Comments Add Comment

क्रिकेट खेलाडीलाई ५ लाख, फुटबलकालाई ३ लाख नगद पुरस्कार

सागमा स्वर्ण जित्नेलाई ३ लाख पुरस्कार

१९ वैशाख, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले फुटबल, क्रिकेट र शारीरिक सुगठनका विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

सिंहदरबारमा विहीबार कार्यक्रम गर्दै युवा तथा खेलकुद मन्त्रालयले युएईविरुद्धको एकदिवसीय र टी-२० सिरिज जित्ने क्रिकेट खेलाडी, १२औं सागमा स्वर्ण पदक जित्ने फुटबल खेलाडी र विश्व शारीरिक सुगठनमा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई नगदसहित सम्मान गरेको हो ।

नेपाली क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही ५ लाखका दरले नगदसहित सम्मान गरेको हो । जनही पाँच लाख नगद पाउने खेलडीहरुमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी छन् । त्यस्तै, बसन्त रेग्मी, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, प्रदिप ऐरी, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, विनोद भणडरी, अविनास बोहरा, रोहित कुमार पौडेल र आरिफ शेख छन् । त्यस्तै, प्रशिक्षक जगत टमाटाले तीन लाख नगद पाएका छन् ।

त्यसैगरी ब्याटिङ प्रशिक्षक उमेश पटुवाल, फिजियो दिनेश भट्ट, ट्रेनर नन्डियाडा सुवास चन्द्र पात्रो र म्यानेजर रमन शिवाकोटीले जनही दुई लाखका दरले पाएका छन् ।

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले झनै उर्जा थपेको प्रतिक्रिया दिए । उनले भने, ‘हाम्रो पसिनाको सम्मान भएको छ । यसले प्रोत्साहन मिलेको छ । हामी अझै राम्रो भन्दा राम्रो खेलेर देशको नाम राख्नेछौं ।’

सागका स्वर्णलाई तीन लाख 

सरकारले सन् २०१६ मा भारतमा सम्पन्न भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा फुटबल तर्फ स्वर्ण पदक जित्ने नेपाली फुटबल टिमलाई पनि जनही तीन लाखका दरले पुरस्कार दिएका छन् ।

स्वर्ण पदक जिते लगतै नगद दिने घोषणा सरकारले गरेको थियो । तर सरकाले प्रत्येक खेलाडीलाई दुई लाख मात्रै दिएपछि बाँकी रकम दिनै बाँकी थियो । करिब तीन वर्षपछि बल्ल दिएको हो । नगद पुरस्कार पाउने खेलाडीमा कप्तान विराज महर्जन, विकेश कुथु, एलन न्यौपाने, अमृतकुमार चौधरी, अनन्त तामाङ, मानबहादुर तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, कमल श्रेष्ठ, जगजित श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, प्रकाश बुढाथोकी, सुनिल बल, रन्जन विष्ट, सुमन लामा, अन्जन विष्ट, नवयुग श्रेष्ठ र विमल घर्तिमगर रहेका छन् ।

सम्मान ग्रहण गर्दै फुटबल टिमका गोलरक्षक विकेश कुथुले अझै राम्रो खेल्दै जाने बताए । त्यस्तै, सरकारले विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्णधारी महेश्वर महर्जनलाई पनि ५ लाख नगदसहित सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट लगायतको उपस्थिति थियो ।

तस्वीर : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment