नम्बर । दुई रिङमा नै फोन उठ्छ ।

‘हेल्लो आनन्द ।’

‘हेल्लो आशा । ठीकै छौ ?’

‘अँ ठीकै छु । तपाईंकै फोन पर्खेर सिटिङरुममै सुतिरहेको । अघि फोन किन नगर्नुभको ? पर्खिंदापर्खिंदा हैरान भएँ ।’

‘आज धेरै व्यस्त भएर फोन गर्न पाइनँ । अहिले पनि बल्ल पालो आएर फोन गर्दै छु ।’

‘ए ए । फोन नगर्नु भएर चिन्ता लागिरहेको थियो । लडाइँमा जाने मान्छे । भोलि कति बजे जाँदै हुनुहुन्छ ?’

‘पाँच घण्टापछि जाने हो, आशा ।’

‘राम्रो जानुहोस् ! जस्तो जाँदै हुनुहुन्छ, त्यस्तै र्फकनुहोस् ! केही नहुनू ! हुन्छ मेरो प्यारो मान्छे ?’

हुँकहुँक गर्दै आशा रोएको आवाज आउँछ ।

‘तपाइँ केही हुनु…’ बाँकी प्रस्ट सुनिँदैन । आधा काटिएको आवाज मात्र आइरहन्छ केहीबेर । यो आवाजले मलाई विचल्ली बनाइहाल्छ ।

‘आशा… आशा… ।’

आशा केही बोल्दिनन् ।

‘यस्तै त रहेछ । मायाको परिभाषालाई हरेक मान्छेले फरक-फरक व्याख्या गर्छन् । कल्पना र भोगाइ नै मायाको परिभाषा होला । युद्धले हाम्रो पे्रमलाई कतै विचल्लीमा पार्ने त होइन ? रोमका राजा क्लाउडियस् दोस्रोले सिपाहीहरुप्रति लागाएको प्रेमको प्रतिबन्ध गलत थिएन कि ? भ्यालेन्टाइन पादरी पो सही थिएन कि ? एक सय नब्बे वर्ष अघिदेखि यसरी नै लाहुरे र लाहुरेनीहरु बाध्यताले छुट्टाछुट्टै रहनुपर्‍यो । लाहुरेहरु सधैं पल्टनमा, युद्धमा, तालिममा । लाहुरेनीहरु चाहिँ घरमा, कोठामा । नितान्त अकेलो पनमा । जिउँदो लोग्नेको श्रीमती । उनीहरुको माया र प्रेम त सधैं पीडामा परिणत भइरहेको छ । संसारमा प्रेमको यस्तो कथा अरुको हुँदैन र भएको पनि छैन होला…’

‘आनन्द के भन्नु भएको ? मैले बुझिनँ ।’ आशाको मधुरो स्वर मेरो कानमा आइपुग्छ ।

‘केही हैन ।’ म सम्हालिन्छु । मनमनमा भनेँ ठान्दै थिएँ, बाहिरै बोलिपठाएँछु ।

पक्रिरहेको फोनको हेण्डसेट देब्रे हातबाट दाहिने सार्न खोज्छु । आँसुले भिजेर हेण्डसेटलाई च्यापच्याप बनाइसकेको रहेछ । उफ् Û आँसुबाट छुटकारा मिलेन मलाई । गर्भे टुहुरो हुँ । आमाको लुङ्गीमा मैले कति लामो आँसुको नदी बगाएको हुँला ? दाजु र दिदीहरुको ढाडलाई खेल मैदान नै बनाएँ हुँला । म कताकता सोचमग्न भइहाल्छु ।

‘किन नबोल्नु भएको ? बोल्नुहोस् न ! तपाईंको आवाज आउँदा भेटेजस्तै लाग्छ । अनि आवाज नआउँदाचैँ बिदा मागेर पल्टन हिँड्नु भएजस्तो ।’

‘आशा, विछोडमा झर्ने आँसु रोकेर नरोकिने । कार्डिएफ मसलेहरु जस्तै होला यो आँसु पनि ।’

‘आनन्द, यस्तो वाक्यले मलाई गाह्रो बनाउँछ । सरल शब्द काफी छ । मेरो पर्समा राखेको तपाईंको फोटो छ महिनामा कति पटक आँसुले भिज्ने हो ? आँसुले भिजेको तपाईंको फोटोलाई सुकाएर राख्नेछु । रङ्ग हराउन र च्यातिन दिने छुइनँ ।’
तुरुन्तै फोन कार्डमा पैसा सकिन लागेको सङ्केत बज्न थाल्छ- टिँटटिँट ।

‘मेरो बाचा छ आशा । तिमीले भनेजस्तै म आजजस्तो छु, तिम्रो सिउँदोमा सिन्दुर भर्न त्यस्तै र्फकनेछु ।’

मैले बिदा माग्नै नपाई फोन डिस्कनेक्ट हुन्छ । बिदा माग्न नपाउँदा नरमाइलाे लाग्छ । अर्को फोन कार्ड छैन साथमा । अत्यास लाग्दो मन लिएर कोठा र्फकन्छु । कोठाको ढोका अगाडि पुग्छु । गोजीमा चाबी छाम्छु । चाबी भेट्दिनँ । देब्रे हातले ढोका ठेल्छु । ढोका सहजै ठेलिन्छ । कोठाभित्र पस्छु । टेबलमाथि रहेको एल्बममा आँखा ठोकिन्छ । एल्बमका पानाहरु पल्टाउन थाल्छु-

त्रियुगा नदी किनारमा उभिएकी आशा । उत्तरतिर चुरे डाँडामाथि अस्ताउँदै गरेको घामको दृश्य । आकाशे रङ्गको कुर्ता-सुरुवाल लगाएकी । गोरो अनुहारमाथि कालो कपाल । कस्तरी सुहाएको !

‘तिम्रो सिउँदो रङ्गाउन छ महिनापछि आइपुग्नेछु…’ म यसो भनिहाल्दो रहेँछु । आफैं झसङ्ग हुन्छु ।

झ्यालको पर्दा खोलेर बाहिर हेर्छु । बलिरहेको ल्याम्पोस्टको वरिपरि अनगिन्ती कीराहरु झुम्मिरहेका छन् । तातोले पोलेर कतिपय किराहरु भुइँमा खसिरहेका छन् । सोच्छु- हामी सिपाहीको जिन्दगी यिनै कीराहरुको जस्तै त छ । युद्धको तातो बीच झुम्मिरहनुपर्ने, हरपल तैनाथ भइरहनुपर्ने र खसिरहनुपर्ने…

घडीमा आँखा लगाउँछु, रातको एघार बजिसकेको हुन्छ । हातको घडी र टेबलको घडीमा दुई बजेको आलार्म सेट गर्छुु ।
०००
सुतेको त भर्खरै हो भन्ने लागेको हो तर आलार्मले ब्युँझाइहाल्यो ।

बत्ती अन गर्छु । दाँत माझ्छु । अनुहार पखाल्दै ऐना हेर्छु । आफैं बूढो लाग्छु आफैंमा । युनिर्फम लगाउँछु । कोठाबाट ब्ााहिर निस्कन्छु । मुटु कमाउने जाडो छ । कोतबाट हतियार निकाल्छु । ब्रेकफास्टको लागि कुकहाउस जान्छु । बिहानै केही रुच्ने हैन । एक कप कफी मात्र पिउँछु ।

परेड स्क्वायरमा फलैन हुन्छौं । कोचहरुमा चढेर ब्राइज नर्टन एयरपोर्टतर्फ लाग्छौं ।

फोर्स प्रटेक्सन मिसन पूरा गर्न अफगानिस्तानतिर

फोर्स प्रटेक्सन मिसन पूरा गर्न अफगानिस्तानतिर हरकुलेस उड्छ र मध्याह्न तीन बजे अफगानिस्तानको क्याम्बास्टनमा अवतरण गराउँछ ।

हाम्रा पाइलाहरुले अफगानिस्तानको बालुवाजस्तो धुलो माटो टेक्छन् । ‘फुल आर्म’ बोकेर धुलो माटोमा खुट्टा भसाउँदै दुई माइलजति निरन्तर हिँड्छौं । जीवजन्तु र चरा-चुरुङ्गीको अत्तोपत्तो हुँदैन । साँझ पर्छ । आ-आफ्नो ड्युटी पूरा गर्दै खुला आकाशमुनि रात बिताउँछौं ।

बिहान सबेरै उठेर स-साना टेन्टहरु टाँग्छौं । नाै-दश किलोमिटरवरिपरि पेरिमिटरको रुप बनाउँछौं । त्यसको वरिपरि पट्रोलिङ गर्ने हाम्रो दैनन्दिन शुरु हुन थाल्छ ।

गाडीहरुबाट पट्रोलिङ गर्न साध्य हुँदैन । गाडीका पाङ्ग्राहरुले उडाएको धुलोले जमीन र आकाश पूरै ढाकेजस्तो हुन्छ । दायाँबायाँ, अगाडिपछाडि केही देखिँदैन । आधा घण्टापछि धुलो अलिअलि देखिन छाड्छ । जताततै उस्तै देखिन्छ । एकै प्रकारका दृश्यहरुले आँखा नै बिगि्रएको भान हुन्छ ।

केही हप्तापछि-

५७ डिग्रीसम्म तापक्रम पुग्न थाल्यो । पसिनाले नुहाउँदै खाना खाइरहेका बेला कहिलेकाहीँ बेस्सरी हावा चल्थ्यो । खाना जोगाउन अनेक जुक्ति गर्दा पनि बालुवा र धुलो खानामा मिसिइजान्थ्यो । खानामा मिसिएको बालुवा र धुलो सकेसम्म छान्ने कोशिस गथ्र्यौं । छान्न नसकेपछि त्यस्तै खान्थ्यौं । अर्को विकल्प र उपाय थिएन । सबैको उस्तै समस्या । असी प्रतिशतभन्दा धेरैलाई डाइरियाको समस्याले सतायो । रगतमासीले भन्दा खतरनाक दुःख दियो । पेट दुखेर दिसा गर्न गाह्रो हुन्थ्यो । कतिपय अवस्थामा रुँदै दिसा गथ्र्यौं ।

केही महिनापछि काँडे तारले कम्पाउण्ड बार्‍यौं । टेन्टहरु टाँगेर बस्ने व्यवस्था मिलायौं । दुई महिनासम्म त्यहाँ नौला मान्छेहरु कोही देखिएनन् । कुनै प्रकारका जनावरहरु भेटिएनन् । सुनसान थियो क्यामबास्टन ।दुई महिनापछि सुरामा जानेहरुलाई सुरक्षा दिनुपर्ने हुकुम आयो ।

अप्रिलकाे तीन तारिखका दिन एक महिने मिसनको लागि अर्कै ठाउँमा जान हामी तयारी हुन्छौं । हर्कुलेसले हामीलाई करिब ४५ मिटेनको उडानपछि नवजात गाउँमा पुर्‍याउँछ ।

सबैभन्दा पहिले एएनपी भएको ठाउँमा जान्छौं । उनीहरु कसैले पनि युनिर्फम लगाएका हुँदैनन् । सिभिल र उनीहरुबीच केही अन्तर छुट्याउन सक्दैनौं । उनीहरुको हातमा माइण्ड टेप बाँधिदिन्छौं र दोभाषेको माध्यमबाट भन्न लगाउछौं-‘तिमीहरु भनेको राम्रो मान्छे । त्यसैले यो बाँधिदिएको ।’

त्यसपछि उनीहरुसँग सानो ‘चेक प्वाइन्ट’ निर्माण गर्छौं ।

सुराको विषयमा राति नै अर्डर सुनाएको थियो । बिहान सबेरै उठेर खाजा खान्छौं । त्यसपछि आठवटा विमिकहरुलाई लाम लगाउँछौं ।

म ओसीको ड्राइभर । सबैभन्दा अगाडि विमिक हाँक्न थाल्छु । मानले भन्न थाल्छ-‘तालिवानसँग भिडन्त भयो भने तिनीहरुले पहिलो निशानी यही विमिकलाई बनाउनेछन् ।’

‘जति सक्दो विमिक हाँक्नू ! माइकल सुमाकाले जस्तो । कभरले बलियो समातेर बस्नू !’ विमिक स्टार्ट गर्दा ओसीले भनेको थियो ।

ओसीले किन मलाई यस्तो हुकुम दिएको होला ? मनले भन्छ- पक्कै हामी डेन्जर जोनमा जाँदै छौं ।

विमिकको स्टेरिङ बलियो गरी पक्रिन्छु र सक्दो स्पिड हाँक्न थाल्छु । बाटोको नाम निशाना केही देखिँदैन । स-साना खाल्डाहरु र खोलाहरु पार  गर्दै अगाडि बढिरहन्छौं । विमिकका पाङ्ग्राहरुले ‘भर्जिन रोड’का ढुङ्गाहरु र माटाहरु उछिटाइरहेको हुन्छ । नितान्त नयाँ ठाउँमा माइकल सुमाकाले जस्तो विमिक हाँक्ने हुकुम ? स-सना झुप्सीहरु र पर्खालहरुबाट कतै गोली पो आउने हो कि ? मनमा भय हुन्छ । आँखामा अजङ्गको चित्र आउँछ- लामो दायाँ जुँगा पालेको अपरिचित मान्छेले हामीतिरै राइफल ताकिरहेकोे !

दुई माइल दुरी पार गरेपछि तालिवानहरुको ‘डग इन पोजिसन’मा हामी प्रवेश गरेछौं । दुई सय मिटरअगाडि पाँच छजना जवानहरु र दुई तीनजना केटाकेटीहरु सानो दैलोजस्तोदेखि अटिनअटी भित्र छिरेको देख्छु । मेरो शरीर जिरिङ्ग हुन्छ । स-साना केटाकेटीहरु विमिक देखेर डरले भाग्यो होला तर किन ठूल्ठूला मान्छेहरु पनि भागे ? मनमा चिसो पस्छ । दिमागले भन्छ- ‘तँ लडाइँमा छस् कान्छा ।’

तालिवानहरु ‘स्ट्याण्ड फाइट’को लागि पूरै प्रिपियर भई नभाग्ने गरी बसेका रहेछन् । ओसीले ‘स्पिड स्पिड’ भन्दाभन्दै अचानक आपतकालीन ब्रेक लगाएँछु । जस्तो कल्पना गरेको थिएँ, त्यस्तै कपडा लगाएको र त्यस्तै अनुहार भएको एक व्यक्तिले घरको जुठेल्नाबाट ‘निलिङ पोजिसिन’मा हामीलाई आरपीजी ताकिरहेको देख्छु ।

‘आरपीजी !’

म चिच्याएर विमिकबाट हाम फाल्छु । ओसीले पनि ढ्याम्म हाम फाल्छ । तालिवानहरुले चारैतिरबाट हामीलाई गोली बर्साउन थाल्छन् । ट्याक्टिकलमा दौडँदै पछाडि भाग्न थाल्छौं । जताततै बिच्छ्याएका आईईडिहरु विस्फोट हुन थाल्छन् ।

पाँच छ सय मिटरपछाडि सरेपछि हाम्रा साथीहरुले पनि ‘फायर ओपन’ गर्न थाल्छन् । सुरक्षित ठाउँमा पुगेर पछाडि हेर्छु । जमीन र आकाशमा आगोका झिल्काहरु मात्र देखिन्छन् । मानौं कि म लडाइँको सिनेमा हेरिरहेको छु ।

विमिकमा ‘फिप्टी केएल’ गन नारेका थियौं । दश मिटर नजिक दुरीमा फायर गर्न असम्भव थियो । ‘टप कभर’ किरण योञ्जनको साथमा एलएसडब्लु पनि थियो । आरपीजीले हामीलाई ताकिरहेको तालिवानलाई किरण योञ्जनले एक गोली हानी हाम्रो पछि आएछ ।

ओसीले विमिकमा नै रेडियो छाडेछ । ऊ अत्तालिँदै भन्छ- ‘आनन्द जसरी पनि विमिक फर्काएर ल्याउनू ! नत्र हामी अभरमा पर्छौं । मैले रेडियो विमिकमा नै छाडेँछु । एयर सपोर्ट मगाउन रेडियो चाहिन्छ । विमिक फर्काउन सके मात्रै हामी बाँच्न सक्छौं । नत्र हामी यहीं खतम हुन्छौं ।’

‘तँ जा जा जा जा !’ मलाई ओसीले फेरि धम्काउँदै भन्छ-‘विमिक फिर्काएर ले !’

‘जान्नँ  जान्नँ  जान्नँ ।’

‘जा जा जा !’

आँखा अगाडि उभिएको मृत्यु कसैलाई स्वीकार हुन्छ ? पक्कै पनि हुँदैन । यस्तै हुकुम पालना गर्दा हाम्रा पुर्खाहरुले भिक्टोरिया क्रस र मिलिटरी क्रसजस्ता पदकहरु पाएका थिए होलान् र कयौं संख्यामा वीरगति पनि । सोच्छु- बाँचें भने पो मेरो साहसको सम्मान हुन्छ । वीरगति पाएर त मेरो साहसको के अर्थ होला र ? लाग्छ- मृत्युपर्यन्त दिएको बहादुरी तक्माको कुनै अर्थ हुँदैन ।

‘तँ जा जा जा जा आनन्द ! विमिक फर्काएर ले !’

सोच्छु- मैले चलाएको विमिक फर्काएर ल्याउनु मेरो कर्तव्य हो । तर, बर्सिरहेको गोलीतिर कुन मूर्ख अगाडि बढ्छ ? चुपचाप बस्छु । ओसीले भने अत्तालिँदै निरन्तर ‘जा जा’ भनिरहेको हुन्छ ।

अन्ततः जीवनलाई मृत्युमा समर्पित गर्ने निर्णय गर्छु । साथीहरुलाई फायर सर्पोट माग्छु । फायर ओपन भएपछि बर्सिरहेका गोलीहरुतर्फ स-साना खाल्डाहरु नाघ्दै अघि बढ्न थाल्छु । आईईडीहरु पट्केर झारहरुमा डढेलो लागिरहेको हुन्छ । कानको नजिकबाट गोलीहरु जान थाल्छन् । खाल्डाहरु पार गर्दै क्रोलिङ गर्न थाल्छु ।

आधा घण्टापछि दुवै हात र खुट्टा चल्न छाड्छन् । ‘प्यारालाइज्ड’जस्तो । दुई तीन पटक कुहिनाले शरीरलाई तान्ने प्रयास गर्छु । ‘सेन्स’ आउँछ । तर, हातखुट्टा चल्दैनन् । तालिवानका गोलीहरु रोकिएका छैनन् । दाँयाबायाँ साथीहरु पनि कोही छैनन् । पानी पिउने इच्छा शरीरले व्यक्त गरिरहेको हुन्छ । मुख सुकेर ओठ पटपट भइसकेको हुन्छ । साथमा एक थोपा पानी छैन । अब के गर्ने ? तत्कालीन सार्जन्ट गणेश राईले ‘सरभाइभ लेसन’मा भनेको सम्झिन्छु -‘हामी लडाइँमा एक्लो हुन सक्छौं । हाम्रो शरीरको सबै शक्ति सकिन सक्छ । त्यस्तो बेला सुत्नुपर्छ । त्यसपछि फेरि तागत र्फकन्छ ।’

म पाँच मिनेटभन्दा धेरै सुत्छु । शरीरमा थोरै तागत फर्किएको महशुस हुन्छ । क्रोलिङ गर्दै पाँच मिटरजति अघि बढ्छु । फेरि मेरो शरीर पूरै शिथिल हुन्छ ।

आफ्नो जीवनलाई सम्झन्छु । जीवनको औधी माया लाग्न थाल्छ ।

मृत्युको मुखबाट अब म र्फकन नसक्ने भएँ । विधुवी आमाको याद आउँछ । रुढीवादी समाजको सामना गर्दै, रातदिन दुःख खेप्दै आमाले हामीलाई हुर्काउनुभएको हो । म भर्ती हुँदा आमाले सबै जीवनका दुःखहरु भुल्नुभएको थियो । माको अन्तिम सन्तान र एउटा सानो सपना पनि हुँ । उहाँलाई सपना देखाउन भर्ती भएँ । भर्ती हुनु मैले गल्ती गरेँछु । भर्ती नभएकोे भए यतिबेला म आमासँगै पाङ्दुरे कोदो रोपिरहेको हुन्थेँ । मकैको घोगा भाँचिरहेको हुन्थेँ । खेतमा बाउसे गरिहरेको हुन्थेँ । भर्ती लागेर गल्ती गरेँछु आमा । मेरो मृत्युपछि क्षतिपूर्तिबापत् धेरै पैसा अवश्य पाउनुहुन्छ । त्यसको अंशियारी हुनेवाला बुहारीलाई पनि बनाउनु होला । तर, सपना नै खण्डित भएपछि त्यसको अर्थ कस्तो होला ? बाबाले बाँच्नुभएको जीवनसँग हारेर जाँदै छु । मलाई माफ दिनुस् आमा !

मैले नदेखेको बाबालाई सम्झन्छु तर उहाँको कुनै आकृति आँखामा आउँदैन । २९ वर्षको छोटो आयुमै बाबा बित्नुभएको आमाले बताउनु भएको थियो ।

‘सानै उमरेमा भर्ती भइस् आनन्दे । तेरो आयु बाउको भन्दा छोटो रैछ । बाउको आयुसँग तँ हार्ने भइस् ।’ म यस्तै सोच्छु । गोलीहरु बर्सिरहेकै हुन्छन् ।

प्रेमको जुवामा नारिएकी आशा आँखामा आउन थाल्छिन् । लडाइँमा आउने अघिल्लो रात रुँदै फोनमा भनेकी थिइन्-‘राम्रो जानुहोस् ! जस्तो जाँदै हुनुहुन्छ त्यस्तै र्फकनुहोस्…’

‘जस्ताको तस्तै फर्किन्छु’ भनेर बाचा गरेको थिएँ ।

प्रत्यक्ष-अप्रत्यक्ष आशाको नाम मसँग जोडिइसकेको सम्झन्छु । अफगानिस्तानबाट फर्किएपछि उसको र मेरो विवाह हुने टुङ्गो लागिसकेको छ । मेरो मृत्युको खबर सुन्दा उनले पक्कै आधा मरणको सामना गर्नेछिन् । अनि शुरु हुनेछ उनको जीवनको कालो कथा । उनको जीवनमा म कलङ्क बन्नेँछु । सिउँदोमा सिन्दुर नपहिरिई बन्नेछिन् निर्दोष विधवा ।

‘तिमीले जीवन जिउन निकै लामो छ आशा । तिमीले समाजको अगाडि जीवनलाई कसरी अघि बढाउँछौ ? तिमीले जीवन भोग्नु निकै धेरै छ आशा । म नहुँदा पनि तिम्रो भविष्य अरु कोहीसँग अवश्य जोडिन्छ । तिमीले बाँचेको जिन्दगीमा कुनैबेला तलमाथि हुन्छ होला । कहिलेकहीं वैवाहिक जीवनमा खटपट हुनसक्छ । त्योबेला मलाई पक्कै सम्झिन्छौं होला । तीन चार वर्ष अघिदेखि हाम्रो बातचित, भेटघाट भएको सम्झना गर्छौ अवश्य । तर, तिमीले आफ्नो जीवन जसरी पनि अघि बढाउनुपर्छ आशा ।’ म आफैंले आफ्नो मृत्युलाई स्वीकार गर्न बाध्य हुन्छु ।

वास्तवमा भगवान छैन र हुँदैन भन्ने व्यक्ति म । एक्कासी भगवान सम्झिन्छु।  भगवानलाई पुकारा गर्छु- भगवान तिमी छौ भने बाबाको उमेरभन्दा मेरो उमेरलाई तीन गुणा टाढा पुर्‍याइदेऊ ! भगवान तिमीलाई चुनौती दिन्छु । तिमी साँच्चै छौ भने मलाई बचाऊ !

अब मैले बाँच्नु धेरै समय छैन । जीवनको कुनै रोजाइ छैन । योभन्दा धेरै जीवनको चिन्ता नगर् आनन्दे ! कतिबेला तालिवानको गोली आउने हो तेरो शरीरमा, किन दुःखी हुन्छस् ? एकैछिन भए पनि खुशी हू ! केही क्षण भए पनि जीवन भोग ! तेरो मृत्यु नजिकै आइसक्यो । इराकमा बाह्रजना नेपालीहरुलाई मारेजस्तै तेह्रौं पात्र तँ नबन् ! गोली लागोस् तेरो निधारमा ! गोली लागोस् मुटुमा ! गोलीले आइया भन्ने मौका पनि नदेओेस् !

थोरै समय पनि मलाई धेरै लामो लाग्न थाल्छ । ममाथि बर्सिरहेको गोलीतिरै मृत्यु स्वीकार गर्दै विमिक फर्काउन क्रोलिङ गर्दै फेरि अघि बढ्छु । पचहत्तर मिटरजति विमिकको नजिक पुगेपछि फेरि शिथिल हुन्छु । सबै तागत सकिन्छ । फेरि सुतेर आराम गर्छु । फेरि क्रोलिङ गर्न शुरु गर्छु । पाँचदश मिटरभन्दा अघि बढ्न सक्दिनँ । पटक-पटक क्रोलिङ गर्छु । धेरै पटक आराम गर्छु । साथीहरुले ‘कभरिङ फायर’ दिइरहेकै हुन्छन् ।

करिब डेढ घण्टा क्रोलिङ गरेपछि विमिकको नजिक पुग्छु । सोच्छु- विमिक स्टार्ट भयो र फर्काउन सकेँ भने बाँच्न सक्छु । विमिकलाई हेर्छु- कमेरोले पोतिएको घरलाई बाछिटाले हानेर बनाएको दागजस्तै छ, गोलीले चोटैचोट बनाएको छ । विमिकको इन्जिन हेर्छु तर देख्दिनँ । लाग्छ- राम्रै होला । अगाडिको टायरमा छलिएर एकछिन बस्छु । गोली थोरै पड्किएका बेला विमिकको चाबी हेर्छु । चाबी देखेपछि बाँच्ने रहर पलाउँछ । मन केही खुशी हुन्छ ।

देब्रेपट्टबिाट बर्सिरहेको गोली रोकिएको छैन । विमिकको ढोकाबाट पस्ने कोशिश गर्छु तर तागत आउँदैन । एकछिन गोली रोकिएको बेला अलिकति उठेर देबे्रतिर चिहाउँछु । गाडी नजिकै एक व्यक्ति ढलिरहेको देख्छु । लामो दाह्री जुँगाको आधा अनुहार, घोप्टिरहेको लाश । अफगानिस्तानको सेतो सुक्खा माटोलाई उसको रगतले रङ्गाइसकेको हुन्छ ।

कसको गोली धेरै आउँदै छ ? एकछिन सुन्छु । ‘इन कमिङ’ र ‘आउट गोइङ’ गोलीको फरकलाई आर्मीको भाषामा ‘क्रेक एण्ड थम’ भन्छ । साथीले हानेको गोली र दुश्मनबाट आएको गोली चिनिन्छ । प्याटप्याट आवाज आयो भने त्यो दुश्मनबाट आएको गोली हो । ठ्याङठ्याङ गरेको आवाज सुनियो भने त्यो साथीहरुले हानेको गोली हो । तालिवानको गोली अलिक पातलो आएको मौकामा म विमिकको ढोका तानेर ड्राइभरको सिटमा छिर्ने कोशिश गर्छु तर तागत पुग्दैन ।
लगभग १५ मिनेट आराम गर्छु । फेरि विमिकको ढोका तानेर भित्र छिर्ने कोशिश गर्छु । ब्ाल्लतल्ल पस्न सफल हुन्छु र घोप्टिएर बस्छु । गोलीहरु निरन्तर बर्सिरहेकै हुन्छन् । विमिकलाई कसरी फर्काउने ? घोप्टिएरै विमिक स्टार्ट गर्छु । ब्ााँच्ने आशा पलाउँछ । अगाडि लाने प्रयास गर्छु, विमिक त हलचल नै गर्दैन । चक्काहरु खाल्डोमा भासिएका रहेछन् । तर, पनि जबरजस्ती अगाडि लाने प्रयास गर्छु । चक्काहरुले हृवाँ…को आवाज मात्र निकाल्छन् । ‘रिभर्स’ गर्छु । फेरि पनि विमिक हलचल हुँदैन । पछाडि हेर्छु- अर्को विमिकले ठेलिरहेको देख्छु ।

पछाडि रिभर्स गराैँ , अर्को विमिकले लक गरेको छ । अगाडि लैजाऊँ, खाल्डोमा चक्काहरु फसेका छन् । दाहिने लैजाऊँ ठूलो ढिस्को छ । देब्रे साइडबाट गोलीहरु बर्सिरहेका छन् निरन्तर । अब के गर्ने ? बाँच्छु भन्ने जीवनको आशा फेरि दोधारमा उभिन्छ ।

‘तँ आज सकिइस् आनन्दे ।’ यति नै सोच्छु ।

विमिकलाई फेरि अगाडि लाने कोशिश गर्छु । अगाडिका चक्काहरुले बालुवा, माटो र स-साना ढुङ्गाहरु उछिटाउँदै हृवाँ… गरेको आवाज मात्रै निकाल्छन् । तेस्रो पटक जीवन सकिएको टुङ्गोमा पुग्छु- अब तँ बाँकी रहिनस् आनन्दे । दोधारमा नपर ! अब तँ लाखौं प्रतिशत बाँच्दैनस् । बाउको मृत्युलाई जित्छस् आनन्दे । जताबाट गोली आइरहेको छ, छाती थापेर विमिकलाई उतै लैजा ! तँ एकै गोलीले मर्नु पर्छ । तालिवानको गोली स्वीकार गर ! हलाल हुनबाट जोगिई आनन्दे ! जोगिई !

मृत्युलाई स्वीकार्दै गोली बर्सिरहेको देब्रेतिर टाउको उठाएर हेर्छु । छाती अगाडि चट्टम्म गरेर आवाज आउँछ । गोली लाग्यो कि भनेर छाती हेर्छु । अस्प्रेको कपडा उधारिएको देख्छु । विमिकको ‘वाइड स्क्रिन’ छिचोलेर दुईटा गोली टाउकोको नजिकैबाट जान्छ । अन्तिम विकल्प सोच्छु- जताबाट गोली आइरहेको छ, विमिकलाई उतै लैजा आनन्दे !

पूरै शक्ति बटुलेर एक्सिलेटर दबाउँछु । हुइँहुइँ हुइँहुइँ आवाज आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment