Comments Add Comment

देउवालाई ओलीको प्रश्न- उपरखुट्टी लगाएर केही भएन भन्ने ?

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले मंगलबार नेकपाको संसदीय दलमा करिब डेढघण्टा लामो मन्तव्य दिए । अध्यक्षात्मक मन्तव्यका क्रममा प्रधानमन्त्रीले बालुवाटारको जग्गा प्रकरण, निर्मला हत्या प्रकरण र वाइडबडीहुँदै प्रदेश २ को बेटी बचाऊ अभियानसम्म चर्चा गर्न भ्याए ।

आफ्नो नेतृत्वको सरकारले एक वर्षमा के-के काम गर्‍यो भन्ने फेहरिस्थ सुनाउँदै प्रधानमन्त्रीले देश विश्वस्तरकै तीव्र आर्थिक वृद्धिदर हासिल गर्ने अवस्थामा पुगेको दाबी गरे । प्रधानमन्त्रीले भने- ‘अब चप्पल नलगाउने नेपाली भेटिँदैनन् ।’

प्रधानमन्त्री ओलीले कुनै कुनै प्रदेशलाई सम्झाउन जरुरी रहेको भन्दै प्रदेश दुईको सरकार ढल्ने प्रचण्डको भनाइलाई ‘जस्टिफाई’ गर्ने प्रयाससमेत गरे । साथै प्रधानमन्त्री ओलीले सोमबार संसदमा बोलेका प्रतिपक्षी नेता शेरबहादुर देउवालाई उपखुट्टी लगाएर नबसन र बेडमा सुतेर नबस्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले आगामी २१ गते संसदीय दलको अर्को बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने भन्दै आफ्नो पार्टीका सांसदहरुलाई अध्ययन गर्न, बुझेर बोल्न र साथीभाइबाट सिक्न आग्रह गरे ।

सत्तारुढ नेकपाले बैशाख २१ गते दिनभर सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने गरी आन्तरिक बैठक गर्दैछ । त्यसको अघिल्लो दिन, वैशाख २० गते सरकारले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।

सोमबार आयोजित संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीको डेडघण्टे मन्तव्यको सारसंग्रह यस्तो छ-

राम्रो कुरा त सिके हुन्छ नि !

हामी २१ गते भेट भइहाल्छौं, त्यो नीति कार्यक्रममा के छ भन्ने अलि प्रशिक्षात्मक हुनेछ । बुँदाहरुलाई कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा साथीहरुले नोट गर्नु भए पनि हुन्छ ।
मैले तीन दिनपछि नीति कार्यक्रम बनाउँदैछु, त्यसमा थप बताइरहनुपरेन । बजेटका लागि साथीहरुले सुझाव दिनोस् । म अलिकति बढी व्यस्त भएको हुनाले उपनेतालाई दिनुभए हुन्छ, प्रमुख सचेतकलाई दिनुभए हुन्छ । उहाँहरुले मलाई दिनुहुन्छ । अर्थमन्त्रीलाई दिनुहुन्छ । र, त्यसलाई सामेल गर्ने कोशिस हुन्छ ।

संसदको चौथो अधिवेशनमा सबै साथीहरुको प्रभावकारी भूमिका होस् । अध्ययन बेस्सरी गरेर आउनुपर्छ साथीहरुले । अध्ययन गरेरमात्रै भूमिकालाई प्रभावकारी बनाउन सकिन्छ । त्यसका निम्ति साथीहरुले समय दिनुपर्छ । र, विषयहरुमा बोल्दाखेरि बुझेर बोल्नुपर्छ । सकेसम्म राम्रोसँग बुझेर, त्यसको गहिराइमा पुगेर । कसरी बोल्ने भन्ने कुरामा अरु साथीहरुको मद्दत लिन सकिन्छ । मद्दत लिएर सानो भइँदैन ।

राम्रो कुरा त सिके हुन्छ नि ! प्रदेश २ ले एउटा नारा लियो, बेटी बचाउँ, बेटी पढाउँ भन्ने नारा दियो । गत वर्ष भारतीय राष्ट्रपति कोबिदले नीति कार्यक्रम बोल्दा त्यो कुरा बोल्नुभएको थियो । बेटी बचाओ, बेटी पढाओ भन्ने त्यो नारा दिनुभएको थियो । भारतको भए पनि, त्यही भाषा र शब्दमा भए पनि केही छैन, राम्रै कुरा ल्याउनुभो नि त । प्रदेश २ ले टपक्क टिपेर ल्याएर आफ्नोमा ट्याप्प टाँस्दा पनि यो ठिकै छ । कमसेकम बेटी बचाउ, बेटी पढाउ भन्ने त राम्रो कुरा हो नि त । त्यो गरेको राम्रै हो । सिक्दा त हुन्छ नि किन नहुनु ? आफ्नै साथीसँग सिक्दा झन् राम्रो हुन्छ । त्यसकारण सिक्न हामीले हिच्किचाउनुहुँदैन ।

‘संसारका तिव्र आर्थिक बृद्धि भएका देशमा नेपाल पर्छ’

बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल संसारका तीव्र आर्थिक वृद्धि भएका देशहरुमा पर्ने दाबी गरे । नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, यो वर्ष ७ प्रतिशतको वरिपरि आर्थिक बृद्धि हुँदैछ । र, यो वर्ष संसारका तिव्र आर्थिक बृद्धि भएका देशहरुमध्ये नेपाल एक हो ।’

आगामी आर्थिक वर्षमा ७ प्रतिशतभन्दा बढी आर्थिक बृद्धिको लक्ष्य हासिल गर्ने गरी सरकारको नीति तथा कार्यक्रम र बजेट आउने बताए । आगामी आर्थिक बर्षमा ७ प्रतिशतको आर्थिक बृद्धिलाई धेरै पछाडि पार्ने गरी आर्थिक बृद्धिको लक्ष्य राखेर योजना बनाइने ओलीको भनाइ छ । उनले भने, ‘आगामी आर्थिक वर्षको आर्थिक बृद्धिदर ७ प्रतिशतलाई धेरै पछाडि छोडेर जाने गरी नीति तथा कार्यक्रम ल्याउँदैछौं ।’

सरकारले सबै क्षेत्रलाई समान ढङ्गले कार्यक्रम र बजेट दिने गरी योजना बनाएको प्रधानमन्त्री ओलीले उल्लेख गरे । उनले भने, ‘विगतको वर्षम्ाा कतै धेरै कार्यक्रम र योजना, कतै बजेट कम भएको भन्नेखालको गुनासो पनि आएको थियो । यसपटक त्यस्तो हुन दिँदैनौं ।’

प्रधानमन्त्री ओलीले देश गरिबी हटाउने गरी समृद्धिको बाटोमा अगाडि बढिरहेको उल्लेख गर्दै भने, ‘निरपेक्ष गरिबी केही वर्षभित्र अन्त्य गरिन्छ’ उनले थपे, अब चप्पल नलगाउने नेपाली भेटिँदैनन् ।’

यस बर्षको जाडोमा कसैको ज्यान नगएको र आफूले पहिले नै जाडोमा कसैको ज्यान जान नदिने बताएको पनि प्रधानमन्त्रीले स्मरण गरे ।

नेपालमा भिख माग्नेहरु पनि नभेटिने र सडकमा रहेका असहाय र बेसहारालाई काम गर्न सक्ने भए काम दिने र नसक्ने भए सरकारले संरक्षण गर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाल भिख माग्नेहरुको देश होइन भन्दा पनि ब्यङ्ग्य हुने गरेको भन्दै असन्तुष्टि पोखे ।

नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्रीले भने- ‘नेपाल भिख माग्नेहरु बस्ने देश होइन भन्दा सरकारले लगानी सम्मेलन गरेर भिख माग्दै छ त ! भन्नेहरु पनि छन् !’

खुलामञ्चदेखि वाइडबडीसम्म, बालुवाटारदेखि विप्लवसम्म

प्रधानमन्त्री ओलीले वाइडबडी विमान खरिदमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिवद्धता दोहोर्‍याएका छन् । ‘वाइडबडी विमान खरिदमा जो दोषी छ, कारबाही हुन्छ । तर, यो म प्रधानमन्त्री बनेपछि आएको हो र ? डिल कसले गर्‍यो ?’ ओलीले भने, ‘काम गर्नुपर्छ । विमान खरिद गर्नुपर्छ तर, भ्रष्टाचार गर्नुपर्छ भनेको त होइन नि !’

विगतमा भएका गलत काम सच्याउन वर्तमान सरकार लागि परेको र त्यसको उदाहरण खुलामञ्चमा गैरकानुनी रुपमा बनाइएको टहरा भत्काउनु रहेको प्रधानमन्त्री ओलीले बताए । ‘खुलामञ्चमा गैरकानुनी रुपमा बनाइएको टहरा भत्काइएको छ । यसमा पनि प्रश्न उठाएको सुन्दै थिएँ’, प्रधानमन्त्रीले बैठकमा भने, ‘खुलामञ्चमा टहरा हामीले बनाउन लगाएको हो ? हामीले त भत्काउँदैछौं । गैरकानुनी रुपमा टहरा बनाउँदा क-कसको संलग्नता भएको रहेछ भनेर पत्ता लगाउँदैछौं ।’

मेलम्ची खानेपानी आयोजनाको सन्दर्भमा ठेकेदार भागेकाले केही समस्या परेको उल्लेख गर्दै उनले उक्त आयोजना पनि छिट्टै पूरा हुने दाबी गरे ।

प्रधानमन्त्री ओलीले बालुवाटार जग्गा प्रकरणमा मुछिएका विष्णु पौडेलको बचाउ गरे ।

संसदमा वर्षे अधिवेशनको पहिलो दिन सम्बोधन गर्ने क्रममा सोमबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति देउवाले खुलामञ्चको जग्गा भूमाफियाहरुले कब्जा गर्न लागेको भन्दै सरकारको आलोचना गरेका थिए ।

भूमाफिया हुन् या अरु कुनै पनि माफियालाई नछाडिने दाबी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारले भ्रष्टाचारी र कुनै माफियासँग मिलोमतो गर्दैन । दवाबमा काम गर्दैन । दबावभन्दा माथि उठेर काम गर्छ ।’

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द (विप्लव) समूहमाथिको प्रतिवन्ध नहट्ने प्रष्टीकरण दिए । सत्तारुढ नेकपाकै कतिपय नेताहरुले विप्लव समूहमाथि लगाइएको प्रतिवन्ध हटाउनुपर्ने आवाज उठाइरहेका बेला सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विप्लव समुह हतियार बिसाएर आउँछु नभन्दासम्म प्रतिवन्ध कायमै रहने बताएका हुन् ।

‘बम पड्काउने, उद्दण्ड मच्चाउने, चन्दाका नाममा आतंक मच्चाउनेलाई सरकारले नियन्त्रणमा लिन्छ, यस्ता गतिविधि गर्नमा सरकारले प्रतिवन्ध लगाएको छ’, ओलीले भने, ‘कतिपयले प्रतिवन्ध फिर्ता लिनुपर्छ भनिरहेका छन्, यो असम्भव छ । बम पड्काउन पाइन्न भन्ने कुरा फिर्ता लिने ? यो हुँदैन । हतियार बुझाउने बाटोमा जानुभयो भने सहज हुन्छ, होइन भने सरकारले नियन्त्रणमा लिन्छ ।’

पृथकतावादको अन्त्य भएको प्रधानमन्त्री ओलीले दाबी गरे ।

प्रदेशलाई ‘सम्झाउन’ जरुरी

प्रधानमन्त्री ओलीले संघीयताको अभ्यास नेपालले पहिलोपटक अभ्यास गरिरहेको र सफलतापूर्वक कार्यान्वयन हुँदै गएको दावी गरे ।

तर, केही प्रदेशका अभिव्यक्ति र क्रियाकलाप सच्याउनुपर्ने खालको रहेको उनको भनाइ थियो । ‘कतिपय प्रदेशको अभिव्यक्ति र काम गराइ संघीयता अनुरुप उपयुक्त नभइरहेको छ । तिनलाई सम्झाउन जरुरी छ ।’ प्रधानमन्त्री ओलीले छोटो टिप्पणी गरे ।

कुन प्रदेशको विषयमा प्रधानमन्त्रीले टिप्प्ाणी गरेका हुन्, प्रष्ट खुलाएनन् तर, प्रदेश नम्बर दुईमा संघीय समाजवादी र राजपा नेपालको संयुक्त सरकार छ । मंगलबार मात्रै पनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश दुईको सरकार ढल्न सक्ने बताएका बेला प्रधानमन्त्री ओलीले कतिपय प्रदेशलाई ‘सम्झाउने’ बताएका हुन् । त्यसैगरी राजपाले हावाहुरी प्रभावित क्षेत्रमा संघीय सरकारले जति गर्नुपर्थ्यो त्यति गर्न नसकेको भन्दै संसदमा गरेको टिप्पणीमाथि पनि प्रधानमन्त्री पनि प्रधानमन्त्री ओलीले प्रश्न तेस्र्याएका छन् ।

सोमबार संसदमा बोल्दै राजपाका अध्यक्षमण्डलका सदस्य अनिल झाले सरकारले हावाहुरी प्रभावित क्षेत्रमा संघीय सरकारले जति गर्नर्ुपर्थ्यो त्यति नगरेको बताएका थिए । त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘कति गर्नुपर्थ्यो ? फुसको छाना भएका ठाउँमा पक्की घर बनाएर दिँदैछौं । गाउँभरि ट्वाइलेट थिएन, सेनाले बनाएर दिने घरमा ट्वाइलेट सबै हुन्छन् । राम्रो काममा त सकारात्मक हुन सक्नुपर्छ नि !’

प्रधानमन्त्री ओलीले यही वैशाख २१ गतेबाट हावाहुरी प्रभावित बारा र पर्सामा २१ ठाउँबाट एकैसाथ आवास निमार्णको काम सुरु हुने जानकारी दिए । प्रधानमन्त्रीले तीन वर्षभित्र हरेक घरमा बिजुली पुर्‍याउने गरी योजना ल्याइने बताए । उनले भने, ‘तीन वर्षभित्र हरेक घरमा विजुली पुर्याउँछौं । उनले थपे, ‘तराईका केही दक्षिणी भेगमा दाउराको समस्या छ । तराईको उत्तरी भेगमा पनि समस्या छ । ती क्षेत्रमा दाउरा हुने रुख रोप्नुपर्ने भए त्यसबारे पनि क्याम्पेन चलाऔं ।’

देउवालाई प्रश्न- उपरखुट्टी लगाएर केही भएन भन्ने ?

प्रधानमन्त्री ओलीले केही भएन भनेर टिप्पणी गर्नुभन्दा स्थलगत अध्ययन गरेर सरकारलाई सुझाव दिन पनि प्रमुख प्रतिपक्षलाई चुनौती दिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार संसदमा गरेको सम्वोधनको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘सुन्दै थिएँ देशमा केही भएन भनेर भनेको । बेडमा बसेर सुत्यो, उपरखुट्टी लगाएर बसेर अनि केही भएन भन्ने ? हेर्नुपर्‍यो नि स्थलगत गएर ।’

प्रतिपक्षले यो एक वर्षमा सरकारले उल्लेख्य काम गर्न सकेन भनिरहेका बेला प्रधानमन्त्री ओलीले विकास निर्माणमा सरकारले धेरै सफलता हासिल गरेको दाबी गरे । ‘८०० किलोमिटर सडक कालोपत्रे भएको छ । रेलवे, पानीजहाजका कार्यालय स्थापना भएका छन् । महाकाली नदीमा पक्की र झोलुङ्गे पुल बनाउने काम भइरहेको छ । निर्माण भएका पुलको उद्घाटन गर्ने हो भने उद्घाटन गरेर भ्याइँदैन ।’

यस वर्ष कृषिमा उल्लेख्य उत्पादन बढेको प्रधानमन्त्रीले आफ्ना सांसदहरुलाई सुनाए । आलु, धान, गहुँ, मकैको उत्पादन बढेको भन्दै उनले वषर्ाका कारण मात्रै कृषि उत्पादन बढेको भन्ने तर्क सही नरहेको विश्लेषण गर्दै त्यसको जस सरकारलाई दिने प्रयास गरे ।

सोमबार सदनलाई सम्वोधन गर्दै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले पछिल्लो वर्ष पर्याप्त पानी परेका कारण कृषि उत्पादन बढेको बताएका थिए । प्रधानमन्त्री ओलीले देशमा विकास हुन थालेका आयात बढेको तर्क गरे । नेपालमा आयात बढी भयो भन्ने विषयमा विश्लेषण गर्दै प्रधानमन्त्रीले भने, ‘यो वर्ष विकासको आधार तयार भएको छ । विकासका निम्ति उपकरणहरु खरिद गर्दा आयात बढी भएको देखिन्छ । यसको परिणाम देखिन थालेका छन् ।’

प्रधानमन्त्री ओलीले सरकारले समाजवादउन्मूख काम गरिरहेको दाबी गरे । उनले भने, ‘सरकारले अहिले जे गरिरहेको छ, त्यो समाजवाद उन्मूख छ । अहिले हामी राज्यसत्ताको कल्पना गर्ने ठाउँमा होइन, व्यवहारमा कार्यान्वयन गर्दैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment