+
+

घरकी डाक्टर मनिला सोताङ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २२ गते १३:३०

मनिला सोताङलाई चिनाउने एउटै विशेषण हो, गायिका । उनी गायक उदय सोताङकी जीवनसंगी, गायिका श्रेय सोताङकी आमा ।

परिवार नै सांगीतिक । दुई छोरी र एक छोराकी आमा मनिला अझैपनि उत्तिकै जाँगरिला छिन्, चाहे गायनमा होस् वा गृहस्थीमा ।

‘माया माय तिम्रै माया’, ‘माया नमार है’, ‘उकाली चढौला’, ‘कहाँ पोखिन्छ आँशु’, ‘आधी बाटो हिँडेपछि’, ‘आज तिम्रो कुरा चल्यो’ जस्ता अजम्बरी गीतको थुप्रो लगाएकी मनिला घर-परिवारमा भने फरक छिन् । घरमा उनी पटक्कै गायिका जस्ती छैनन् । एउटी मायालु श्रीमती, ममतामयी आमाको भूमिकामा छिन् । अझ भनौं, यस्ती गृहणी जो घर-परिवारको मियो हुन् ।

मनिला घरमा हुँदा रियाज गर्दिनन् । संगीतको अभ्यास गर्दिनन् । न संगीतको चर्चा गर्छिन् । बरु भान्सा सम्हाल्छिन् । मीठो-मसिनो पकाउँछिन् । लुगाफाटो मिलाउँछिन् । घर सफासुग्घर गर्छिन् । चिरिच्याट्ट बनाउँछिन् । अह्राई-खटाई गर्छिन् । सबैको सुख-दुःख सुन्छिन्, सबैलाई सम्हाल्छिन् ।

हुन त उदय-मनिला सोताङको घरमा सबैजना भान्से छन् । सबैलाई केही न केही पकाउन आउँछ । सबैलाई भान्साको काममा जाँगर चल्छ । पाहुनापात आएको बेला छोरी श्रेय सोताङ अगाडि सर्छिन् । खानेकुरा बनाउने, सर्भ गर्ने जिम्मा उनकै हो ।

उनी खानपान सम्बन्धीको टिएलसी च्यानल हेर्छिन् । त्यही अनुसार नयाँ नयाँ परिकार बनाउने अभ्यास पनि गर्छिन् । आमा-छोरी पालो गरेर खाना पकाउँछन् । दुबैको हातको खाना स्वादिलो हुन्छ । स्वस्थ्यकर पनि । उदय सोताङ पनि कम छैनन् । बेलामौकामा उनी आफै भात र भान्सा सम्हाल्न पुग्छन् । खासगरी बार्बीक्यु बनाउने काम उनको भागमा पर्छ । पारिवारिक जमघटमा उनी बार्बीक्यु बनाएर चखाइरहेका हुन्छन् ।

अर्का छोरो छन्, सुयोग । उनी पनि गीत-संगीतमै छन् । संगीत शिक्षकको रुपमा काम गर्दैछन् । मौका पर्दा उनीपनि खानेकुरा बनाउँछन् । खासगरी कन्टिनेन्टल ।

घरकी डाक्टर

मनिला सोताङको अर्को विशेषता भनेको उनमा औषधिपानीको राम्रो ज्ञान छ । घरमा कसैलाई पेट दुख्यो, कसैलाई चक्कर लाग्यो, कसैलाई खाना रुचेन, कसैलाई अपच भयो । यी सामान्य अवस्थामा अस्पताल जानुपर्दैन, औषधी खरिद गर्नुपर्दैन, चिकित्सकसँग सोधपुछ गर्नुपर्दैन । किनभने घरकी डाक्टर हुन्, मनिला सोताङ ।

कुन अवस्थामा कस्तो औषधि सेवन गर्ने ? कसरी गर्ने ? कति मात्रामा गर्ने ? मनिलालाई थाहा छ । उनलाई थाहा मात्र छैन, उनीसँग औषधि पनि हुन्छ । अक्सर उनी आफुसँगै केही औषधि पनि बोकेर हिँड्ने गर्छिन् ।

त्यती मात्र होइन,  यस विषयमा परामर्श पनि दिइरहेकी हुन्छिन् । घरेलु औषधि बनाउन जानेकी छिन् । साथसाथै एलोपेथिक औषधि र उपचारबारे पनि सामान्य ज्ञान छ । उदय सोताङले अनलाइनखबरसँग भनेका थिए, ‘सबै किसिमको औषधि नै बोकिरहेको हुन्छ हौ । केहि भयो भने, फ्याट्टै यस्तो औषधि खानुपर्छ भनिहाल्छिन् ।’

मनिलाको जस्तै गुण अहिले छोरी श्रेयमा सरेको छ । श्रेयलाई पनि सामान्य औषधिको ज्ञान छ ।

सिलाई-बुनाईमा सिपालु

मनिला सोताङको अर्को विशेषता भनेको सामान्य फाटेको, उत्रेको लुगाफाटो आफै सिलाउने । कतिपय लुगाफाटो सिलाउनु परे अरुलाई गुहार्नु पर्दैन ।

हुन त उदय सोताङ पनि सिलाई-बुनाईमा सिपालु छन् । उनले लुगा सिलाउने मेशिन घरमै राखेका छन् । सामान्य लुगाफाटो सिलाउने, मिलाउने काम उनी आफै पनि गर्न सक्छन् । उनको बानी चाहि के छ भने, भएको लुगालाई केही मोडिफाइ गरेर लगाउने । आफ्नै डिजाइनको बनाउने ।

कपाल काट्ने घरमै

उदय सोताङ-मनिला सोताङको परिवार हरेक कुरामा आत्मनिर्भर छन् । जस्तो कि, कपाल काट्ने कुरामा पनि । उनीहरु सैलुन धाइरहनु पर्दैन ।

कुनैबेला उदय सोताङ कैची चलाउनमा माहिर थिए । अहिले पनि परिवारमा कसैको कपाल काँटछाट गर्नुपरेमा उदयले कैची चलाउँछन् । यो गुण अहिले छोरी श्रेयले पनि सिकेकी छिन् । श्रेयलाई कपाल काट्ने कला राम्ररी आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?