Comments Add Comment

परोपकारी पुन दम्पति : जेहेन्दार–गरीब विद्यार्थीका सच्चा अभिभावक

२२ वैशाख, बुटवल । कपिलवस्तुको मैनिहवा जमुवार टोलमा जन्मेका राजकुमार गुप्ता पढाइमा अब्बल थिए । तर घरको आर्थिक अवस्था निकै कमजोर । शान्ति निकेतन स्कूलबाट एसएलसी उत्तीर्ण गुप्ताले ट्युसन पढाउँदै खर्चको जोहो गरेर अध्ययनलाई अगाडि बढाउँदै गए । एमबीबीएस पढ्नका लागि लिइने प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भए । शिक्षा मन्त्रालयबाट बीरगञ्जको नेसनल मेडिकल कलेजमा भर्ना हुने विद्यार्थीको सूचीमा परे ।

पूर्ण छात्रवृत्तिमा पढ्न पाउँछु भन्ने सोचेका गुप्तालाई छात्रावास शुल्क, आन्तरिक परीक्षा, मेडिकल, खेलकुद, इन्टरनेट लगायतका शुल्कहरु जोड्दा हुने वार्षिक दुई लाख २५ हजार रुपैयाँ एकमुष्ठ अग्रिम तिर्नुपर्ने भयो । होस्टेलमा बसेर शुल्क तिर्न नसक्ने हुँदा बाहिर डेरा लिएर बस्न पाउँ भन्दै कलेज प्रमुख, शिक्षा मन्त्रालय, आईएमओ डिन कार्यालय र सिंहदरबारसम्म धाए, तर कसैले उनको कुरा सुनेनन् ।

उनको मन खिन्न र निराश भयो । घरको एक्लो छोरो उनले परिवार पाल्नका लागि हाटबजारहरुमा तरकारी बेच्न डुल्ने आफ्नो बुबा र परिवारलाई झल्झली सम्झे । घरबाट ६ वर्षसम्म नियमित यति ठूलो रकम पठाउने अवस्था थिएन । आर्थिक अभावकै कारण एमबीबीएस पढ्ने सपना सपनामै सीमित हुने देखे । कलेजका विपिन आचार्यसँग कुरा गर्दै उनी भक्कानिएर रोए र घर फर्कने कुरा गरे । विपिन लगायतका साथीले कुनै उपाय निस्कन्छ, एमबीबीएस पढ्ने अवसर गुमाउन हुँदैन भनी सान्त्वना र हौसला दिँदै घर फर्कन दिएनन् ।

यत्तिकैमा गुप्तालाई ‘ढुंगा खोज्दा देउता’ मिलेजस्तै भयो । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा पढ्ने स्कुलदेखिको साथी समता कोइरालामार्फत उनले बुटवलका खेमराज पुनसँग फोन सम्पर्क गर्न पुगे । गुप्ताले आफ्नो समस्या सुनाएपछि पुनले बीरगञ्जबाट बुटवल आउन भने । गुप्ता अर्को दिन नै बुटवल पुगेर पुनलाई भेटे । पुनले गुप्ताको बारेमा सबै कुरा बुझेपछि उनलाई निवेदन लेख्न लगाए । निवेदन अध्ययन गरेपछि एमबीबीएस पूरा गर्दा ६ वर्षसम्म लाग्ने मासिक होस्टेल खर्च तिरिदिने निर्णय गरे । होस्टेल खर्चको रकम हरेक महिनाको १ गते बैंक खातामा पठाइदिने बताए ।

गुप्तालाई यो सबै फिल्मको कथा जस्तो लागिरहेको थियो । किनकी उनले यसअघि आफ्ना नातेदार र गाउँका धेरैजना, आफ्नै क्षेत्रका सांसद बृजेश कुमार गुप्तासँग पनि सहयोगको याचना गरेका थिए । तर कसैले पत्याएका थिएनन् ।

खातामा हरेक महिनाको १ गते खेम–ओमी पुन कल्याणकारी प्रतिष्ठानबाट रकम जम्मा हुन थालेपछि गुप्तालाई ठूलो राहत मिलेको छ । ‘आर्थिक अभावकै कारण पाएको छात्रवृत्ति पनि गुमाउने र कलेज छाड्ने अवस्था थियो,’ एमबीबीएस पढ्दै गरेका गुप्ताले भने, ‘तीन वर्षदेखि नियमितरुपमा मासिक ९ हजार रुपैयाँ रकम खातामा आइरहेको छ, अझै तीन वर्ष यसैगरी आउनेछ, जसले गर्दा पढाईमा धेरै सहज भएको छ ।’

चिन्दै नचिनेको, अर्कै ठाउँको, अर्कै समुदायको मान्छेले यसरी सहयोग गरेकामा खेम पुनलाई सच्चा अभिभावक मान्छन् गुप्ता । गुप्ताले भने, ‘उहाँ मेरो लागि साक्षात भगवान हुनुहुन्छ, बुबा हुनुहुन्छ, अभिभावक हुनुहुन्छ । पैसा मात्र पठाउनुहुन्न, बेलाबेला भेट्न पनि आउनु हुन्छ, पढाईको बारेमा चासो राखेर राम्रो गर्न हौसला दिनुहुन्छ ।’

खेम पुनको प्रतिष्ठानबाट आर्थिक सहयोग पाएर उनको प्रशंसा गर्नेमा राजकुमार गुप्ता एक्लो होइनन्, उनीजस्ता एक दर्जन बढीलाई पुनले डाक्टर, इन्जिनियर र अरु विषय पढ्न सहयोग गर्दै आएका छन् । पुनले गुप्ता जस्तै बुटवल मोतिपुरकै मजदुरी गरेर जिविकोपार्जन गर्ने विपन्न परिवारका विपिन चौधरीलाई पनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढ्न आर्थिक सहयोग गरेका छन् ।

गुल्मीका नगेन्द्र श्रीस मगरलाई युनिभर्सल मेडिकल कलेज भैरहवामा ब्याचलर इन डेन्टल सर्जरी (बीडीएस) पढ्न र गुल्मीको नेटाका काशीराम विकलाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा एमबीबीएस पढ्ने क्रममा आर्थिक सहयोग गरेका छन् ।

बुटवलकी जमुना श्रेष्ठलाई पनि पोखराको मणिपाल कलेजमा ब्याचलर इन मेडिसिन एण्ड सर्जरी (एमबीबीएस) गर्न आर्थिक सहयोग गरेका छन् ।

‘उहाँ हाम्रो सच्चा अभिभावक हो, उहाँ नभएको भए म अहिले डाक्टर बन्न सक्ने अवस्थै थिएन,’ डा. जमुना श्रेष्ठले भनिन्, ‘उहाँको निःस्वार्थ सहयोगको शब्दमा बयान गर्न सकिन्न ।’

पुनले अर्घाखाँची मालारानीकी श्रृजना पछाईलाई इन्जिनियरिङ, दिनेश बफाललाई एमबीबीएस, दीपक गहतराजलाई बी. फार्मेसी, रैनादेवी गाउँपालिका ८ का अर्जुन रायमाझी (पाल्पा कारागार) लाई स्नातक, योगेश श्रेष्ठ, रोशनी दर्लामी र शुभम पौड्याल गरी तीनजनालाई कालिका मानव ज्ञान माविमा कक्षा ८ देखि पढाउँदै आएका छन् ।

को हुन् पुन दम्पति ?

खेमराज गुल्मीको भार्से सापढुंगामा वि.सं. २०१९ मा मध्यम वर्गीय परिवारमा जन्मेका हुन् । भारतीय सेनामा जागिरे बुबाको उनी अढाई वर्ष हुंदा मृत्यु भएको थियो । ३५ वर्षको उमेरमै विधवा भएकी आमाले खेमसहित तीन भाइलाई हुर्काउने पढाउने गरिन् । ९५ प्रतिशत लाहुरेको बसोबास भएको गाउंका खेम भने सानैदेखि फरक स्वभावका थिए । सहयोगी र दयालु स्वभावका खेमले आईएससीसम्म अध्ययन गरेका छन् । बुटवलकै ओमीकला पुनसँग उनको विवाह भएको हो । ओमी पनि समाजसेवी भावनाकी हुन् । आईएसम्म अध्ययन गरेकी ओमी बुटवल महिला जेसीस, इनरह्वील क्लब, मगर महिला संघ लगायत एक दर्जन सामाजिक संघसंस्थाको नेतृत्वमा रहेर काम गरेकी छन् ।

खेमराज औषधिको थोक विक्रेता पनि हुन् । तीन दशकदेखि ट्राफिकचोकमा खेम इन्टरप्राइजेज चलाएका छन् । पुन दम्पतीले आफ्नो आम्दानीको २५ प्रतिशत छुट्याएर चार वटा सामाजिक कोष बनाएका छन् । त्यसमा परिवारका चार पुस्ता छुट्टाछुट्टै समेटिएका छन् । उनीहरूले कोष बढाउँदै, त्यसैको ब्याजले जेहेन्दार विद्यार्थीलाई सहयोग गर्दै आएका छन् ।

कहाँ कहाँ गरे सहयोग ?

भारतीय सेनामा मृत्यु भएका बाबुको नाममा प्रतिष्ठान खोलेर समाज सेवा शुरु गरेका खेमराजले यस्तो कामलाई संस्थागत गर्न र दीर्घकालसम्म लैजान आफ्नो ५१ औं जन्मदिनका अवसरमा २०७० मंसिर १७ मा खेम–ओमी पुन कल्याणकारी प्रतिष्ठान स्थापना गरे । शुरुमा १७ लाख रुपैयाँ प्रतिष्ठानमा राखे । तीन वर्षसम्म ८ लाख रुपैयाँका दरले, अर्को वर्ष ८ लाख र गत वर्ष १२ लाख रुपैयाँ जम्मा गरे । अहिले प्रतिष्ठानको कोषमा ६२ लाख रुपैयाँ पुगेको छ । अहिलेसम्म प्रतिष्ठानले एक दर्जन विद्यार्र्थीलाई डाक्टर, इन्जिनियर र विद्यालय, क्याम्पस तह पढ्न २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रतिष्ठानका महासचिव नारायणप्रसाद पन्थका अनुसार प्रतिष्ठानले पाल्पा कारागारमा आमासँगै रहेका बालबालिकालाई पढाउनुका साथै खाना खुवाउँदै आएको छ । अहिलेसम्म जेलका ५० बालबालिकाले यसबाट फाइदा लिएका छन् । कारागार जीवन बिताएका दुई युवाले एसएलसीपछि उच्च शिक्षा पढ्दै छन् । एमबीबीएस पढ्ने ५ विद्यार्थीले त्यही कोषबाट मासिक ९ हजार पाउँछन् ।

मेडिकल शिक्षामा निःशुल्क कोटामा नाम निकाले पनि छात्रावास, पाठ्य सामग्री र खाने प्रबन्ध मिलाउन नसक्दा अलपत्र परेका विद्यार्थीलाई प्रतिष्ठानको सहयोग वरदान सावित भएको महासचिव पन्थ बताउँछन् ।

प्रतिष्ठानको कोष बढ्दै जाँदा करोडभन्दा बढी पुग्ने प्रतिष्ठानका अध्यक्ष खेम पुन बताउँछन् । ‘पढाईमा अब्बल हुँदाहुँदै पनि आर्थिक अवस्था कमजोर भएर पढाई अघि बढाउन समस्या परेका विद्यार्थीलाई आर्थिक सहयोग गर्नु नै प्रतिष्ठानको मुख्य उद्देश्य हो,’ खेमले भने, ‘हामीसँग प्रशस्तै धन भएर हैन, साँच्चिकै सहयोग आवश्यक भएका विद्यार्थी पढ्नबाट वञ्चित हुन नपरोस् भन्ने हो ।’

समाजमा प्रशस्त धन कमाएका मान्छे धेरै भएपनि परोपकारी मन कमैको मात्र हुने खेमको ठम्याई छ । आफूले गरेको परोपकारी कामको धेरै प्रचार गर्न पनि खेम रुचाउँदैनन् । ‘नामका लागि हैन, हाम्रो सहयोगले कसैलाई प्रेरणा होस् भनेर यो सब गरिरहेका छौं,’ खेमले प्रष्ट पारे ।

प्रतिष्ठानकी सदस्य सदस्य ओमी पुन पनि गरिब दुःखीलाई सक्दो सहयोग नै सच्चा मानव धर्म ठान्छिन् । ‘पैसा मात्र कमाएर के गर्नु, मरेपछि रित्तै जाने हो, बाँच्दासम्म अरुले सम्झने काम गरौं भन्ने हो,’ ओमीले भनिन् ।

पुन दम्पतिका एक छोरा र छोरी छन् । छोराको बिहे भोजमा खर्च हुने १० लाख रुपैयाँ पनि भोज नगरी राजु–सरिता पुन भोजन सहयोग कोष स्थापना गरे । त्यसको ब्याजबाट गरीब, अनाथ र अपांगता भएका व्यक्तिहरूलाई खानामा सहयोग भएको छ ।

मृत्युपछि सबै सम्पत्ति प्रतिष्ठानमा राख्ने योजना

जन्मस्थान भार्सेमा बाबु मनबहादुर र आमा गौरीका नामबाट ‘मन–गौरी पुन शैक्षिक अक्षय कोष’ खोलेका छन् । त्यसमा आफ्नो ६ लाख र २ दाजुको एक लाख गरी ७ लाख रुपैयाँको कोष छ । कोषबाट स्थानीय जनकल्याण माविका विपन्न बालबालिकाले बर्सेनी पाठ्यपुस्तक र पोशाक पाउँछन् । २०६७ सालमा खुलेको अक्षयकोषबाट अहिलेसम्म एक सयभन्दा बढी विद्यार्थीले सहयोग पाएको खेमराजले बताए ।

हजुरआमा कला पुनको काखमा हुर्केका खेमले कला पुनको नामबाट गुल्मी भार्सेको आमा समूहलाई २ लाख रुपैयाँ दिएको सम्झन्छन् । खेमले उपचार खर्च नभएर ७ वर्षसम्म विस्तारामा थलिएका बुटवलका खेम फाल मगरलाई उपचार गराएर नयाँ जीवन दिए । उनीहरूकै सहयोग र संरक्षणमा उपचारदेखि घरबारविहीन अपांग बालबालिकालाई देवीनगरमा आश्रय दिएका छन् ।

नवलपरासीमा सामुदायिक चिकित्सालय बनाउन र बुटवलमा सामुदायिक मुटु अस्पताल खोल्न उनीहरूले एक–एक लाख सहयोग गरेका छन् । पितृ उद्धारका लागि आफ्ना वंशजको किरिया भवन बनाउन र तिलोत्तमामा ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउन पनि खेमले आर्थिक सहयोग गरेका छन् । खेमराज आफ्नो मृत्युपछि सबै सम्पत्ति प्रतिष्ठानमा रहोस् र जेहेन्दार विपन्नको पढाइमा सहयोग पुगोस् भन्ने चाहन्छन् ।

कसरी दिन्छन् सहयोग ?

अध्ययनमा सहयोग खोज्दै उनीसँग आउने सबैलाई उनले निवेदनकै भरमा आर्थिक सहयोग भने दिँदैनन् । पढाई राम्रो तर घरको आर्थिक अवस्थाले पढ्न नसक्ने अवस्था यकिन गरेर मात्रै उनले सहयोग गर्छन् । त्यसका लागि उनले विद्यार्थीको घरको चुलोचौकासम्म आफैं पुगेर मात्र निर्णय लिन्छन् । ‘हामीले गर्ने सहयोग दुरुपयोग नहोस् भन्नेमा हामी पूर्ण सचेत छौं,’ उनले भने ।

पत्नी ओमीकला आफ्नी आमाले दिएको घडेरी बेचेर एकल महिलाको रोजगारी र बालबालिकाको संरक्षण गर्ने योजनामा छिन् । ‘प्रशस्तै धन कमाएर पनि आफूभन्दा कमजोर वर्ग, समुदायका लागि रत्तिभर खर्च नगर्ने धनाढ्यहरुले पुनको परिवारबाट सिक्नुपर्छ,’ खेम पुनको परोपकारी कामलाई नजिकबाट नियालिरहेका प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल भन्छन्, ‘प्रदेश सरकारले पनि यस्ता परोपकारी व्यक्ति र संस्थालाई उचित सम्मान गर्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment