Comments Add Comment

आईपीएल : चेन्नाई र मुम्बई बलियो, दिल्ली र हैदरावाद कमजोर !

२३ वैशाख, काठमाडौं । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि कुन टिमले जित्ला ? प्लेअफ समीकरण पूरा भएसँगै चर्चा हुन थालेको छ ।

चेन्नाई सुपर किंग्स, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद मध्ये यो पटकको आईपीएल उपाधि कुन टिमले जित्ला त ? सबैभन्दा महँगो क्रिकेट उत्सवले अहिले खेल प्रेमीको ध्यान खिचेको छ ।

मुम्बई र चेन्नाईले अहिलेसम्म तीन–तीन पटक आईपीएलको उपाधि उचालेको छ । हैदरावादले एक पटक आईपीएलको उपाधि उचालेको छ भने दिल्ली अहिलेसम्म उपाधि विहीन छ । ।

मुम्बई भर्सेस चेन्नाई

आईपीएलको पहिलो क्वालिफायर राउण्डमा फाइनल प्रवेशका लागि मुम्बईले वैशाख २४ गते मंगलबार चेन्नाईसँग प्रतिस्पर्धा गर्नेछ ।

जारी आईपीएलमा मुम्बई लिग चरणको विजेता बन्दै प्लेअफको पहिलो क्वालिफायर राउण्डमा प्रवेश गरेको हो । मुम्बईले १४ खेलमा ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर लिगको शीर्ष स्थानमा रह्यो ।

साविक विजेता चेन्नाईले पनि ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ नै अंक बनायो । तर नेट रनरेटको आधारमा पछि पर्दै चेन्नाई लिगको दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा प्रवेश ग¥यो ।

तुलनात्मक रुपमा जारी आईपीएलमा चेन्नाई भन्दा मुम्बई बलियो ठहरिएको छ । यो यसअर्थमा पनि हो की मुम्बईले चेन्नाई विरुद्धको लिग चरणको दुबै खेलमा सहज जित निकालेको थियो ।

लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो । अवे खेलमा पनि मुम्बईले चेन्नाईलाई ४६ रनले पराजित गरेको थियो ।

ब्याटिङ लाइनमा मुम्बई र चेन्नाई दुबैको बलियो छ । चेन्नाईको ब्याटिङ लाइनमा सेन वाट्सन, फाफ डु प्लेसिस्, सुरेश रैना, कप्तान महेन्द्रसिंह धोनी, आम्बती रयुडु, केदार जाधव, ड्वायन ब्राभो र रविन्द्र जडेजा जस्ता ब्याट्सम्यान छन् ।

यता, मुम्बईमा पनि विष्फोटक ब्याट्सम्यानको लाइन लामै छ । कप्तान रोहित शर्मा, क्वान्टन डि कक, सुर्यकुमार यादव, इसन किसन, हार्दिक पाण्ड्या, कइरोन पोलार्ड, क्रुनाल पाण्ड्या जस्ता ब्याट्सम्यान छन् ।

दिल्ली भर्सेस हैदरावाद

प्लेअफको इलिमिनेटर राउण्डमा दिल्ली र हैदरावादले एकआपसमा प्रतिस्पर्धा गर्दैछन् । बुधबार राति हुने खेलमा दुबै टिम जित हात पार्दै दोस्रो क्वालिफायरमा प्रवेश गर्न चाहन्छन् ।

दिल्लीले जारी आईपीएलमा १४ खेलबाट ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ अंक बनाउएर तेस्रो बनेको हो । लिग चरणमा तेस्रो स्थानमा रहंदै प्लेअफको इलिमिनेटर राउण्डमा प्रवेश गरेको दिल्ली मुम्बई र चेन्नाईसँग नेट रनरेटमा मात्रै पछि परेको हो ।

यता, हैदरावादलाई भने यो पटक भाग्यले साथ दिएको छ । मुम्बईले कोलकत्ता नाइट राइडर्सलाई पराजित गरेसँगै हैदरावाद प्लेअफमा पुगेको हो । यदी कोलकत्ताले जितेको भए हैदरावाद आउट हुने थियो ।

हैदरावादले १४ खेलमध्ये ६ खेलमा जित र ८ खेलमा हार ब्यहोर्दै १२ अंक बनाएको थियो । १२ नै अंक बनाएको कोलकत्ता र किंग्स इलाभेन पञ्जाब भने नेट रनरेटमा पछि पर्दै आईपीएलबाट बाहिरिएका हुन् ।

हैदरावाद र दिल्ली दुबैले लिग चरणको खेलमा एक खेलमा जित र एक खेलमा हार ब्यहोरेका छन् । दिल्लीले होम खेलमा हैदरावादसँग ५ विकेटले पराजय भोगेको थियो । तर अवे खेलमा भने दिल्लीले हैदरावादलाई ३९ रनले पराजित गरेको थियो ।

यी दुबै टिम एकआपसमा प्रतिस्पर्धा गर्दै गर्दा हैदरावादका डेभिड वार्नर र दिल्लीका कागिसो रबडा हुने छैनन् । विश्वकपलाई मध्यनजर गर्दै क्रिकेट अष्ट्रेलियाले वार्नरलाई बोलाएपछि उनी क्लोज क्याम्पमा गएका छन् । यता, रबडा भने ढाँडको समस्याका कारण विश्राममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment