Comments Add Comment

जग्गा दलालसंग मिलेर वडाध्यक्षले सुकुम्बासीको घर भत्काइदिएको आरोप

१९ वैशाख, बुटवल । तिलोत्तमा नगरपालिका ७ का वडाध्यक्षले जग्गा दलालहरुसँग मिलेर ४० बर्षदेखि बस्दै आएका सुकुम्बासीहरुका घर भत्काइदिएको पीडित पक्षले गुनासो गरेको छ ।

सर्वहारा सुकुम्बासी मोर्चा नेपालले बुटवलमा पत्रकार सम्मेलन गरी वडाध्यक्ष दुर्गाप्रसाद पाण्डेले जग्गा दलालहरुसँग मिलेर २०३६ सालदेखि जोतभोग गर्दै आएका पाँच जना सुकुम्बासीको घर भत्काउने र उनीहरुलाई बिस्थापित गर्ने षडयन्त्र गरेको आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सर्वहारा सुकुम्बासी मोर्चा नेपालका केन्द्रीय अध्यक्ष नरबहादुर श्रीसले ४० बर्षदेखि बसोबास गर्दै आएका सुकुम्बासीको घर भत्काउने र उनीहरुलाई विस्थापित गर्ने वडा अध्यक्ष र नगरपालिकाको काम खेदजनक रहेको बताए ।

पीडित सीमा बिकले चुनावका बेला मलाई भोट देउ तिमीहरुले भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा दिन्छु भनेको बताउदै वडा अध्यक्षले अहिले लालपूर्जा दिनुको सट्टा उल्टै जग्गा दलालहरुसँग मिलेर आफुहरुका घर टहरा भत्काइदिने र आफूहरुलाई त्यहाँबाट विस्थापित गर्न खोजेको आरोप लगाइन् ।

तीन पुस्तादेखि आफ्नो परिवारले भोग चलन गर्दै आएको जग्गाबाट वडा अध्यक्षले डर धाक, धम्की र प्रहरीको समेत दुरुपयोग गरी आफूहरुलाई विस्थापित गर्न खोजेको भन्दै उनले त्यहाँबाट हट्नु परे आफुहरुको बिचल्ली हुने गुनासो गरिन् ।

आफूहरुले चर्चेको १५ कठ्ठा जग्गा मध्ये ११ कठ्ठा जग्गा नगरपालिकालाई नै फिर्ता दिएको बताउदै उनले बाँकी रहेको चार कठ्ठा जग्गा समेत वडा अध्यक्षले हडप्ने प्रयास गरेर आफूहरुमाथि अन्याय भएको बताइन् ।

आफ्नोसहित ५ जनाको घर वडा अध्यक्षले भत्काइदिएको उनको दाबी छ । उनले तत्कालीन करहिया गाबिसले सुकुम्बासी आयोगमा जग्गाधनी दर्ता प्रमाण पुर्जा दिन गरेको सिफारिस र सुकुम्बासी आयोगले दिएको कुपनसमेत ससुरक्षित छ ।

वडाअध्यक्ष पाण्डेले भने घर भत्काउने कार्यमा आफ्नो संलग्नता नरहेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment