Comments Add Comment

‘लेखेर मात्र हुँदैन, आफ्ना सिर्जनालाई मार्केटिङ गर्न सक्नुपर्छ’

राष्ट्र बैंकका निर्देशक भीष्म उप्रेतीका १९ साहित्यिक पुस्तक प्रकाशन भए । त्यसमध्ये शुक्रबार (हिजो) मात्र उनले ‘तपाईंको पहाड कहाँ हो ?’ निबन्ध सङ्ग्रह विमोचन गरे ।

भीष्म उप्रेतीका पुस्तकहरु अंग्रेजी, हिन्दी, जापानी र सर्वियन भाषाहरुमा अनुवाद भएका छन् । ती बाहेक कोरियन, क्याम्बोडियन, स्लोभेनियन, तमिल, सिंहाली र संस्कृत भाषाका पत्रपत्रिकाहरुमा उनका दर्जनौं फुटकर कविताहरु प्रकाशन भइरहेका छन् ।

उप्रेतीको लेखनमा साहित्यकार मञ्जुलको छाप भएको आरोप पनि लाग्ने गर्छ । कतिपयले उनको लेखनमा पुनरावृत्तिको दोष पनि लगाएका छन् । लेखनबाहेक उनको अनुवादक व्यक्तित्वले पनि अन्तर्राष्ट्रिय जगतमा राम्रै मान्यता पाएको छ । उनले विभिन्न देशका चर्चित लेखकका अंग्रेजी पुस्तकलाई नेपालीमा अनुवाद गरेका छन् । उनी ‘द विङ्स’ नामक अन्तर्राष्ट्रिय जर्नलका सम्पादकसमेत हुन् ।

बिबिसी नेपाली सेवाले ०४९ सालमा गरेको युवा कविता प्रतियोगितामा भीष्म उप्रेती प्रथम भएपछि उनी सार्वजनिक चासोमा परेका हुन् । लगत्तै ०५० सालमा उनी राष्ट्रिय कविता प्रतियोगितामा प्रथम भए । त्यसपछि उनले विभिन्न पुरस्कारहरु प्राप्त गरे ।

त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा–साहित्य र बेलायतको साउथ ह्याम्टन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेका भीष्म दुबै विषयमा कलम चलाउँछन् ।

पूर्णकालीन साहित्यकारहरु समेत लेख्ने समय र वातावरणको अभावमा नयाँ कुरा सिर्जना गर्न नसकेको गुनासो गर्छन् । तपाईं राष्ट्रबैंको निर्देशक भएर पनि लगातार लेखिरहनु भएको देखिन्छ । १९ वटा पुस्तक प्रकाशन भइसके । समयको व्यवस्थापन कसरी गर्र्नुहुन्छ ?

सिर्जना भन्ने कुरा लेख्छु भनेर लेखिने होइन । भित्रबाट उकुसमुकुस र छटपटी भएपछि नलेखी रहन सकिदैन भन्ने मेरो मान्यता हो । अरुको कुरा म भन्न सक्दिनँ, तर मेरो हकमा के भइदियो भने मेरो ब्यासन भन्नु नै लेखपढ हो । फुर्सद हुने वित्तिकै कि म लेख्छु कि पढ्छु । अध्ययन, चिन्तन र देश–विदेशका साहित्यकारसँग छलफल गर्छु । मेरो यात्राहरु पनि कि पेशागत हुन्छ कि साहित्यसँग सम्बन्धित ।

अर्थशास्त्रको विद्यार्थी भएका नाताले र राष्ट्र बैंकको विभिन्न विभागको जिम्मेवारी निभाइरहनु पर्ने कारणले त्यससम्बन्धी नयाँ कुरा बुझ्न पनि मैले अध्ययन गरिरहनु पर्छ । जब अर्थशास्त्रका गम्भीर कुराले थकाउँछ वा अफिसबाथट थाकेर घर फर्कन्छु, त्यसबाट मुक्ति दिलाउन पनि म आफूलाई साहित्यमा लैजान्छु । मेरी श्रीमती इन्दु तुलाधर आफैंमा राम्री लेखिका हुन् । घरको वातावरणले पनि सायद मलाई सहयोग पु¥यायो ।

साहित्यमा किन लाग्नुभएको ?

साहित्यमाप्रवेश गर्नुको एउटा कथा छ । सम्भवतः पहिलोपटक तपाईंमार्फत बाहिर ल्याउँदैछु ।

कुरा के भने सन् १९८४ तिर हाम्रो विद्यालयमा राष्ट्रब्यापी कविता प्रतियोगितामा भाग लिन चाहाने बालबालिकाको नाम र उनीहरुले लेखेको कविता पठाउन शिक्षा कार्यालयले सर्कुलर जारि गरेको थियो । संयुक्त राष्ट्रसंघले वर्ष ०८४ लाई अन्तर्राष्ट्रिय बालवर्षका रुपमा मनाउने निर्णय गरेका कारण नेपालमा पनि सरकारले नेपालभरि यो कार्यक्रम गरिरहेको रहेछ । त्यसैअनुसार झापाको कालिकास्थानको हाम्रो विद्यालयमा पनि सुचना आयो र धेरै विद्यार्थीहरुले कविता लेखेर दिन थाले ।

मलाई भने कविता लेख्नै आएन । मैले बुवालाई भनेँ । उहाँले कविता भन्ने कुरा आफै लेख्ने हो भनेर हप्तौं टारिरहनु भयो । मैले सानोतिनो विद्रोह नै गरेँ । अन्त्यमा केही शीप नलागेपछि खरखरी एउटा कविता लेखेर मलाई दिनुभयो र मैले स्कुलमा त्यही बुझाएँ ।

‘मातृभूमि’ शीर्षकको त्यो कविताले पूर्वाञ्चलमा प्रथम र नेपालभरिमा सान्त्वना पुरस्कार हासिल ग¥यो । पुरस्कारपछि विद्यालयमा मेरो सान र मान नै फरक भयो । सबैको दृष्टिमा म विशेष देखिएँ । त्यतिमात्र होइन, त्यो वर्ष मैले विद्यालयमा सित्तैमा पढ्न पाएँ । यो एउटै घटनाले मलाई कवि बन्नुपर्ने रहेछ भन्ने लक्ष दियो ।

लक्ष लिनु एउटा कुरा, कवि हुनु अर्को कुरा होइन र ?

सायद कविको प्रतिभा मसँग थियो तर आत्माविश्वास थिएन । पुरस्कारले मलाई लेख्नै पर्ने बाध्यता सिर्जना गरायो । त्यसमाथि संयोग के भइदियो भने म माध्यामिक विद्यालय पढ्न झापाको शनिश्चरे पुगेँ, जहाँ कृष्ण धरावासी, दुवसु क्षेत्री, सरोज ओली, रोहिणीविलास लुईंटेल, मुकुल दाहाल जस्ता कवि लेखकको जमघट हुन्थ्यो । यो समूहले कविता लेख्न लगाउँथ्यो । भित्ते पत्रिका सञ्चालन गरेर युवा पुस्ताका रचना छाप्दथ्यो । भित्ते पत्रिकामा छापिने सामग्री देख्दा मलाई यी भन्दा राम्रो लेख्नसक्छु भन्ने आत्मविश्वास दिन्थ्यो ।

कतिपयले तपाईंको लेखनमा साहित्यकार मञ्जुलको छाप छ भनेका रहेछन् । यो आरोपमा कति सत्य छ ?

०४४ सालतिर क्याम्पस पढ्ने क्रममा त्यो बेलाका चर्चित लेखक तथा गायक मञ्जुलसँग काठमाडौंमा भेटेको हुँ । एउटा कविता प्रतियोगितामा उहाँ निर्णायक हुनुहुँदोरहेछ, जहाँ मेरो कविता दोस्रो भएको थियो । दोस्रो भए पनि मञ्जुल दाइले मेरो निकै प्रसंसा गर्नुभयो र घरमा आउने निम्ता दिनुभयो । त्यसपछिउहाँको लेखन र व्यक्तित्वले म यति धेरै प्रभावित भएँ कि उहाँका हरेक कुरा अनुसरण गर्न थालेँ । उहाँले नै कवि समाजसँग मलाई परिचित गराइदिनु भयो । त्यसबेलादेखि नै मधुपर्कलगायतका पत्रिकाहरुमा मेरा रचना छापिन थाले । म सार्वजनिक रुपमै भन्ने गर्थे, मञ्जुल मेरा ‘मेन्टर’ हुन् ।

जब म कवितामा स्थापित भएँ, उहाँले भन्नुभयो, मानिस जति लोकप्रिय हुँदैजान्छ, उसले अदृष्य शत्रु पनि कमाउँदै जान्छ । यसका लागि उसले अरु हतियार पनि तयार गर्नुपर्छ । अब तिमी गद्य पनि लेख्न सुरु गर । एक हातमा गद्य र अर्को हातमा पद्य लिएर हिँड्दा तिमीलाई अघि बढ्न सजिलो हुन्छ ।’ यसरी उहाँले नै मलाई गाली गरि गरि स्तरीय नियात्रा लेख्न सिकाउनु भयो ।

जब मेरा रचनामा उहाँको छाप राम्रैसँग देखिन थाल्यो र समालोचकहरुले मेरो आलोचना सुरु गरे, मैले मञ्जुलका रचना र संगत दुबै चटक्क छाडेँ । त्यसपछि रमेश विकल, शंकर लामिछाने, भैरव अर्यालका कृतिहरु लगातार पढेँ र अरु त्यस्तै साहित्यकारसँग संगत गरेँ । मञ्जुलको छाँयाबाट मुक्त हुन मलाई दुई–चार वर्ष लाग्यो । आज त्यो आरोपबाट मुक्त भएको छु ।

तपाईंका निबन्ध वा कवितामा पुनराबृत्तिको दोष पनि लाग्ने गर्छ । किन होला ?

मलाई त्यस्तो लाग्दैन । जुन दिन त्यो महसुस हुन्छ, त्यसबाट मुक्त हुन म प्रयास सुरु गरिहाल्छु । मैले पहाड, समुद्र, सहर र प्रेमका भिन्दा भिन्दै कविता सङ्ग्रह निकालेको छु । ती सबै एक अर्कामा फरक छन् । त्यसैले कवितामा पुनरावृत्तिको आरोप इन्कार गर्छु । जहाँसम्म निबन्ध र नियात्राको कुरा छ, मैले लेख्ने विषय फरक हुने भएकाले त्यसमा पुनराबृत्तिको सम्भावना निकै कम हुन्छ । मेरा ९ वटा कविता सङ्ग्रह, ६ वटा नियात्रा सङ्ग्रह, ३ वटा निबन्ध सङ्ग्रह र एउटा उपन्यास मध्ये कुनै पनि विषय जुधेजस्तो लाग्दैन । तै पनि यो आरोप लागेको हो भने म पुनः ती कृति पढेर आफूलाई मनन गर्छु ।

तपाईका जम्मै कविता प्रकृतिका विषयमा मात्रै छन् । यो कारणले दोष लागेको हो कि ?

हो, म मानव र प्रकृतिका विषयमा लेख्छु । यो संसारमा कि त मान्छेका भावना छन् कि प्रकृति छ । मानिसका भावना पनि प्रकृतिका रुपहरु हुन् । यसबाहेक अरु लेख्ने विषय के छ ? हो, मैले पहाडका कविता लेख्दा र समुद्रका कुरा लेख्दा ती बस्तुहरुलाई मानविकरण गरेको छु । म कवितामा प्रकृतिको रङ्गसँग खेल्छु । प्रकृतिमा विभिन्न रङ्गहरु छन्, त्यसकारण प्रकृति सुन्दर छ ।

प्रकृतिको रङ्ग भनेको के हो ? यसलाई सरल रुपमा बुझाउन सकिन्छ ?

म्याग्दीको एउटा यात्रामा घोडेपानी हुँदै म पुनहिल जाँदै थिएँ । यो बोटामो गुराँस फुलेको सिजनमा पुग्नुभयो भने दुईदिन लगातार मनमोहक गुँरासको जंगलको बाटो पार गर्नुपर्छ । तर गुँरासको जंंगल जतिसुकै सुन्दर होस्, दुई–चार घन्टा एउटै दृष्य हेरिरहँदा यस्तो लाग्छ, कुनै अर्को फूल देखियोस् । कुनै अर्को रङ्गमा आँखा परोस् ।

त्यो दिनभरि गुँरासको जंगल हिँडेपछि मलाई लाग्यो, सौन्दर्य पनि अर्को रङ्गको उपस्थितिले मात्र सार्थक हुँदो रहेछ । यस्तै अनुभव जर्मनी र बेलायतको यात्रामा हुने गर्छ । ती देशहरुमा जानु भयो भने तपाईं एकै खालमा मानिस देख्नुहुन्छ । जवकी नेपाल जस्तो मुलुकको राजधानी हेर्नुहोस्, तपाईंले एकसाथ पूर्व–पश्चिम सबैतिरका मानिस देख्नुहुन्छ । हिमाल, पहाड तराइका भाषा र शैली अनुभव गर्नुहुन्छ । विभिन्न लवजमा नेपाली बोलेको सुन्नुहुन्छ ।

साहित्य किन सुन्दर छ ? किनभने यसले मानवका दुःख, सुख, आवेग, तिरस्कार, पीडा, आक्रोश, मदहोसी, कामुकता मात्रै होइन, उसले बोकेको संस्कार र संस्कृति एकै ठाउँमा ल्याइदिन्छ । प्रकृतिको रङ्ग भनेको नै यही हो ।

तपाईंले लेख्ने विषय प्रकृति हो तर किन लेख्नुहुन्छ ? लेखेका कुरा प्रकाशन गर्नैपर्ने बाध्यता लेखकलाई किन हुन्छ ?

मेरो विचारमा सेल्फ रियलाइजेसनका लागि लेखक लेख्न बाध्य छ । उसले आफ्ना भावना लेख्छ तर त्यसलाई सार्वजनिन बनाएर प्रस्तुत गर्छ । उसलाई लाग्छ, मेरा भावना अरुले पनि पढ्नु पर्छ । प्रकाशन गर्नुपर्ने बाध्यता किन छ भने लेखक चाहन्छ, आफ्ना कुरा अरुले पनि पढून् । तर लेखकका आवेग र कुण्ठा पढेजस्तो होइन, पाठकलाई ती कुरा पढ्दा आफूले भागेजस्तो लागोस्, आफूले त्यसमा पाओस् । यसले व्यक्तिभित्रको मान्छेलाई ज्युँदो राख्छ । उसले आफ्नो संवेदना महसुस गर्छ । मानिस रुखा, सुख्खा हुन चाहदैन ।

तपाईंका पुस्तकहरु धेरै भाषामा अनुवाद भएका छन् । यसरी अनुवाद हुनुमा सम्बन्धले काम गर्छ कि रचना स्तरीय हुनुपर्छ ?

रचना स्तरीय छ छैन भन्ने कुरा थाहा पाउनु त्यो विदेशी भाषामा अनुवाद हुनुपर्छ । मेरो हकमा के भइदियो भने पहिलो पटक बेलायतमा पढ्न जाँदा मैले केही अंग्रेजी भाषामा लेख्ने साहित्यकारलाई दुःख गरेर भेटेँ । उहाँहरुसँग परिचय गर्न सफल भए पनि मसँग नेपाली भाषाका मात्र कृति थिए । मैले के लेखेको छु र के लेख्न सक्छु भन्ने कुरा थाहा नपाइ उनीहरुलाई एक कप कफी खान पनि गाह«ो हुन्छ । खासमा हामी देशभित्र केही पाठकले ‘वाह वाह’ भनेको भरमा मख्ख परेर बस्दा रहेछौंंँ र नेपाल बाहिर पनि साहित्यको ठूलो संसार छ भन्ने कुरालाई अस्वीकार गर्दा रहेछौं । म नेपालमा युवा कविको रुपमा जतिपल्ट पुरस्कृत भए पनि बेलायत बस्दा मेरो लिलिपुट अवस्था राम्रैसँग अनुभव भयो । त्यसपछि मैले आफ्ना केही चर्चित कविताहरु अनुवाद गराएँ ।

श्रीमतीले बेलायतमा छात्रबृत्ति पाएर पढ्ने अवसर पाएपछि भने मैले त्यसलाई साहित्यिक अवसरको रुपमा प्रयोग गरेँ । अब मसँग विदेशी लेखकलाई देखाउने एउटा अंंग्रेजी भाषाका कविताहरु थिए । यसलाई मैले सम्बन्ध स्थापित गर्ने औजारका रुपमा प्रयोग गरेँ । नभन्दै यो औजारले बेलायती लेखकसँग सम्बन्ध बढायो । उनीहरुकै संगतले मेरो लेखनको स्तर पनि बढ्दै गयो र अन्य भाषामा ती कविताहरुले अनुदित हुने मौका पनि पाए ।

आज दर्जनौं भाषामा मेरा कृति र फुटकर रचना प्रकाशित हुनुमा अंग्रेजी अनुवादले ठूलो काम गरेको छ । यसका लागि मैले समयमै अनुवाद गर्न सक्ने युयुत्सु आरडी, मुकुल दाहाल, मनु अञ्जिल, महेश पौडेल, केशव सिग्देल जस्ता व्यक्तिहरुलाई चिन्ने मौका पाएँ । त्यतिमात्र होइन, अरु भाषाका कविहरुलाई पनि स्थान दिन अन्तर्राष्ट्रिय जर्नलहरुको सम्पादन सुरु गरेँ ।

संसारका हरेक भाषाका कविहरु आफ्नो देशमा लोकप्रिय भएपछि आफ्नो छविलाई अन्तर्राष्ट्रिय बनाउन चाहन्छन् । उनीहरुलाई पनि एक अर्काको सहयोगको खाँचो हुन्छ । यो कुरा बुझेपछि मैले आफ्नो अफिस बाहेकको समयलाई अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने माध्यम पनि बनाउन थालेँ । राष्ट्रबैंकको कामले विदेश गएका बखत उब्रेको एक–दुई दिनको समयलाई म घुम्नु वा रमाइलो गर्नुभन्दा त्यहाँका साहित्यकारलाई नेपाल छाड्नुअघि नै इमेल लेखेर भेट गर्ने अनुमति लिने गर्छु ।

मेरो विचारमा लेखेर मात्र हुँदैन, आफ्ना सिर्जनालाई मार्केटिङ् गर्न सक्नुपर्छ भन्ने कुरा मैले बेलैमा महसुस गरेका कारण पनि मलाई फाइदा भएको हो । आज कोरिया, जापानिज, जर्मन, सिंहाली भाषामा मेरा रचना छापिनुमा यो सम्बन्धले काम गरेको छ ।

झट्ट हेर्दा तपाईंको अन्तर्राष्ट्रिय सम्बन्धले तपाईंलाई मात्र फाइदा भएको देखियो । तपाईंको सक्रियताले समग्र नेपाली साहित्यले फाइदा सक्यो कि सकेन ?

मैलेजस्तै अरुले पनि यस्ता अन्तर्राष्ट्रिय प्रयास गरिरहनुभएको छ । एकजनाले मात्र गरेको प्रयासले नेपाली साहित्यलाई अन्तराष्ट्रियकरण गर्न सम्भव छैन । सरकार र व्यक्ति दुबै किसिमका प्रयास आवश्यक हुन्छन् । ममार्फत जहाँ जहाँ नेपाली साहित्य पुग्यो, त्यहाँ त्यहाँ उनीहरुले अरु नेपाली साहित्यकारका रचना माग्न थालेका छन् । मैले सिफारिस गरिरहेको हुन्छु । एकपल्ट सम्बन्ध बनाइदिएपछि यस्ता अवसरहरुलाई लामो समय टिकाउने खालका सामग्री दिने कि तत्कालको फाइदा मात्रै हेर्ने भन्ने कुरा व्यक्तिमा निर्भर हुन्छ ।

मुख्य कुरा, साहित्यकारहरु आफूलाई र आफ्नो साहित्यलाई कहाँ पु¥याउन चाहन्छन्, त्यस अनुसारको सक्रियता र क्षमता पनि आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment