Comments Add Comment

सांसदले सोधे : संसद भवन त बेचिएको छैन ?

छलफलमा प्रधानमन्त्रीलाई बोलाउन माग

१८ वैशाख, काठमाडौं । ‘कतै हामी बसेको सदन नै बेचिइसकेको त छैन ? यस्तो रहेछ भने के गर्ने ?’ बिहीबार संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले भने ।

पछिल्लो समय बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता भएको विषय चर्चामा छ । जनदबाबपछि खुलामञ्चमा गैरकानुनी रुपमा बनाइएका सटर काठमाडौं महानगरपालिताको भत्काएको छ । यो संगै काठमाडौं र अन्य जिल्लाका सार्वजनिक जग्गा अतिक्रमणको विषय पनि उठेका छन् ।

यही सन्दर्भ कोट्याउँदै सांसद रायमाझीले सार्वजनिक जग्गा अतिक्रमणबारे संसदीय समितिले चासो राख्नुपर्नेमा जोड दिएका हुन् । ‘बालुवाटार जग्गाको विषय बाहिर आयो । खुलामञ्चको जग्गासमेत अतिक्रमण भएको रहेछ । अन्यत्र पनि सार्वजनिक जग्गाको विषय उठिरहेका छन्’, सांसद रायमाझीले थपे, ‘कतै हामी बसेको सदन नै बेचिइसकेको त छैन ? यस्तो रहेछ भने के गर्ने ?’

ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता भएको घटनामा तत्कालिन गृहमन्त्रीको रुपमा कांग्रेसका सभापति शेरबहादुर देउवाको नामसमेत जोडिएको छ । यसैतर्फ इंगित गर्दै रायमाझीले भने, ‘हाम्रो पार्टी सभापतिको नाम मुछिएको भनिएको छ । छानविन गर्दा ज–जसको संलग्नता छ, सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । हामी हाम्रो सभापतिलाई जोगाउन लागिराखेका छैनौं ।’

प्रधानमन्त्रीलाई छलफलमा बोलाउन माग

कांग्रेसकै अर्की सांसद सरिता प्रसाईंले वालुवाटार जग्गाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र खुलामञ्चको जग्गाको विषयमा काठमाडौं महानगरपालिकका मेयर र उपमेयरलाई बोलाएर छलफल गर्नुपर्ने माग गरिन् ।

‘वालुवाटार धन्दामा को–को संलग्न छन्, तत्थ्यपरक ढङ्गले छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्यो । सरकारले छानबिन गर्छ कि गर्दैन ? वालुवाटार धन्धा के हो ? यसबारे प्रधानमन्त्रीलाई नै बोलाएर छलफल गरौं’ उनले भनिन् ।

नेकपाका सांसद भैरवसुन्दर श्रेष्ठले पनि प्रधानमन्त्रीलाई नै बोलाएर वालुवाटार जग्गाको विषयमा छलफल गर्ने विषयमा सहमति जनाए ।

तर, वर्तमान सरकारको पालामा वालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता नभएको भन्दै उनले सरकारको बचाउ गरे । ‘वालुवाटार जग्गाको विषयमा सबैतिर कुरा उठेको छ, वास्तविकता के हो ? प्रधानमन्त्रीलाई नै बोलाएर छलफल गरौं । तर, यो सरकारको पालामा वालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता भएको होइन । धेरै वर्षअघि र धेरै सरकारका निर्णय यसमा जोडिएका छन्’ उनले भने ।

नेकपाकी सांसद कविता बोगटीले पनि वालुवाटार र खुलामञ्चको जग्गाको विषयमा समितिले छलफल चलाउनुपर्नेमा जोड दिइन । कति तथ्यपरक ढङ्गले विषय आए छन् भन्ने हर्नुपर्ने भन्दै उनले पनि सरकारको बचाउ नै गरिन् ।

‘जग्गा अतिक्रमणका विषय आएका छन् । प्रधानमन्त्रीलाई नै बोलाएर सौधौं– के भइरहेको छ ? भनेर’ सांसद बोगटीले भनिन्, ‘कति तथ्यपरक ढङ्गले विषय आए छन् भन्ने पनि हेनुपर्ने हुन्छ् ।’

नेकपाका अर्का सांसद महेशकुमार महराले कहिलेको जग्गा, कसको नाममा थियो, कसरी व्यक्तिको नाममा गयो भन्ने विषयमा विस्तृत अध्ययन हुनुपर्ने बताए ।

तर, कतिपयले अहिलेको व्यवस्थालाई नै बदनाम गराउने उद्देश्यले सार्वजनिक जग्गाको विषय उछालिरहेको उनको आरोप थियो । ‘सार्वजनिक जग्गा व्यक्तिको नाममा गएको अहिले भएको कुरा होइन । अहिलेको व्यवस्थाप्रति नकारात्मक सोच राख्ने, यो व्यवस्थालाई बदनाम गराउने हरुले पनि यो विषयलाई उछालिरहेका छन् । यसमा हामीले बुझ्नुपर्छ’ उनले भने ।

जसले अनियमितता गरेको छ, उसैले बाहिर ल्याउन सूचना दिएको उनको आशंका व्यक्त गरे । तर, विषय आइसकेपछि के भइरहेको छ ? भन्ने विषयमा प्रधानमन्त्री, मन्त्री, सरोकारवालाई बोलाएर छलफल गर्नुपर्ने उनले पनि बताए ।

तर, समितिले बिहीबार नै मन्त्री वा प्रधानमन्त्रीलाई बोलाएर सार्वजनिक जग्गा अतिक्रमणको विषयमा छलफल गर्ने वा नगर्ने भन्ने विषयमा कुनै निर्णय गरेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment