Comments Add Comment

‘मेरो सरकार’ भन्दैमा गणतन्त्रमाथि प्रश्न उठाउन मिल्दैन : देव गुरुङ

२२ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देव गुरुङले नीति तथा कार्यक्रममा प्रयोग भएको नयाँ भाषा र पदावली प्रयोग हुँदैमा गणतन्त्रमाथि प्रश्न उठाउन नमिल्ने बताएका छन् ।

वैशाख २० गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्ने पदावली प्रयोग गरेकोमा प्रतिपक्षी नेपाली कांग्रेसले प्रश्न उठाएपछि गुरुङले जवाफ दिएका हुन् ।

आइतबार संसदमा नीति तथा कार्यक्रममाथि छलफलका कार्यक्रममा कांग्रेससहित विपक्षी दलहरुले राष्ट्रपतिको भाषाले राजतन्त्रकालीन समय सम्झना गराएको टिप्पणी गरेका थिए ।

त्यसको जवाफ दिँदै सत्तारुढ नेकपाका सांसद गुरुङले गणतन्त्रमाथि प्रश्न उठाउनु पूर्वाग्रही धारणा भएको बताए । ‘भाषाहरु, पदावलीमा प्रश्न उठेको छ, समय क्रममा केही नया पदावली प्रयोग हुन्छन्’ उनले भने ‘भाषा पदावली प्रयोग भएको आधारमा गणतन्त्रमाथि नै प्रश्न उठेका छन् । त्यहाँसम्मको सोचले आग्रह पूर्वाग्रहको पराकाष्टासम्म पुग्ने त होइन, त्यतिसम्म आशंका नगर्न आग्रह गर्दछु ।’

भाषाशैली प्रयोग गर्दा कुन उपयुक्त हुन्छ भन्ने विषयमा बहस हुन सके पनि गणतन्त्रमाथि नै प्रश्न उठाउनु उचित नहुने उनको भनाइ छ ।

नेता गुरुङले सरकारले ल्याएको नीति कार्यक्रम मूल रुपमा सही भए पनि कार्यान्वयनमा समस्या रहेका बताए । कार्यान्वयनको पाटोमा ध्यान दिन नसकेमा कार्यक्रम फितलो हुन सक्छ’ गुरुङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment