Comments Add Comment

जापानमा पिपिरी, सिटी एक्प्रेस कविता प्रतियोगिता

१७ वैशाख, जापान । आख्यानकार मीनराज वसन्तको दोस्रो कृति ‘पिपिरी’ जापानको राजधानी टोकियोमा विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्वर्ण शृङ्खलाको अवसरमा उक्त पुस्तक विमोचन गरिएको हो ।

कार्यक्रममा अनेसास जापान–सिटी एक्सप्रेस कविता प्रतियोगितामा उत्कृष्ट नतिजा घोषणा एवं पुरस्कार वितरण पनि गरियो । सिटी एक्प्रेस कविता प्रतियोगितामा सबिना रेग्मी, शरद पोखरेल र दीप मुस्कान क्रमश प्रथम, दोस्रो र तृतीय भएका छन् । कार्यक्रममा समाजको मुखपत्र ‘अन्तरदृष्टि’को पनि विमोचन गरिएको छ ।

‘पिपिरी’ लेखक मीनराज वसन्तको वाल्याकालीन अनुभवको आख्यानीकरण हो । नेपालमा विमोचन भएलगत्तै यसलाई जापानमा पनि विमोचन गरिएको हो । यसअघि उनले वैदेशिक रोजगारीको कथा बोकेको उपन्यास ‘मुदिर’ बजारमा ल्याएका थिए ।

पछिल्लो समय जापान नेपालीहरुको रोजगारीको आकर्षण केन्द्र बन्दै गएको छ । नेपालीहरुको बढ्दो सङ्ख्यासँगै त्यहाँ भाषा साहित्य गतिविधि पनि बढ्दै गएका छन् ।

एक लाखको हाराहारीमा रहेका नेपालीमाझ आफ्ना कृतिहरु पुर्‍याउन नेपाली श्रष्टाहरु जापान पुग्न थालेका छन् । नेपाली साहित्य फैलाउन अन्तर्राष्ट्रिय साहित्य समाज जापानले नेपाली भाषा र साहित्यको कार्यक्रमको नेतृत्व गरिरहेको छ ।

स्वर्ण शृङ्खलामा नेपालबाट कवि तथा कलाकार रमेश पौडेल एवं आख्यानकार मीनराज वसन्तको उपस्थिति थियो । जापानमा बसेर भाषा साहित्यको सेवा गरिरहेका नेपाली साहित्य साधक एवं पाठकहरुको कार्यक्रममा उपस्थिति रह्यो ।

जापानमा अनेसास साहित्यको जग राखेका पूर्व अध्यक्ष बेलुकाजी थापाले जापान जस्तो व्यस्त रहनु पर्ने देशमा नेपालबाट आएका साहित्यकारहरुले ५० शृङ्खलासम्म निरन्तरता दिनु आफैमा महत्वूर्ण उपलब्धि रहेको बताए ।

‘रेष्टुराँको एउटा टेबलमा चिया पिउँदै सुरु भएको जापानमा नेपाली साहित्यको गतिविधिले आज वृहत रुप लिनु सामान्य कुरा होइन । आज ५० औं शृङ्खला चलिरहँदा मलाई कतिपय शृङ्खला चार–पाँच जना मात्रै भए पनि कार्यक्रमलाई निरन्तरता दिएको क्षण सम्झना भइरहेको छ ।’

पूर्वअध्यक्ष थापाले भने, ‘जापानमा आज नेपाली साहित्य स्थापित भएको छ । आफूले संस्थाको बिऊ राखे पनि संस्थालाई यहाँसम्म ल्याउन सघाउने सबै प्रति कृतज्ञता व्यक्त गर्दछु ।’

कार्यक्रममा ५० औं शृङ्खलासम्म निरन्तरता दिनेहरुमा अनेसासका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल‘माइला’ को महत्वपूर्ण हात रहेको थापाले बताए ।

कार्यक्रममा तिलक मल्ल, सुस्मा, ओमाता, दिनेशराज ज्ञवाली, शिवप्रसाद पौडेलले ५० शृंखलामा भएका नेपाली साहित्यका उपलब्धि र जापानमा नेपाली भाषा साहित्यका गतिविधि प्रस्ट पारेका थिए ।

संस्थाका अध्यक्ष दीप पाठकले अनेसाससँग आफ्नो सुरुदेखि नै घनिष्ठना रहेको बताए । यहि घनिष्ठताकै कारण आफू संस्थाको अध्यक्ष भएर स्वर्ण शृंखला चलाउन पाएकोमा गौरवान्भित भएको बताए ।

‘दुई वर्षे कार्यकालको उत्तरार्धमा छु ।’ पाठकले भने, ‘संस्थालाई आफूले जतिसक्दो बलियो र गतिशिल बनाउन कुनै कसर बाँकी राखेको छैन ।’

स्वर्ण शृङ्खलाकै सन्दर्भमा समग्र संस्था र जापानमा नेपाली साहित्यलाई सहयोग गरेका पूर्वअध्यक्षहरुलाई कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरियो । कार्यक्रमका मुख्य आकर्षणमा रवीन शर्माको प्रस्तुति रह्यो ।

कार्यक्रममा दुई दर्जन बढी श्रस्टाहरुले आफ्ना रचना प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment