Comments Add Comment

सत्यमोहन जोशीको जन्मदिनमा ललितपुरमा सार्वजनिक विदा, वर्षभर कार्यक्रम

काठमाडौं । सँस्कृतिविद सत्यमोहन जोशी सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले जन्मशताब्दी मनाउन एक वर्षभर विभिन्न कार्यक्रम गर्ने भएको छ ।

नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका जोशी वैशाख ३० गते सय वर्ष पुग्दैछन् । त्यस दिन ललितपुर महानगरपालिकाले स्थानीय सरकारको अधिकार प्रयोग गरेर महानगरपालिकाभर सार्वजनिक विदा दिएको छ । महानगरपालिकाले २०७६ वैशाख ३० गतेदेखि २०७७ वैशाख ३० गतेसम्म विभिन्न कार्यक्रम गर्ने पनि बताएको छ ।

‘पाटनको एउटा सामान्य परिवारमा जन्मिएको व्यक्तिले आफ्नै बलबुतामा मुलुकको गरिमालाई उच्च बनाउन निर्वाह गरेको अमूल्य योगदानको सम्मानस्वरुप जन्मशताब्दी महोत्सव मनाउने निर्णय गरिएको हो’ महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जोशीको जन्मशताब्दी महोत्सव मनाउन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको संयोजकत्वमा १ सय ११ सदस्यीय समिति गठन भएको छ । समितिमा राष्ट्रियसभाका सांसदहरु, प्रतिनिधिसभाका सांसदहरु, प्रदेशसभाका सांसदहरु, काठमाडौं महानगरपालिकाका मेयरलगायत छिमेकी नगरपालिकाका मेयरलाई पनि समावेश गरिएको छ । ।

यस्ता छन् जन्मदिनका दिन वैशाख ३० गते हुने कार्यक्रम

१) शताब्दी महोत्सवको पहिलो दिन वैशाख ३० गते (जन्मदिन)मा मंगलबजारबाट लगनखेल, जावलाखेल हुँदै सांस्कृतिक जन्मोत्सव र्‍याली गरी बाजागाजासहित नगर परिक्रमा गराई र पुल्चोकमा विशेष कार्यक्रम गर्ने ।

२) विहान रक्तदान कार्यक्रम गर्ने ।

३) साँझ दिपावली कार्यक्रम गर्ने ।

४) महानगरपालिकाभित्र स्थायी बसोवास गर्ने १०० वर्ष पूरा गरेका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने ।

५) स्थानीय सरकारको अधिकार प्रयोग गरी वैशाख ३० गते महानगरपालिका अन्तर्गतका सबै कार्यालयहरुमा स्थानीय सार्वजनिक विदा दिने ।

वर्षभर गरिने कार्यक्रमको खाकासमेत महानगरपालिकाले तय गरेको छ । नेपाल र भारतको परापूर्व कालदेखिको दौत्य सम्बन्ध रहेको अशोक सम्राटको छोरी चारुमतीको बारेमा र्‍याली गर्ने, सेतो चैत्य पुस्तक अंग्रेजीमा प्रकाशन गर्ने, चारुमति पुस्तक नेपालीमा प्रकाशन गर्ने, जोशीको तस्विर अंकित व्यानर सगरमाथामा फहराउने, तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न पहल गर्ने लगायतका कार्यक्रम रहेको महानगरले जनाएको छ ।

यसका साथै जोशीलाई गोसाइकुण्ड दर्शन गराउने, दिनचर्या समेटेर अडियो भिडियोको अभिलेख राख्ने, जोशीको विशेष स्मारिका पुस्तक प्रकाशन गर्नेलगायतका कार्यक्रम महानगरले तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment