Comments Add Comment

गुल्मी दजाकोटमा दूषित पानीकै कारण झाडापखाला फैलिएकोे पुष्टि

सिगेला नामक जिवाणु पनि भेटियो

२३ वैशाख, गुल्मी । मुसिकोट नगरपालिका-४ दजाकोटमा दूषित पानीकै कारण झाडापखला फैलिएको पुष्टि भएको छ । यही वैशाख १० देखि सिङ्गो गाउँमा फैलिएको झाडापखालाको मुख्य कारण पानीमा रहेको ईकोलाई जिवाणु भएको अनुसन्धानबाट खुलेको हो ।

गाउँमा झडापखालाको प्रकोप बढ्दै गएपछि विश्व स्वास्थ्य संगठन र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले गत साता प्रकोप क्षेत्रमा पुगेर बिरामीहरुको दिसा र पानीको नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो ।

बिरामीको दिसा परीक्षण गर्दा सिगेला नामक जिवाणुसमेत भेटिएको बताइएको छ ।

स्थानीयले उपभोग गर्दै आएको पानीको मुहानमा फोहोरका भएकोले पानी दूषित भएको र झाडापखालाको प्रकोप बढेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए ।

नेपाल सरकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गरेको परीक्षणले पानीकै समस्याका कारण झाडापखालाको संक्रमण बढेको पुष्टि भएको डाक्टर पच्याले जानकारी दिए ।

झाडा पखलाबाट २ सय बढी बिरामी भएका थिए । एक जनाको मृत्यु भएको थियो । झाडापखाला अहिले पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ ।

झाडापखला फैलिएको स्थानमा जिल्ला स्वास्थ्य कार्यालय गुल्मी, गुल्मी अस्पताल, मुसिकोट नगरपालिकाका स्वास्थ्य टोलीले सञ्चालन गरेको स्वास्थ्य शिबिरका कारण झाडापखला नियन्त्रणमा आएको हो ।

सिङ्गो गाउँ नैै प्रभावित बनेपछि काठमाडौंबाट बिशेषज्ञ डाक्टरसहित अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनको समन्वयमा इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले प्रभावित क्षेत्रमा अनुगमन गरेका थिए ।

झाडापखला फैलिएको स्थानमा जिल्ला स्वस्थ्य कार्यालय गुल्मी, गुल्मी अस्पताल, मुसिकोट नगरपालिकाले सचेतना कार्यक्रम पनि सम्पन्न गरेका छन् ।

प्रभावित क्षेत्रमा स्थानियलाई राखेर पानी उमालेर प्रयोग गर्न, हात मिचिमिची धुनेलगायतका सल्लाह, सुझाव दिई विरामीसँग भेटघाट गरेर सचेतना कार्यक्रम सम्पन्न गरेको मुसिकोट नगरपालिका गुल्मीका स्वस्थ्य संयोजक डिबी जिसीले बताए ।

प्रभाबित क्षेत्रमा खानेपानीको समस्या भएपछि नगरपालिकाले दैनिक ट्याकरबाट पनि पानी बितरण गरिरहेको नगर प्रमुख सोमनाथ सापकोटाले बताए ।

सोही स्थानमै ०७३ साल वैशाख १८ गते पारी जंगलमा लागेको आगो पानीको अभावमा स्थानीयले नियन्त्रणमा लिन नसक्दा वारी दजाकोटमा फैलिएर गाउँ खरानीमा परिणत भएको थियो ।

५६ घरगोठ जलेर नष्ट भएको थियो भने १ जनाको मृत्युसमेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment