Comments Add Comment

संस्मरण : अकल्पनीय वैशाख १२

अचानक रिँगटा लागेजस्तै भयो । रक्तचाप बढ्यो कि भन्ने शङ्का लाग्यो । बाथरुमका ऐना तथा सामान एकाएक चलायमान भए । टेकेको भुइँ पनि हल्लियो । मलाई रिँगटा लागेर जमिन हल्लियो कि जमिन हल्लिएर मलाई रिँगटा लाग्यो ? दोधारमा परें ।

उत्तरोत्तर अशुभ सङ्केत महसुस भइरहेपछि दन्तमन्जन कर्म बीचमै छोडेर बाथरुमबाट बेडरुममा आउने प्रयास गरें । अहँ, पैताला चल्न सकेनन् । चल्दै चलेनन् । बल्लबल्ल भित्तो समाएर सर्दै बेडरुमको ढोकामा उभिएँ । ठूलै भूकम्प आएको महसुस भयो । घर यति जोडसँग नाच्न थाल्यो कि ढोकाको चौकोस नसमाई उभिनै मुस्किल भयो ।

बाहिर जान खोज्दा पाइला चलेनन् । बाहिर सबै घर–रुख फनफनी नाचिरहेका देखिए । ठूलो आँधीबेहरी आउँदाझैं रुखले जमिन छुँदै अकासिँदै गरेका थिए । पहिलोपटक बस चढ्दा रुख तथा घर दौडिएको र रिँगाटा लागेको अतित स्मृति आँखाअघि आयो ।

बाटोमा हिँडिरहेका मोटरसाइकल लडे । कुकुरहरु अर्कै आवाजमा जोडजोडले भुके । चराहरु अर्कै आवाजसहित बेग हान्न थाले । चारैतिरबाट अनौठो आवाज आएजस्तो लाग्यो । भूकम्पको पनि आवाज हुँदो रहेछ ! कस्तो भयानक आवाज !

मान्छेको रुवाबासी, कोलाहल र चिच्याहट चर्को हुँदै गयो । भर्खर पानी पिएको थिएँ । तर, मुख प्याकप्याक भयो । ‘समीरजी !‘ पल्लो कोठाबाट निर्मोही व्यास सरको आवाज सुनें । घर घुम्ने क्रम अझै बढेजस्तो लाग्यो । सोफा, भित्तो,घुमिरहेको भर्‍याङ र मूल ढोकाको सहाराले मुस्किलले घरबाट बाहिरिएँ । हतारमा भाग्दा दीपाका चप्पल लगाएर बाहिर निस्किएछु ! अझै पनि कम्पन उग्र थियो । यी सबै एक मिनेटभित्रै भए । एक मिनेटमा साठी सेकेन्ड हुन्छन् । विपत्तिमा सेकेन्डको लम्बाइ निकै लामो हुँदो रहेछ । त्यो ५८ सेकेन्ड मलाई ५८ मिनेटजस्तै लाग्यो । लम्बेतान ।

घरअघि बाटोमा सयौं मान्छे भूकम्प र डरले थर्थरी काँपेर उभिएका थिए । जमिन यसरी थर्किरहेको थियो, मानौं धरती फाट्दै छ, आकाश खस्दै छ । चिच्याहट, क्रन्दन, बर्बराहट र आकाशमा धुलोको मुस्लोले वातावरण अचानक अकल्पनीय भएको थियो । सीतापाइला–चक्रपथतिर हेर्दा लाग्थ्यो, भीषण बमबारी भएको छ । धुलो र मुस्लोको साम्राज्य थियो । टेकेको जमिन हृदयाघात भएको मुटुको मांसपेसीजस्तो तीव्र गतिमा थर्थराएको थियो । त्यो थर्थराहट भूकम्पको मात्र होइनजस्तो लाग्यो । आँखाअघि प्रलयका अरिष्ट लक्षण नाच्न थाले ।

निर्मोही सर पनि सडकमा देखिनुभयो । भन्दै हुनुहुन्थ्यो, ‘म खाटबाट तल खसें । काठको फ्रेम मेरो टाउकोमा बज्रियो ।’ ओठमुख सुकेका, डरले च्याप्प मुटु समाएका तथा निरुपाय मानिस आफन्तलाई फोन गर्दै थिए । मैले अधैर्य भएर दीपालाई फोन गर्ने प्रयास गरिरहेको थिएँ । मम्मी पनि दुर्गासहित बाटोमा आइसक्नुभएको थियो ।

बीसौंपटकको प्रयासपछि दीपाले एकै सासमा भनिन् – म, केटाकेटी, ज्वाइँ, भान्जाभान्जी आर्टुडियोको तल खेतमा छौं । मनले ढुक्कको सास फेर्‍यो । मम्मीको ओठमुख सुकेको थियो, ‘लौ न ! केटाकेटी र दीपा कहाँ छन् ?’मैले उहाँलाई आश्वस्त पारें । आफन्त तथा मित्रहरुलाई फोन गर्ने निकै प्रयास गरें । पटक्कै लागेन । हेर्दाहेर्दै पल्लो नयाँ घरको गारोले सत्तो छाड्यो । जमिनमा बज्रियो । भुइँ फाट्लाजस्तो गरेर थर्किरहेको थियो । ‘लौ न नि ! प्रलय हुन लाग्यो,‘मान्छेहरु भगवानसँग पुकारा गरिरहेका थिए । ‘घरमा सम्पर्कै भएन, ‘व्यास सर व्याकुल देखिनुभयो । सबैजना डर, चिन्ता र दुःखद खबरको सम्भावित त्रासले आक्रान्त थिए, कसैले ढुक्कको सास फेर्न सकेका थिएनन् । बल्लतल्ल बहिनीहरुसँग कुरा भयो । भीडमा कसैको रेडियोमा सुनें – गोरखाको बारपाक केन्द्रबिन्दु भएर भुइँचालो आएको रहेछ । कसैले ७.६, कसैले ७.९ त कसैले ८.३ रेक्टर स्केल भने । कसका कुरा पत्याउनु ?हाम्रै भूकम्प मापन केन्द्रले ढिलो गरी ७.८ रेक्टर स्केलको भन्यो ।

वैशाख १२ गते शनिबार भएकाले मान्छेहरु आआफ्नो तरिकाले छुट्टी मनाउने मुडमा थए । कोही नुहाइधुवाइ गर्दै थिए । कोही घुम्न बाहिर गएका थिए । कोही ढिलो खाना खाने तयारीमा थिए । अचानक आएको महाविपत्तिका कारण कोही नुहाउँदानुहाउँदै ज्यान बचाउन बाहिर निस्कनुपर्‍यो । कोही जुठै हात बाहिर भाग्नुपर्यो । कोही पकाएको खाना भान्सामा छाडेर भोकै सडकमा आउनुपर्‍यो । कोही निदाएका बालबालिका बोकर हस्याङफस्याङ गर्दै घरबाहिर निस्कनुपर्यो । बिदा मनाउन घरबाहिर गएका अकल्पनीय समस्यामा परे । उफ् ! कसैलाई छुट्टी दिएन यो भूकम्पले ।

शनिबार भएकाले मेरो पनि छुट्टी थियो । नियात्रासम्बन्धी छलफल गर्न वरिष्ठ साहित्यकार निर्मोही व्यासलाई छाउनीस्थित घरमा निम्तो गरेको थिएँ । उहाँसँगका प्रत्येक पल मलाई जीवन्त र ऊर्जाशील लाग्छन् । असङ्ख्य आरोहअवरोहले खारिनुभएका प्रा. व्याससँग डेढ बजेसम्म छलफल गर्ने योजना थियो । खाना खाएपछि हामी छुट्टाछुट्टै कोठामा बसेर आधा घन्टा काम गरेर फेरि छलफल गर्ने गरी बाँडिएका थियौं ।

दीपा अरुणलाई छाड्न बच्चाहरु लिएर असनको बाटो हुँदै एयरपोर्ट गएकी थिइन् । दिवसले गाडी चलाएको थियो । उनीहरु एयरपोर्टबाट विमलालाई लिएर न्युरोडको बाटो छाउनीस्थित कैलाश श्रेष्ठको आर्टुडियो आएका थिए । किनमेल गर्ने तथा केटाकेटीलाई वसन्तपुर–धरहरा घुमाउने योजना भए पनि १० बजे नै बच्चाहरुलाई प्रमाणपत्र दिने कार्यक्रम आर्टुडियोले राखेको हुँदा उनीहरु हतारहतार छाउनी आएका थिए । भोलिपल्टदेखि विद्यालय सञ्चालन हुने भएकाले सुप्रिया र सुप्रिम घुम्न जाने मुडमा थिए । आर्ट कक्षाको भित्ता चर्किएपछि उनीहरु भागेर खेतमा पुगेका रहेछन् ।

सोही दिन दिउँसो २ बजे मदनकृष्ण दाइको घर जाने योजना थियो । उहाँ र मेरो व्यस्तताको चक्रका कारण यो शनिबार भेट्ने साइत जुरेको थियो । चैतको अन्त्यमा निस्केको मेरो लघुकथासङ्ग्रह ‘एकलव्य दृष्टि’ तीन हप्तामै पहिलो संस्करण विक्री भइसकेको थियो । यसबाट उत्साहित भएर म आठ देश घुमेको नियात्रासङ्ग्रह फाइनल गर्ने मुडमा थिएँ । आफ्नो पेसा तथा जीवनको लय आफ्नै सुरमा चल्दै थियो ।

अप्रत्यासित रुपमा यति ठूलो भूकम्पसँग जम्काभेट हुँदा पनि मृत्युतर्फ मेरो ध्यानै गएन । पटक्कै गएन । यस्तो अकल्पनीय घटनामा स्तब्ध हुनुबाहेक कुनै पनि भाव अङ्कुरण भएनन् । बिरामी हुँदा वा दुर्घटनामा पर्दा जीवन र मरणको तराजु थाहा हुन्थ्यो होला । तर, यस्तो आकस्मिक घटना हुँदा न जीवन देखिँदो रहेछ, न मरण ।

सबैले एकैपटक डायल गरिरहेको तथा भूकम्पका कारण दूरसञ्चारका धेरै टावरमा क्षति भएकाले फोन नलागेको अनुमान गरें । दीपा पनि केटाकेटीसहित एक बजेतिर आइन् । विदेश तथा जिल्लाहरुबाट परिचित–अपरिचित आफन्त एवम् मित्रहरुका धेरै फोन आए । तर, कुरा बुझिने स्थिति थिएन । अमेरिकाबाट भाइ किशोरले फोन गर्‍यो । बुबाआमासँग कुरा भयो । जीवा दाइले फोन गर्नुभयो । हरिवंश दाइको फोन लाग्यो । विद्युत् आपूर्ति बन्द भएको र ठुल्ठुला परकम्प आइरहेकाले सञ्चारमाध्यमबाट पूरै विच्छेदजस्तै भएका थियौं ।

टोलमा जम्मा भएका सबैको मुहारमा चुक घोप्टिएको थियो । घर जान थालेका पनि घरर्र गर्नासाथ ‘आयो’ भन्दै चोकमा आउँथे । भुइँचालो एकपटक आउँछ अनि जान्छजस्तो लागेको थियो । तर, साँझसम्म अनगिन्ती परकम्प आइरहे । अब के हुन्छ भन्ने त्रासले जनजीवन त्राहिमाम थियो । यसैबीच विभिन्न हल्ला चल्ले । जुन व्यक्तिले ठूलो हल्ला गर्छ, मान्छेहरु उसैको वरिपरि जम्मा हुने क्रम बढ्यो । ‘धरहरा ढलेर तीन सय मान्छेको मृत्यु भयो’, ‘वसन्तपुर ध्वस्त भो’, ‘असन र इन्द्रचोक बाँकी रहेनन्’, ‘पाटन र भक्तपुर धुलाम्मे भए’, ‘भक्तपुर जाने ६ लेनको बाटो भासियो’, ‘विमानस्थल बन्द भयो’जस्ता धेरै ‘रे’बाट अभिप्रेरित हल्ला चले । चलिरहे । एम्बुलेन्सका साइरनले पनि तिनै हल्ला पुष्टि गर्न खोजेजस्तो लाग्यो । सडक कर्फ्यु लगाएजस्तै सुनसान थियो । हरे ! कस्तो विपत्ति आइलाग्यो |

बच्चाहरुलाई सुरक्षित ठाउँमा राखेपछि निर्मोही सर र म छाउनी हाइटतर्फ लाग्यौं । मित्र राजु बस्ताकोटी र तारा भाउजूको निर्माणाधीन घरको चौथो तलामा पुगेर काठमाडौं सहर हेर्यौं । सधै शिर ठाडो गरेर उभिने धरहरा देखिएन । मन साह्रै खल्लो एवम् एकतमासको भयो । गाउँबाट सुरुसुरुमा काठमाडौं आउँदा बाटो हराए धरहराको टुप्पो हेरेर आफूलाई भेट्टाउने सहारा आज आफै हराएको देख्नुपर्यो । कुनै जादुगरले हामीलाई सम्मोहन गरेर धरहरा नदेखिएको होस् भन्ने कल्पना गरें । धरहरा एउटा टावर मात्र थिएन, हाम्रो धरोहरको बिम्ब पनि थियो । निर्माणाधीन घरको चार तलामाथि तीनपटक थरर्र हल्लायो । यस्तो भयानक अवस्थामा ज्यानको माया मारेर निर्माणाधीन घरको चार तलामाथि जानु कि हाम्रो मूर्खता थियो कि धरहरासँगको अन्धो प्रेम ।

टोलभर पर्खाल भत्केर सडक अवरुद्ध थियो । रुख तथा बिजुलीका पोल ढलेका थिए । अधिकांश पर्खाल तथा कम्पाउन्ड वाल भत्किएका थिए । छाउनी अस्पतालमा रक्तमुछेल घाइते तथा मृतकको भीड बढिरहेको थियो । छाउनीदेखि सीतापाइला चोकसम्मका केही घर भत्केका र केही ढल्किएका थिए । सीतापाइला चोकदेखि स्वयम्भूसम्म चक्रपथ वारिपारिका अधिकांश घर भत्केका, कोल्टिएका तथा थिचिएका थिए । सबैभन्दा हृदयविदारक दृश्य कान्तिपुर हलनिर देखियो । म्याक डोनाल्ड रेस्टुरेन्ट, चर्च, सहकारी संस्था तथा केही निजी घर पूरै ध्वस्त थिए । सुरक्षाकर्मीहरु ज्यानको बाजी राखेर उद्धारकार्यमा खटिएका थिए । त्यहाँ निकै डरलाग्दो हल्ला चलेको थियो, ‘सहकारीको साधारणसभा चल्दै थियो । रेस्टुरेन्ट प्याक थियो । चर्चमा प्रार्थना गर्ने सयौं व्यक्ति थिए । सयौंको हताहती भयो रे ।’ एक मिनेटअघिका सुन्दर बस्ती हेर्दाहेर्दै भग्नावशेषमा परिणत थिए । करिब एक मिनेटको झट्काले हजारौं नारीको सिन्दूर पुछियो । हजारौँ बालबालिका टुहुरा भए । हजारौं आमाको काख रित्तियो । हजारौँ पुरुषको जीवनरेखा चुँडियो । लाखौं व्यक्ति विस्थापित हुनुपर्‍यो । लाखौं व्यक्ति ऐश्वर्यविहीन हुनुपर्यो । हामी सबैको जीवनशैली एकाएक साँघुरियो । अधिकांश सम्पदा इँटा र काठको थुप्रोमा परिणत भए ।

प्राकृतिक विपत्तिको सामु जीवनजगत् कमलो पातमा रहेको पानीको थोपाजस्तो अनिश्चित र क्षणभङ्गुर रहेछ | अलि पर पुगेपछि पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, विधान आचार्य सरलगायत धेरैसँग भेट भयो । अघिसम्म यतै रात कटाउने विचार गर्नुभएको निर्मोही सर विधान सरसँग भेट भएपछि इमाडोलस्थित घर जाने निर्णय गर्नुभयो ।

व्यास सरलाई बिदाइ गरेपछि फटाफट घरभित्र पसेर आवश्यक औषधि, सरसफाइका सामग्री, सुक्खा खाना, पानीका बोतल, केही न्याना कपडा, बिरामी जाँच्ने उपकरण, ल्यापटप, चार्जर आदि बोकेर हामी बाहिर निस्कियौं । दीपाले ग्यास, पानी,बिजुली आदि बन्द गरिन् । छतमा रहेको सोलार टुक्राटुक्रा भएछ । भान्सामा रहेका सिसाका सामान, दराजका सिसा एवम् अन्य केही भाँडा धुलोपीठो भएछन् । तरकारी तथा फूल लगाएका दर्जनौं माटोका गमला टुक्राटुक्रा भएछन् । सन्तोषको कुरा, घर भने जस्ताको तस्तै रहेछ ।

झोला बोकेर म सीतापाइला गएँ । सयौं घाइतेलाई ट्याक्सी तथा एम्बुलेन्समा हालेर नजिकको अस्पताल पठायौं । एम्बुलेन्स पाउन निकै गाह्रो भयो । हरेक अस्पतालमा डायल गर्दै एम्बुलेन्स बोलाउँदै गर्दा साँझ परिसकेको थियो । परकम्प आइरहेका थिए । अचम्मको कुरा, वैशाखमा पनि जाडो थियो, मैले नर्थफेस ज्याकेट लगाएको थिएँ ।

छिमेकीहरु चाउचाउ, बिस्कुट, पानी, म्याट्रेस, ब्ल्याङ्केट आदि बोकेर खेत, छाउनी अस्पतालको चौर, जापानी गुम्बालगायत खुला ठाउँतर्फ लम्किरहेका थिए । ‘राति ठूलो भूकम्प आउँछ रे’, ‘ज्वालामुखी आउँछ रे’, ‘फलानो ज्योतिषीले भनेको जमिन भासिन्छ रे’जस्ता … मान्छेको हल्ला र जमिनको हल्लाइले मन कमजोर बनेको थियो ।

हामी तारा भाउजू कार्यरत पस्मिना कारखानामा शरणार्थी भएर गयौं । उहाँहरुले सयौं जनाका लागि चाउचाउ, चिया, बिस्कुट तथा पानीको व्यवस्था गर्नुभएको रहेछ । धरती थर्थर काँपिरहेको थियो । घरका सबैलाई पालमुनि लाइन लगाएर सुताएपछि म कारमा सुतें । बसेर निदाउने बानी भए पो निद्रा लाग्नु ?तन्द्राको बीच पनि परकम्प आइरहे । वैशाख १२ गते ४ रेक्टर स्केलभन्दा माथिका झन्डै ४० ओटा धक्का आएका रहेछन् ।

 ( ०७३ सालको उत्तमशान्ति पुरस्कार प्राप्त ‘भूकम्पमा मल्हमपट्टी’बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment