Comments Add Comment

नगरपालिकाकै स्वास्थ्य संस्थामा छैन प्रसुति सेवा

१५ वैशाख, रामेछाप । मन्थली नगरपालिका ८ चिसापानीको स्वास्थ्य चौकीमा प्रसुति सेवा सञ्चालन नहुँदा गर्भवती र सुत्केरी महिला समस्यामा परेका छन् ।

वडामा रहेको स्वास्थ्य चौकीमा सेवा नहुँदा महिलाहरु गर्भ जाँच गराउन तथा प्रसुति गराउन सदरमुकाम मन्थली आउनुपर्ने बाध्यता छ ।

साविकको चिसापानी गाविसको वडा नं १ देखि ७ सम्मका नागरिकले सेवा लिने स्वास्थ्य चौकीको प्रसुति सेवा बन्द भए पनि खुलाउन सरोकारवाला निकायले चासो दिएका छैनन् । सामाजिक अगुवा शान्तदेवी श्रेष्ठले भनिन् ‘स्वास्थ्य चौकीमा भनिएन कि, वडा कार्यालयलाई भनिएन कि, नगरपालिकामा कुरा गरिएन कि, तर गाउँको स्वास्थ्य चौकीमा प्रसुति सेवा सञ्चालन गराउन हाम्रो केही लागेन ।’

जीर्ण र साँघुरो स्वास्थ्य चौकीको भवन तथा स्वास्थ्यकर्मीको लापरवाहीका कारण प्रसुति सेवा सञ्चालन गर्न नसकिएको मन्थली नगरपालिका–८ का वडाअध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘केही पुर्वाधारहरु निर्माण पनि गरियो, तै पनि सेवा सञ्चालन गर्न सकिएन । हामी लागि रहेका छौँ, अझै सेवा सञ्चालन गर्न समय लाग्ने भयो’, उनले भने ।

चिसापनीको करिव ७ सय घरधुरीका नागरिकले सो स्वास्थ्य चौकीबाट सेवा लिने गर्दछन् । जसमा महिलाहरुको संख्या मात्रै करिव २ हजार रहेको छ ।

स्वास्थ्य चौकीमा अहिले ६ जना कर्मचारी छन् । तै पनि सेवा भने दिएका छैनन् । पुर्वाधार नभएकै कारण २४ घण्टे प्रसुती सेवा सञ्चालन गर्न नसकेको स्वास्थ चौकीका स्वास्थ्यकर्मी कामेश्वर यादव बताउँछन् ।

मन्थली नगरपािलका प्रमुख रमेशकुमार बस्नेतले आवश्यक पूर्वाधार व्यवस्थापन गरी चाँडै प्रसुति सेवा सञ्चालनमा ल्याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment