Comments Add Comment

झाँक्रीको मन्त्र र प्रधानमन्त्रीको सदाचार !

आजभोलि झाँक्री प्रथा लोप हुँदै गए पनि त्यसका अवयवहरु डिजिटल मिडियामा सहजै भेट्न सकिन्छन्। ढ्याङ्ग्रो ठटाउँदै झाँक्रीले अलाप्ने मन्त्रमा, बोक्सी, कुखुरा तथा परेवा स्पष्टै बुझिएपनि बाँकी शब्द (वा वाक्य) झाँक्री प्रति भरोषा राख्नेले सकारात्मक रुपमै बुझ्ने गर्छन्। खास अर्थ चाहीं सोही झाँक्रीले नै बुझेको होला भन्ने विश्वास गरौँ।

अब यो देशको रोग, भोक र गरिबी छुमन्तर गराउने प्रण गर्नुभएका प्रधानमन्त्री ज्यू का भाषणका शब्द केलाऔँ। हरेक वक्तब्यमा शुशासन र सदाचार शब्द स्पष्ट सुनिन्छन् तर व्यवहारमा त्यसको छनक सम्म भेट्न गाह्रो हुन्छ। पुराना कुरा छोडौँ, र हालैका केहि दृष्टान्त हेरौँ।

गत अप्रिल २ तारिख, नेपाल एयरलाईन्सको रात्रीकालीन उडान रद्द हुँदा सामाजिक संजाल तथा मिडियामा एक किसिमको हङ्गामा नै भयो। हुन पनि यो चानचुने विषय थिएन। दुईसय सत्तरी बढी यात्रु जो निम्न सेवा तथा सुबिधाका माझ पनि नेपाली ध्वजावाहक भएकै आधारमा नेपाली जहाज चढ्छन्, ति सबैको विश्वासमाथिको ठाडो प्रहार थियो।

अन्तर्राष्ट्रिय उडानको विश्वसनीयता, सो कम्पनीले अपनाउने सुरक्ष्या, प्रदान गर्ने सुविधा तथा समय तालिकाको सुनिस्चिततामा निर्भर गर्छ। सुरक्ष्या सम्बन्धी मापदण्ड लगभग सबै वायुसेवा कम्पनीले अनिवार्य पालना गरेकै हुन्छन्, जिम्मेवारले यन्त्र र कागज दुवैमा, कामचलाऊले कम्तिमा कागजमा।

उड्नै लागेको विमान उडान रद्द हुँदा यात्रु तथा कर्मचारीले भोग्ने तनावको मूल्य शुन्य मान्ने हो भने पनि ति यात्रुलाई पछी सुविधासम्पन्न होटल राख्दा आउने खर्चको बिल तिर्नलाई, टिकट काटेर उठेको पैसाले मुस्किल पर्छ। कुनै यौटा उडान रद्द हुँदा सो विमानसँग सम्बन्धित क्रमिक अन्य उडान तालिकामा कस्तो असर पर्ला? पटक-पटक गुमेको विश्वसनियता किन्न सक्ने आर्थिक हैसियत छ र हामीमा? अन्य सबै विमान उड्ने, आफ्नै ध्वजा वाहकको टिकट काट्ने चाहिँ फर्कनुपर्ने, कस्तो पर्ला ती यात्रुका मनमा ? आखिर थरि-थरिका मुसाले किन रजाईं गर्छ् यो बामे सर्नै लागेको चन्द्र-सूर्य ध्वजावाहकमा ?

यसै मेसोमा क्याप्टेन बिजय लामा संग लिईएको अन्तर्वार्तामा, उनको आक्रोश स्वाभाविक थियो। समाचार सुन्दै म जस्ता सर्वसाधारणलाई तनाब हुन्थ्यो भने उनि त आफ्नो जीवनको यौटा कालखण्ड नै नेपाल एयरलाईन्समा सपर्पित एक लोकप्रिय पाईलट। यस्तो अराजकतालाई चुपचाप नसहेर त्यसका विरुद्द आवाज उठाउनु नै खासमा यो सुसंस्कृत, लोकतान्त्रिक मुलुकलाई सभ्य कुरा छँदै थिएन। आखिरमा यो बलियो २ त्याई सरकारको एक निकायले उनलाई पदिय जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरिछाड्यो। तर, बिवादित २ वाईडबडी सहित जम्मा ४ वटा ठूला जहाज जेनतेन उड्ने सरकारी ध्वजावाहकको यो बिषयले सम्माननिय ज्यूलाई पटक्कै छोएको देखिएन। सायद सुशासनका अन्य अवयवहरुमा ब्यस्त भएर होला।

बालुवाटार जग्गा प्रकरण:

सरकारी जग्गा कति र कहाँ-कहाँ मिचिएको होला ठ्याक्कै भन्न गाह्रो छ, तर जता फर्क्यो, उतै यस्ता जग्गा भने सहजै भेटिन्छन्। उदाहरणको लागी गोपीकृष्ण पूल नजिकै ओम् अस्पतालको पछाडी पट्टी घरै-घरले घेरिएको यौटा घाट लाई हेरौँ। हाल यो घाटलाई अस्थाई बेरो लगाएर राखिएको छ। हामी सबैलाई थाहा छ, घाट खोलाको किनारमा अवस्थित हुन्छ। तर, वरिपरि बस्तीले घेरिएको यो घाटले धोबीखोलामाथि भएको भूमाफियाको सामुहिक बलात्कारलाई द्रष्टाउँछ। भो ! पर-परका झिनामसिना आना-धुरको कुरा नगरौँ। देशकै मुख्य थलो बालुवाटारको कुरा गरौँ।

बालुवाटार प्रकरणमा को मुछियो, को मुछिएन भन्ने कुरामा वादविवाद नै चलिरहेको छ। वालुवाटारमा जग्गा मिचिएको रहेछ भन्ने कुरो पत्तो लाग्यो, जसरी पत्तो लागेको भए पनि यो सरकारलाई धन्यवाद दिन हिच्किचाइनँ। तर, त्यसपछिका शृंखला भने टीठलाग्दा छन्।

प्रधानमन्त्री निवास नै कुनै व्यक्तिले किनेको कुरा व्यक्तिगत आरोप-प्रत्यारोपमा उत्रिने विषय हो र ? यसलाई सरल रुपमै हेरौँ न।

सरकारी जमिन कोही व्यक्तिको नाममा जान मिल्छ ? पक्कै मिल्दैन, तर यहाँ त भोगचलन भैसकेको छ। कोही गरिब, अनपढ तथा अबुझ कुनै किसान यो प्रकरणमा मुछिएको थियो भने यो देशको कार्यकारी प्रमुखको स्पष्टीकरणलाई सहजै लिन सकिन्थ्यो होला। तर, यहाँ त यो देशको संबिधान-कानुन बनाउने हैसियतमा रहेका माननीयहरुकै संलग्नताको कुरा आयो। यस्तो गम्भीर बिषयमा फलानोको पालामा, चिलानोले गरेको, हाम्रा प्रिय चाहिँ पीडित भनेर गरिने टिप्पणी हास्यास्पद भएन र ?

दिवंगत हुने भैगए, यो प्रकरणमा संलग्न जीवित जति जो कोहीलाई पाता कस्न सक्नुभएन भने तपाईंका शुशासनयुक्त गफले तपाइँलाई नै गिज्याउनेछन् प्रधानमन्त्री ज्यू !

आचरण, सिद्दान्त र व्यवहारको गहिराईमा नपुगी नाममै सबैथोक छ भनेर मान्ने हो भने, यो देशको भिमकाय कम्युनिष्ट पार्टी, त्यसको पनि अध्यक्ष्य तपाईं श्री केपी ओली। भूगोल सानो-ठूलो होला तर तपाईको हैसियत चीनमा सी जिनपिङको भन्दा कम छ र यो मुलुकमा? कार्यशैली उस्तै-उस्तै देखिनुपर्ने हैन र? बिडम्बना, तपाइँ र छिमेकी देशको कम्युनिष्ट पार्टीका अध्यक्ष्य विचको भिन्नता केटाकेटीले पनि छुट्याउने भैसके। जो कोहिले सहजै भन्न सक्छन्: एक अध्यक्षले भ्रष्टाचारीलाई गलामा पासो लगाएर झुण्ड्याउँछन् भने अर्काले भ्रष्टाचार आरोपितलाई ओठे जवाफमा निर्दोष करार गर्दै हिंड्छन्।

जीवन छोटो छ महोदय, तर सरकार निक्कै बलियो छ। दिवंगत हुनुभएका पूर्वपर्यटनमन्त्रीले वाईडवडीको कालो दाग संगै लिएर जानुपर्यो। ऊ बेला तपाइँले कम्तिमा न्यायिक निरुपणको विश्वासिलो आधार बनाइदिनुभएको थियो भने, सायद रविन्द्रका नाममा केवल श्रद्धैश्रद्धा मात्रै बाँकी रहने थियो।

सरकारी कार्यालयको दुर्दशा

प्रमज्यू , मलाई थाहा छ तपाइँ स्वयम् सवारी चलाउनु हुन्न। संगसंगै यो पनि थाहा छ कि तपाईंले चढ्ने चिल्लो गाडीले सडकका भ्वाङ्ग सहजै छिचोल्छ भने धुवाँ र धुलो त्यो गाडिको सिसाभित्र पस्नै सक्दैन। यति भएपछि राजधानीको आधाभन्दा धेरै समस्या चैट भैगयो।

राजधानीकै कुनै प्रतिष्ठित सरकारी विद्यालयमा अंग्रेजी माध्यममा कोही अनाथलाई भर्ना गराएर हेर्नुस् त। कस्तो शिक्षा चाहिँ खासमा निशुल्क हो यो देशमा ?

न त कुनै सरकारी काम लिएर तपाइँले सरकारी अड्डै धाउनुपर्छ। बरु राष्ट्रसेवक आफैं तपाइको ठाउँमा लुरुक्क पर्दै भक्तिगान गाउन आइहाल्छन्।

तपाईलाई लाग्दो हो, ओहो कति मीठो लवज, कति आज्ञाकारी। मान्छेले आफ्नो भोगाई अनुरुपको वा आफुले सुने अनुरुपको धारणा बनाउने हो। तपाइँको हालको भोगाईमा कुनै कठिनाई छैन, तपाइँलाई सुनाइने देशको हालतमा पनि जताततै सकारात्मकता नै सकारात्मकता छ। तपाईंका चेला ले भनेजस्तै ‘पोजिटिभ भाईब्स’ छ जताततै। यस्तो परिस्थितिमा तपाइँका भावनाप्रति मलाई कुनै विष्मय छैन।

तर, थोरै आग्रह। एकदिनलाई छोडिनोस्, सिंहदरबारको रवाफ। निक्लनुहोस् पैदलै कुनै यौटा सडकपेटी छानेर अनि जानुहोस्, सवारी चालक अनुमति पत्र बनाउन तथा गाडी खरिद-विक्री गर्न। बिन्ति! झन्झटिलो प्रक्रिया देखेर: ‘गर्दिनँ म शाषन-शासन, जान्छु बरु विप्लवसंगै, पड्काउँछु बम र ध्वस्त पारिदिन्छु यो सामन्ति सत्ता’ भन्न चाहिँ नपाई।

तपाइँको त जग्गा जमीन छैन होला, चाहियो पनि किन र ? यद्यपि गैदिनोस् यसो अवलोकन गर्न मालपोतमा, अमिनको सहयोग लिन नापीमा। भनक्क नभैदिनुहोला, भूमिसुधार मन्त्रीको अनुहार सम्झेर।

अझ आफैले घोषणा गरेको शैक्ष्यिक प्रमाणपत्र धितो राखेर कर्जा निकाल्ने कार्यक्रमको पनि त प्रभावकारिता हेर्न रहर लाग्या होला। जुन् बैङ्क मन लाग्छ, छानेर जानुस् अनि माग्नुस् त डाटा। कतिजनाले शैक्षिक प्रमाणपत्र धितो राखी ऋण लिए भनेर!

हुन त जवाफ आउला, निवेदन नै परेन, कसरी दिनु ऋण ? हो त भन्दै मख्ख नपर्नुस्, जापान र कोरिया जान सर्टिफिकेट बाकसमा थन्क्याएका युवाहरुले यहि देशमा केही गर्न बिनाधितो ऋण किन लिएनन् होला ?

अनुभव गर्नुहोस् सार्वजनिक यातायातको, चढ्नुहोस ट्याक्सी अनि सुन्नुहोस् उनीहरुको गुनासो। जानुहोस् कुनै होटलमा खाजा खान अनि अनुभव गर्नुहोस् मूल्य र गुणस्तरको मापदण्ड।

साँच्ची, नयाँ विद्यार्थी भर्ना अभियान चलिरहेको छ क्यारे। मोफसलको कुरा छाडिदिउँ, माध्यमिक तहसम्म निशुल्क शिक्षा भन्नुभएको हैन ? राजधानीकै कुनै प्रतिष्ठित सरकारी विद्यालयमा अंग्रेजी माध्यममा कोही अनाथलाई भर्ना गराएर हेर्नुस् त। कस्तो शिक्षा चाहिँ खासमा निशुल्क हो यो देशमा ?

यति गरिसक्दा, तपाइको समयको सीमा र स्वास्थ्यको जटिलतालाई मध्यनजर गर्दै सरकारी अस्पतालमा उपचार गराउन गईदिनुहोला भन्ने निर्मम अपेक्ष्या चाहिँ म बाट हुने छैन। एकदिनभरि यसरी घुम्दा हुने सारा खर्च मेरोतर्फवाट भयो, केवल एकचोटि आसेपासे भन्दा माथि उठेर यो देश हेरिदिनोस्। कस्सम, तपाईलाई तपाइँका सल्लाहकारले भनेजस्तै यो देश रैछ भने टुँडिखेलमा लगेर मलाई झुण्ड्याइदिनोस्। हाँसी-हाँसी मृत्युवरण गर्न तयार छु।

भ्रमण वर्ष २०२०

हामी भ्रमण वर्ष २०२० को संघारमा छौँ। भ्रमणवर्ष सुरु हुन अब ६-७ महिना मात्रै बाँकी छ। यसका लागी हामीले के-कति संरचनाको तयार गर्यौं? पर्यटकका सुरक्षा र निगरानीलाई मध्यनजर गर्दै के-के प्रणालीको विकास गर्दैछौँ ? २० लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्यलाई भरथेग गर्ने पूर्वाधार के-के हुन् ?

हुन त कुना-कन्दरामा जाने पर्यटकलाई दिशा-पिसाब लागे प्रकृतिको खुल्ला काखमै निशुल्क व्यवस्था गरिदिएकै छौँ भन्नुहोला। काठ्माण्डौमै घुम्न रुचाउनेलाई सोल्टी, हायात, द्वारिका लगायत छँदैछन्।एयरपोर्ट बुटिक छँदैछ। नेपाल घुम्न आउने पर्यटक हिमाल, जंगल, पहाड र नदी हेर्न आउने हुन् कंक्रिटे विकास त उनीहरुकै देशमा छँदैछ नि पनि भन्नुहोला।

ठिकै होला, तर सबै पर्यटक त्यस्ता मात्रै कहाँ होलान् र ? कोही त पहिलोपटक देश बुझ्न पनि त आउलान् नि !

पर्यटक भनेका पैसो खर्च गरेर शान, सौख र सौन्दर्य बटुल्न हिँड्ने मानव पनि हुन्। भलै यो देशमा आउने पर्यटकहरुले गरिबको घरमा आइलाग्ने पाहुनै सम्झेर आएका हुँदारैछन्। करिब ५ बर्ष अघि मुस्ताङ्गबाट फर्कने क्रममा बाटोमा बस बिग्रियो। चालक र खलासी मिलेर बनाउन प्रयत्न गर्दै थिए, पार लागेन। यतिकैमा यौटा ईजरायली यात्रु जंगियो। अंग्रेजीमै ड्राईभर-खलासीका मातापिता सबैलाई सम्झन थाल्यो। छेवैवाट सबैथोक नियालिरहेको यौटा जर्मनी नागरिक (पाको उमेरको) ले सो इजरायलीलाई सम्झाउँदै भन्यो: “हे म्यान ! इट्स न्याचुरल।” ती जर्मनी नागरिक नेपाल घुम्न आएको ७ औं पटक रैछ। अनि यो देशमा भोगिने पीडा र आइलाग्ने संकट चाहिँ उसलाई प्राकृतिक लाग्दो रैछ। कामना गरौँ, भ्रमण वर्ष २०२० मा त्यस्तै जर्मनी पर्यटक मात्रै आइदिउन्, त्यो इजरायली जस्तो आयो भने त……….!!

र अन्त्यमा,

यो देशको बेथिति र कुशासन यो दुई तिहाईको सरकार निर्माण भएपछि सुरु भएको पक्कै होइन। यो त बदलिएका हरेक व्यवस्थासँगै लिसो लागेर आएको छ। हिजोसम्म भित्र-भित्रै सुटुक्क सामसुम हुने ठुल्ठुला भ्रष्टाचार आजभोलि खुलेआम हुने गरेका छन्। यसमा संलग्नहरु निर्भिकरुपमा राज्यका निकायहरुलाई चुनौती दिँदै हिँड्नु पक्कै शुभ संकेत होइन।

अख्तियारको भूमिकामा आजभोलि प्रश्नचिन्ह लाग्न थालेको छ। अदालतका फैसलाहरु ढुक्कले शिरोधार्य गर्ने अवस्था हराउँदैछ।

राज्यमा थिति नबसेसम्म लागु गरिने हरेक योजना बालुवामा पानि खन्याए सरह हुनेछन्। प्रसासनतन्त्र, न्यायालय र प्रहरीलाई केवल सुशासन र जनताको पक्ष्यमा खटाउन सकिँदैन भने दुई तिहाईको कम्युनिष्ट सरकार के का लागि ? जेनतेन तलब खान र ख्वाउनकै लागि त पुराना रुढिवादी दलहरु छँदैथिए नि।

चस्स बिझे माफ दिनोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment