Comments Add Comment

के हिरोइनको बर्ष बन्ला २०७६ ?

नेपाली चलचित्र नायक केन्द्रित छ । नायकका लागि महंगो पारिश्रमिक र पावरफूल भूमिका दिनका लागि मरिहत्ते गर्ने निर्माता नायिकालाई कुनै एक सिमित भूमिका र सामान्य पारिश्रमिकमा थन्काउन पछि पर्दैनन् । तर, पछिल्लो समयमा केही नायिकाहरु नेपाली चलचित्रमा पावरफूल बन्दै आएका छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १६ लाख, नायिका पूजा शर्माले २० लाखसम्म पारिश्रमिक लिन थाल्नु र दर्शकले पनि नायिका केन्द्रित चलचित्रलाई रुचाउनु यसका उदाहरण हुन् ।

यसैले, पनि यो बर्ष नायिकाको बर्ष बन्न सक्छ भन्ने कुरामा बहस गर्न सकिन्छ । यो बर्ष अहिलेकी हटकेक नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका २ वटा चलचित्र रिलिज हुँदैछन् । उनी अभिनित ‘मारुनी र रातो टिका निधारमा’ यो बर्ष रिलिज हुन लागेका चलचित्र हुन् । यी दुबै चलचित्रमा साम्राज्ञी हाबी छिन् । साम्राज्ञीकै स्टारडमका कारण यी दुबै चलचित्रमा उनलाई महंगो पारिश्रमिक मात्र दिइएको छैन, मुख्य भूमिका पनि दिइएको छ ।

यो बर्ष नायिका पूजा शर्माका पनि २ वटा चलचित्र रिलिज हुँदैछन् । पूजा अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन र पोई पर्यो काले’ले दर्शकको मन जित्ने विश्वास लिन सकिन्छ । पूजाको फ्यान क्रेज, दर्शकको विश्वास आदिका कारणले नै यी दुबै चलचित्रका निर्माताले उनीमाथि बढी विश्वास गरेको देखिन्छ ।

गतबर्ष धेरैले रुचाएकी नायिका स्वस्तिमा खड्का हुन् या चलचित्र ‘विर विक्रम २’बाट आशातित रहेकी नायिका बर्षा सिवाकोटी नै किन नहुन्, यी नायिकाहरुले आफ्नो कामबाट दर्शकलाई प्रभावित बनाउन सक्छन् । नेपाली चलचित्रमा अहिले स्टारडम बोकेका नायक धेरै कम छन् । थोरै नायकलाई छाड्ने हो भने अहिले निर्माताको विश्वास नायिकामा पनि बढ्न थालेको छ ।

अझै पनि चलचित्रमा नायिकाको काम नायकसँग नाच्ने मात्र हो भन्ने सोच गैसकेको भने छैन । तर, गतबर्ष नै ‘बुलबुल’बाट नायिका स्वस्तिमा खड्काले तारिफ कमाउँदै गर्दा कमै मात्र नायकले उनको जस्तो जोखिम मोल्न सके ।

अनमोल केसी जस्ता चल्तीका नायकसँग पहिलो पटक काम गर्दा नै नायिका सुहाना थापाले पाएको क्रेज र हाइप आगामी दिनमा चलचित्र क्षेत्रका लागि सुखद बन्न सक्छ । यसैले, अहिले नायिकाको क्रेज पनि बढ्दो छ । यो बढ्दो क्रेजलाई बचाउन सक्ने हो भने नेपाली चलचित्र नायक केन्द्रित सोचबाट विस्तारै बाहिर जाने पक्का छ । आशा गरौ, बर्ष २०७६ नायिकाको बर्षा बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment