Comments Add Comment

नेकपा र कांग्रेस दुबैले तिरेनन् भृकुटीमण्डपको भाडा

१४ औं महाधिवेशन गर्ने बेला भइसक्यो, १३ औंकै बक्यौता

Photo Credit : दशै, तिहार र छठ पर्वको अवसरमा नेकपाले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रमरअनलाइनखबर

१७ वैशाख, काठमाडौं । ठूला राजनीतिक दलदेखि विभिन्न संघ-संगठनले भृकुटीमण्डप परिसर प्रयोग गर्दाको भाडा नतिरेको पाइएको छ । बक्यौता साढे चार करोड पुगेपछि परिषदले पैसा नतिर्नेहरुको नाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

स्रोतका अनुसार परिषद्को हातामा कार्यक्रम गरेर भाडा नतिर्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राप्रपा नेपालदेखि कांग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ लगायत छन् । नेपाल पर्यटन बोर्ड, पत्रकार महासंघ काठमाडौं शाखा, उपभोक्ता संरक्षण मञ्च नेपाल लगायत दर्जनौ संस्थाले पटक-पटक ताकेता गर्दाै पैसा तिरेका छैनन् ।

सत्तारुढ नेकपाले गरेको दशैं-तिहारका अवसरमा गरेको चियापान कार्यक्रम र मृतक नेताद्वय भरतमोहन अधिकारी तथा रविन्द्र अधिकारीको श्रद्धाञ्जली कार्यक्रमको ६० हजारका दरले १ लाख २० हजार रुपैयाँ समाज कल्याणलाई तिर्न बाँकी छ ।

नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले एक लाख २० हजार तिर्न बाँकी रहेको स्वीकारे । तर, आफूले पटक पटक रकम लिन आउन फोन गर्दा पनि नआएको उनको दाबी छ । ‘मैले एक लाख २० हजारको चेक ठिक्क पारेको छु, ताकेता गर्दा पनि लिन नआएपछि के गर्ने ?’ उनले अनलाइनखबरसँग भने ।

यस्तै कांग्रेसले पार्टी र भातृ संगठन नेविसघंको महाधिवेशन गर्दाको भाडा समाज कल्याणलाई तिरेको छैन । दुवै गरेर कांग्रेसले परिषदलाई २१ लाख १३ हजार तीन सय ३० लाख रुपैयाँ तिर्न बाँकी छ । कांग्रेस महाधिवेशन २०७२ सालमा भएको थियो भने नेविसंघको महाधिवेशन २०७३ सालमा भएको थियो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले परिषदलाई पैसा तिर्न बाँकी रहेको बारे आफू अन्जान रहेको बताए । ‘यो मेरो जानकारीमा छैन, अब बुझ्छु,’ उनले भने ।
भृकुटीमण्डपमा कार्यालय रहेको उपभोक्ता संरक्षण मञ्चले पनि वर्षौदेखि कार्यालय भाडा नै तिरेको छैन । उसको नाममा ३० लाख रुपैयाँ बक्यौता छ ।

मासिक १९ हजार २ सय रुपैयाँ भाडा तिर्नुपर्ने मञ्चले २० वर्षदेखि भाडा नतिरेको हो । मञ्चका महासचिव सतुदन देवले पुरानो बक्यौता तिर्न नसकेको तर यो असारदेखि नियमित भाडा तिरिरहेको अनलाइनखबरलाई बताए ।

यो पनि पढ्नुहोस फनपार्कलाई भृकुटीमण्डप छोड्न परिषदको पत्र

यस्तै भृकुटीमण्डपमै कार्यालय रहेको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पनि केही वर्षदेखि भाडा तिरेको छैन । शाखाले करिब ११ लाख रुपैयाँ बुझाउनु पर्नेछ ।
राप्रपा नेपालको नाममा पनि चियापान कार्यक्रम गर्दाको ७७ हजार रुपैयाँ बक्यौता देखिएको छ । नेपाल नेत्रहिन सघंले पनि परिषदलाई भाडा रकम तिर्न बाँकी छ ।

यसैगरी काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयले ८१ लाख रुपैयाँ तिर्नुपर्ने देखिएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घले ४६ लाख तिरेको छैन ।

अन्य कयौंले परिषदमा भाडा रकम बुझाएका छैनन् । स्रोतका अनुसार भाडा नतिर्नेमा दुई दर्जन बढी सघंसंस्था तथा व्यवसायी छन् । पत्र पठाएर पटकपटक ताकेता गर्दा पनि बेवास्ता भएको भृकुटीमण्डप सञ्चालन कार्यालय प्रमुख सञ्जय मल्लिकले बताए ।

वर्षौदेखि भाडा नबुझाएकाहरुको जरिवाना रकम पनि थपिँदै जाँदा बक्यौता बढ्दै जाने देखिन्छ । अब भने रकम नतिर्नेहरुको सूची नै सार्वजनिक गर्ने परिषद्को तयारी छ ।

समाज कल्याण परिषद्ले भृकुटीमण्डपमा बुथ र स्टल गरेर ९० वटा संरचना निर्माण गरेको थियो तर, जिर्ण संरचनाका कारण हाल ७० वटा स्टल मात्रै प्रयोगमा छन् । यहाँको भाडा स्टल र बुथले प्रतिवर्गफिट ३६ रुपैयाँ र ४८ ठेलाले मासिक ३ हजार रुपैयाँ भृकुटीमण्डप कार्यालयलाई बुझाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment