Comments Add Comment

खै रैथाने परिकार, खै लोक संस्कृति ?

‘माथि माथि शैलुङ्गेमा चौरी डुलाउनेलाई..’

शैलुङ सम्झनसाथ धेरैले यही गीत गुनगुनाउन थाल्छन् । हुनपनि गीतले शैलुङको लेकाली परिवेश झल्काउँछ । तर, यत्तिले मात्र पनि शैलुङ चिन्न सकिदैन । शैलुङलाई चिन्न लेकाली खर्क, स-सना थुम्का, रंगबिरंगी गुराँस, चौरी र भूँइकुहिरोसँग लुकामारी खेल्नुपर्छ । यहाँको रैथाने खानेकुरा चाख्नुपर्छ । यहाँको मौलिक संस्कृति बुझ्नुपर्छ ।

यो उचाईमा पुगेपछि देखिने मनोरम दृश्यहरुले मन यसै आनन्दित तुल्याउँछ । समुन्द्री सतहबाट ३ हजार १ सय ४७ मिटर माथि छ, शैलुङ । यो धार्मिक स्थल पनि हो ।

हालैमात्र शैलुङमा महोत्सव आयोजना भए । शैलुङलाई सबैमाझ चिनाउने उदेश्यले पहिलो पटक महोत्सव आयोजना गरिएको हो । वैशाखको १३ गते सुरु भएको महोत्सव तीन दिनसम्म धुमधामसँग चल्यो । दोरम्बा गाउँपालिकाको अगुवाईमा भएको महोत्सवमा अरु तीन गाउँपालिकाले सहयोग गरेको थियो ।

‘शैलुङ सांस्कृतिक तथा प्राकृतिक पर्यटन महोत्सव’ शीर्षकको महोत्सवले शैलुङको सांस्कृतिक पक्षलाई कति समेट्न सक्यो ? शैलुङको प्राकृतिक पर्यटनमा कति टेवा पुर्‍याउन सक्यो ? यसमा चाहि बिमर्स गर्नुपर्ने भएको छ ।

अहिले देशभर नै महोत्सव गर्ने लहड चलेको छ । पर्यटकिय, धार्मिक, सांस्कृतिक, ऐतिहासिक आदि भेगमा महोत्सव आयोजना गरिन्छ । यसरी महोत्सव आयोजना गरिनुको अर्थ भनेको त्यहाँको पर्यटन  प्रवर्द्धन गर्नु हो । स्थानियताको परिचय दिलाउनु हो । त्यहाँको भौगोलिक सौन्दर्य, रैथाने खानेकुरा, लोक कला संस्कृति उजागर गर्नु हो । तर, अहिले देशभर भइरहेका महोत्सव नाम मात्रको हुँदै गएको छ ।

खै त शैलुङको स्वाद ?

शैलुङमा पनि धुमधामका साथ महोत्सव आयोजना गरियो । आयोजना गर्नुको उदेश्य त्यहाँको पर्य-पर्यटन प्रवर्द्धन गर्नु नै थियो । तर, महोत्सवमा अरु तामझामलाई प्राथमिकता दिइयो । जे कुरा गर्नुपर्ने, त्यो गरिएन । जे कुरा नगरे पनि हुन्थ्यो, त्यही गरियो ।

शैलुङ महोत्सवमा ६० भन्दा बढी व्यापारिक स्टल राखिए । यी स्टलमा रैथाने परिकार राखिए त ? शैलुङको स्वाद के हो ? त्यहाँ चौरीको दुधबाट अनेक परिकार बन्थ्यो होला । त्यहीको पाखामा फूल्ने गुराँसबाट पनि अनेकथरी परिकार बन्थ्यो होला । स्थानिय तामाङ, शेर्पा समुदायको आफ्नै खान्की थियो होला । ति परिकार आगन्तुकलाई चखाइयो ?

शैलुङमा महोत्वस गर्दा काठमाडौंको मःम र चाउमिन बेच्नुको अर्थ हुँदैन । त्यही पाक्ने, त्यही पकाइने, त्यहीको स्वाद पो पाहुनालाई चखाउनुपर्छ । यसो भएमा शैलुङमा खाएका खानेकुराको स्वादले फैलने र अरु परिस्कृत हुने मौका पाउँछ ।

खै त शैलुङको शैली ?

हरेक भेगको आफ्नोपन हुन्छ । त्यहाँको हावापानी, भूगोल, उत्पादन, स्थानिय वासिन्दाको बाच्ने शैली, खेतीपाती भिन्न हुन्छ । यी कुराहरु पो महोत्सवले उजागर गर्नुपर्छ त । तीन दिनसम्म तामझामसाथ चलेको महोत्सवमा शैलुङको रैथानेपन आगन्तुकले देख्न पाए त ? त्यहाँको आफ्नै धुन, संगीत, कला, संस्कृति थिए होलान् । ति कुराहरु आगन्तुकलाई देखाइयो त ?

शहरबाट कलाकार लगेर विद्युतिय यन्त्रमा आधुनिक, पप गीत गाएर हुँदैन । अर्धनग्न एवं कामुक नृत्य देखाएर हुँदैन । चुट्किला सुनाएर हुँदैन । त्यहाँको परम्परागत झाँकी, चालचलन झल्कने संस्कृति पो देखाउनुपर्छ त ।

महोत्सवको मर्म

कुनैपनि भेगमा गरिने पर्यटन एवं सांस्कृतिक महोत्सवले त्यसबेला मात्र सार्थकता पाउँछ, जब त्यहाँको स्थानियतालाई आगन्तुकले अनुभव गर्न पाउँछन् । त्यहाँ पाक्ने खानेकुरा खान पाउँछन् । त्यहाँ पकाइने खानेकुराको स्वाद लिन पाउँछन् । त्यहाँको कला संस्कृति हेर्न पाउँछन् ।

यदि त्यसो भयो भने स्थानिय भेगको पर्यटन विकासमा टेवा पुग्छ । नभए त दुई दिनको मेला मात्र हुनपुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment