Comments Add Comment

सभामुख प्रधानमन्त्रीको आदेशपालक भएको पुष्टि भयो : गगन थापा

२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महरा संसदको प्रमुख नभई प्रधानमन्त्रीको आदेशपालकको रुपमा प्रस्तुत भएको आरोप लगाएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि कांग्रेसले त्यसलाई असंसदीय भाषा भन्दै विरोध जनाएको थियो । तर कांग्रेसको विरोधलाई बेवास्ता गर्दै सभामुखले प्रधानमन्त्रीलाई जवाफलाई निरन्तरता दिन आग्रह गरेपछि संसदमा प्रधानमन्त्री र कांग्रेस सांसदहरुबीच सवाल जवाफ नै भएको थियो ।

यस घटनामा सभामुख निरिह भएको कांग्रेस सांसद गगन थापाले बताए । ‘फेरि एक पटक संसदको सभामुख सभामुखको जिम्मेवारी निर्वाह गर्न सक्नुभएको छैन । व्यवस्थापिकाको प्रमुख भएर होइन कार्यपालिकाको छाँया, प्रधानमन्त्रीको आदेशपालकको रुपमा उहाँको भूमिकामा रहनुभएको छ भन्ने पुनर्पुष्टि गर्नुभएको छ’ उनले भने ।

सभामुख प्रधानमन्त्रीसँग डराएको जस्तो र आफ्नो अधिकार प्रयोग गर्न नसकेको जस्तो देखिएको थापाले बताए । यो घटनाले पार्टीको संसदीय दलमा सभामुखलाई हेर्ने दृष्टिकोणकै विषयमा छलफल गर्नुपर्ने देखिएको उनको भनाइ छ ।

थापाले सरकार थप अनुदार हुँदै गएको पनि टिप्पणी गरे । ‘सरकार थप अनुदार हुँदै गएको छ, कुनै पनि निकायको मान राख्दैन भन्ने पुष्टि पनि भयो’ उनले भने ।

थापाले आफूहरु अवरोधकै बीच नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियामा सहभागी भएको बताए । मौन बस्दा सभामुख महराले नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको घोषणा गर्न सक्ने देखिएकाले विरोधकै बीच प्रक्रियामा सहभागी भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment