Comments Add Comment

प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिने

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष ०७६/७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ आज संसदमा उपस्थित भएर दिँदैछन् ।

नीति तथा कार्यक्रममाथि संसद्मा भएको छलफलका क्रममा उब्जिएका प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिने प्रचलनअनुसार प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर त्यसबारे प्रष्ट पार्न लागेका हुन् ।

गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिँदै छ । लगत्तै प्रधानमन्त्रीले त्यसबारे जवाफ दिने कार्यसूची तय भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

विपक्षीले नीति तथा कार्यक्रमको आलोचना गरेका छन् भने सत्तापक्षले बचाउ गरेका छन् । विपक्षीले खासगरी राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ पदावली र संविधान सर्वस्वीकार्य भएको शब्दावलीप्रति आपत्ति जनाएका छन् । नीति तथा कार्यक्रममा नयाँपन आउनु पर्ने भए पनि त्यसो नभएको तर्क गर्दै कांग्रेसलगायतका दलले ६ वटा संशोधन दर्ता गराएका छन् ।

प्रधानमन्त्रीले आज विपक्षीले उठाएका यिनै प्रश्नहरुको सेरोफोरोमा रहेर जवाफ दिनेछन् ।

प्रधानमन्त्रीले जवाफ दिएपछि आवश्यक संशोधनसहित नीति तथा कार्यक्रम पारित गर्ने संसद्को कार्यसूची छ ।

यसैबीच, यही २७ गतेबाट बजेट तयारीबारे संसद्मा छलफल हुने भएको छ । यसअघि नीति तथा कार्यक्रमअगावै यस्तो छलफल हुने गरेको भए पनि यसपटक सार्वजनिक पछि छलफल हुन लागेको हो । जसमाथि विपक्षीहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment