Comments Add Comment

कांग्रेसको आरोप : प्रधानमन्त्री ओली ज्ञानेन्द्रपथमा दौडिरहेका छन्

१४ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गरेको छ । आइतबार संसदीय दलको बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँडले अहिलेको सरकारले ‘ज्ञानेन्द्र पथलाई उछिन्न खोजेको टिप्पणी गरे ।

‘सरकार निरंकुशताको, सर्वसत्तावादको दौडमा ज्ञानेन्द्रपथ पछाडि मात्रै छैन, ज्ञानेन्द्र पथलाई दौडेर जित्न खोजिरहेको छ । दौडिएर कहिँ पुगिँदैन र लडिन्छ’, खाँडले भने, ‘अहिले ओलीजी ज्ञानेन्द्र पथमै दौडिरहनुभएको छ ।’

प्रधानमन्त्री केपी ओलीले आफू मातहत धेरै अधिकार केन्द्रिकृत गर्न खोजेको आरोप लगाउँदै नेता खाँडले तत्कालीन राजा ज्ञानेन्द्रसँग तुलना गरेका हुन् । बिभिन्न बाहनामा सञ्चार माध्यममाथि सेन्सर गर्ने, प्रधानमन्त्रीले सेना परिचालन गर्न सक्ने जस्ता प्रयत्न सरकारको निरंकुशताको प्रमण भएको उनको आरोप थियो ।

‘प्रजातन्त्रको सबैभन्दा महत्वपूर्ण अंग पत्रकारितामाथि सरकारले प्रहार गरिरहेको छ, बिभिन्न बाहनामा सेन्सर गर्न खोजिरहेको छ’, उनले भने, ‘पछिल्लो समय खुलामञ्चलाई समेत कब्जा गरिसकेको रहेछ भुमाफियाहरुले । प्रधानमन्त्री निवास वालुवाटारको जग्गा भुमाफियाहरुमार्फत सत्तापक्षकै नेताहरुले कब्जा गरिसकेका रहेछन् । एनसेलको कर उठाउन सक्नुभएको छैन ।’

प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानप्रति सपथ खाएको भए पनि सेना परिचालन प्रधानमन्त्रीले गर्ने, राजश्व, अनुसन्धान विभाग, सर्तकता केन्द्रलाई प्रधानमन्त्रीले चलाउने जस्ता प्रयत्न भएको भन्दै उनले आपत्ति जनाए । यी विषयमा कांग्रेसले आवाज उठाउने नेता खाँडको भनाइ थियो ।

‘प्रिबजेट छलफल नगराउनु आपत्तिजनक’

कांग्रेसले नीति तथा कार्यक्रम अघि प्रिबजेट छलफल नगराउने सरकारको तयारीप्रति पनि आपत्ति जनाएको छ । संसदीय दलको बैठकले जनप्रतिनिधि र संसदलाई बाइपास गरेर सरकारले बजेट ल्याउन लागेको भन्दै विरोध जनाएको हो ।

प्रमुख सचेतक खाँडले पत्रकारहरुसँग भने, ‘सरकारले सदन सुरु हुनेवित्तिकै नीति तथा कार्यक्रम ल्याउँदैछ । त्यसपछि प्रिबजेट छलफल गर्ने र बजेट ल्याउने सरकारको सोच रहेको जानकारी प्राप्त भएको छ । यो विलकुलै जनप्रतिनिधिहरुलाई र सदनलाई बाइपास गर्ने सरकारको धारणा हो ।’

बजेट अधिवेशन भोलि (वैशाख १६ गते) देखि सुरु हुँदैछ । संसद सचिवालयका अनुसार संसदको अर्को बैठक वैशाख २० गते बस्नेछ र सो बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

विगतमा नीति तथा कार्यक्रम भन्दा पहिले प्रिबजेट छलफल हुने गरेको उल्लेख गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले यस विषयमा सरकार, सत्तारुढ दल र सभामुख कृष्णबहादुर महराको पनि ध्यानाकर्षण गरिएको जनाएको छ ।

‘विगतमा बजेटको सिद्धान्त र नीतिबारे जनप्रतिनिधिहरुले आफ्ना धारणा राखेपछि, जनप्रतिनिधिहरुले उठाएका विषयलाई समेत सम्बोधन गरेर सरकारले नीति तथा कार्यक्रम ल्याउँथ्यो । सोही नीति र कार्यक्रमभित्र रहेर बजेट ल्याउने परम्परा हो’, प्रमुख सचेतक खाँडले भने । यस विषयमा सरकार, सत्तारुढ दल र सभामुखको ध्यानाकर्षण गराएको कांग्रेसले बताएको छ । नीति तथा कार्यक्रम आएपछि प्रिबजेट छलफलको खासै महत्व नहुने खाँडले बताए । उनले भने ‘यो संसदीय मूल्य र मान्यता विपरीत हो ।’

प्रिबजेट छलफल नगराई नीति था कार्यक्रम ल्याएको अवस्थामा सरकारलाई सहयोग नगर्ने खाँडले चेतावनी दिए । ‘सभामुखमार्फत सरकारलाई भनेको छु । यो सेसन सुरु भइसकेपछि सबैभन्दा पहिले प्रिबजेट छलफल गराउनुस् । सदनमा उठेका कुरालाई सम्बोधन गरेर नीति तथा कार्यक्रम ल्याउनुस्’ खाँडले आइतबार सभामुखसँगको भेटमा कांग्रेसले राखेको अडानबारे भने, ‘यदि नीति तथा कार्यक्रम पास भइसकेपछि प्रिबजेट छलफल गराउनुहुन्छ भने संसदीय मूल्य र मान्यताको अवमुल्यन गरेको ठहर्ने पार्टीको धारणा रहन्छ र यस्तो खालको सदनलाई कमजोर बनाउने सर्वसत्तावादलाई साथ दिन सक्दैनौं ।’

आइतबार नै कांग्रेसको संसदीय दलको कार्यसमितिको बैठक पनि बसेको थियो । संसदीय दलको र संसदीय दल कार्यसमितिको बैठकले सदनको वर्षे अधिवेशनमा आफ्नो उपस्थितिलाई बालियो बनाउने गरी कार्यक्रम तय गर्ने निर्णय गरेको प्रमुख सचेतक खाँडले जानकारी दिए ।

उनी भन्छन्, ‘विगतको दिनमा बडो शालीनपूर्वक नै हामीले सदनमा आफ्नो भूमिका निर्वाह गरेका हौं । तर, अब विषयका आधारमा विगतमा भन्दा बढ्ता आक्रमक र दवाबमूलक कार्यक्रम सदनमा आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment