Comments Add Comment

एउटा आफ्नै कोठा : बहस भर्जिनिया वूल्फसँग

जब-जब किताब फिँजाएर केही पढ्न वा लेख्न खोज्छु, बसेको केही मिनेटमै काम विशेषले उठिहाल्नुपर्छ । किताब समेटेर उठयो, फेरि काम सकाएर बल्ल-बल्ल किताब झिक्यो, केही पाना पल्टाउन नपाउँदै अर्को कामले उठाउँछ । सारा किताब कापी समेट्यो, थन्कायो, उठयो, अनि कामतिर दौडियो, तब-तब लाग्छ, बीसौं शताब्दीकी महान लेखिका भर्जिनिया वुल्फले त्यसै ‘अ रुम अफ वन्स ओन’ लेखेकी रहिनछन् ।

वुल्फको विश्वप्रसिद्ध निवन्ध ‘एउटा आफ्नै कोठा’ जसमा उनले महिला यदि लेखक बन्न चाहान्छन् भने एउटा कोठा र केही पैसा उनीसँग हुनुपर्छ भनेर जोड दिएकी छन् ।
सन् १८८२ मा जन्मिएकी बि्रटिस लेखिकाको यो निवन्ध सन् १९२९ मा छापिएको हो, जुन आज पनि उत्तिकै सान्दर्भिक छ । विश्वविद्यालयमा मुख्य वक्ताका रुपमा दिएको भाषणलाई उनले पछि निवन्धको रुपमा प्रकाशित गरिन् ।

उनी लेख्छिन्- पैसा र कोठा भएमात्रै महिलाले लेख्न सक्छन् । वर्षको ५०० पाउन्डजति खर्च चाहिन्छ सुविस्ताले लेख्न । आफ्नो कोठा भएपछि बारम्बार फिँजाउनु र उठाउनु त पर्दैनथ्यो, काम भ्याएर, त्यहीँ पल्टिरहेको पानाबाट शुरु गर्न पाइन्थ्यो नि । समय र शक्तिको वचत अनि लेखनको लय पनि उति भंग हुने थिएन ।

यो निबन्धलाई नारीवादी रचनाका रुपमा लिने गरिएको छ । र, संसारभरका विश्वविद्यालयको पाठ्यक्रममा राखिएको पाइन्छ । वुल्फ उनको निवन्धमा महिलालाई शिक्षा र अवसर दुवै चाहिन्छ भनेर जोड दिन्छिन् । उनी लेख्छिन्-शेक्सपियरले पाएको जस्तै अवसर शेक्सपियरकी बहिनी जुडिथले पाएको भए उनी पनि दाजुजत्तिकै

लेख्थिन् । जुडिथ तीक्ष्ण थिइन् । उनलाई घरभित्र राखिएको थियो र सबै पैत्रिक सम्पत्ति शेक्सपियरले पाए ।

सविता गौतम दाहाल

जुडिथ पनि लेखक वन्न चाहन्थिन । उनले आफ्नो प्रतिभा देखाउन पाइनन् । र, गर्भवती भएकाबेला नै आत्महत्या गरिन् ।

त्यस्तै मेरी बेटोन, मेरी सेटोन, मेरी कारमिंकेल, मेरी ह्यामिल्टन, काल्पनिक महिला पात्र हुन्, जो लेख्न चाहान्थे, तर सबैले जुडिथजस्तै आत्महत्या गरे । वुल्फले जेन अस्टिन, सार्लोन ब्रन्टे, एफ्रा वेन, काउन्टेस अफ विन्चेल्से, ब्रन्टे सिस्टर जस्ता महिला लेखिकाहरुको लेखन पेशाबारे पनि छानविन गरेकी छन् निवन्धमा ।

भर्जिनियाको विचारमा महिलाहरुको त्यस्तो समूह पनि हुँदैन, जहाँ लेखनबारे उनीहरु छलफल गरुन् र एउटा नयाँ निष्कर्षमा पुग्न सकुन् ।

आज हाम्रो नेपाली समाजमा पनि धेरैजसो महिला लेखिकालाई घर नै बित्छ । साँझपख बाहिर निस्कन प्रायःले भ्याउँदैनन्, मन थामेर आँट गरी हाले, घरपुग्दा अँध्यारोले स्वागत गर्छ । यो तीतो सत्य हो यो हामीमध्ये कतिपयले भोगेको ।

वुल्फको यो निवन्धमा तीन च्याप्टर छन् । उनी लेख्छिन, महिलाहरुको लेखनमा गरिवीको ठूलो प्रभाव छ । त्यसैले पैसा र कोठा लेखन कर्मका लागि अत्यन्तै जरुरी छ । भलै उनी धनी परिवारमा जन्मिएकी थिइन् र उनलाई उनका श्रीमानले हरतरहले वातावरण मिलाइदिएका थिए । उनको स्वास्थ्य ठीक रहोस् भनेर खानपानको रुटिन मिलाइदिएका थिए ।

पहिलो विश्वयुद्धले वुल्फको जीवनमा ठूलो प्रभाव पर्‍यो । लण्डनको उनको घरमा क्षति भयो र उनी गाउँको समर हाउसमा गएर बस्नुपर्‍यो ।

वुल्फ बौद्धिक स्वतन्त्रताको आवश्यकताबारे पनि जोड दिन्छिन् । लेख्नका लागि विचार र ज्ञानलाई स्वस्फूर्त अगाडि बढ्न दिनुपर्छ । महिलाहरु पनि अध्ययनशील हुन्छन् । वौद्धिक हुन्छन् । त्यसैले उनीहरुलाई आवश्यक वातावरण दिन सक्नुपर्छ । महिला लेखक किन कम छन् ? यसका धेरै कारण छन् । यी कारणलाई हटाउन सकिन्छ । यसका लागि कोठा अर्थात स्पेस पहिलो खुडकिला हुन सक्छ ।

महिलालाई मात्र होइन, पुरुषलाई पनि लेख्ने शान्त कोठा चाहिन्छ । इस्तानाबुलका नोवेल पुरस्कार बिजेता ओरहान पामुकले लेख्नकै लागि समुन्द्रछेउको घरमा एउटा कोठा राखेका थिए । घरबाट काममा गएको भनेर दिनभर त्यही कोठामा बसेर लेख्थे र साँझमा फर्कन्थे ।

लेखनसँग एउटा कोठाको साँच्चै गहिरो सम्वन्ध हुन्छ । भर्जिनिया वुल्फले आफ्नो निवन्धमा यो कुरालाई मन छुने गरी व्यक्त गरेकी छन् । जति गहिरिन्छु, उति पैसा, कोठा र बौद्धिक स्वतन्त्रता लेखन कर्ममा रमाउनेका लागि अपरिहार्य भएको महसुस हुन्छ ।

हाम्रो नेपाली समाजले पनि एउटा अध्ययन कक्षबारे सोच्ने कि ? जहाँ एउटा सानो भए पनि पुस्तकको र्‍याक होस् । लेखपढ गर्ने वातावरण होस् । र, त्यो घरका पढ्न लेख्न चाहने सदस्यका लागि उपलब्ध होस् ।

भर्जिनिया वुल्फले सय वर्षअघि सोचेको अध्ययन कोठा आज पनि हामी खोजी नै रहेका छौं । के यो सम्भव छैन ? वा हामी उदासीन छौं ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment