Comments Add Comment

फिल्म मेकिङमा लगानी बढ्यो, तर पर्दामा ‘गुदी’ देखिएन

व्यक्तिका नाममा लगानी बढाएर के फाइदा ?

प्रोडक्सन डिजाइनरको रुपमा राम्रै नाम कमाएका शंकर पाण्डेले केही बर्ष अगाडिसम्म चोभारको लोकेशनका लागि १ हजारसम्म तिर्थे । तर, अहिले सोही चोभारमा चलचित्र खिच्नुपर्दा दिनको १० देखि १५ हजार पर्ने अनुभव पाण्डेको छ । ३ बर्ष अगाडि लाइटम्यानका लागि १ हजार तिर्ने निर्माताले अहिले ३ देखि ५ हजारसम्म तिर्छन् । कलाकारको पारिश्रमिकले त झनै निर्माताको निन्द्रा गायब बनाइदिएको छ । यसको अर्थ के भने, अहिले चलचित्रको मेकिङ महंगिएको छ ।

चलचित्रको बजार खस्किदो अवस्था रहँदा यसको मेकिङमा भने ठूलो लगानी गर्नुपर्ने अवस्था छ । यसैले पनि अहिले निर्माताले सहजै चलचित्रबाट लगानी उठाउन सक्ने अवस्था छैन । नेपाली चलचित्रको मेकिङमा देखिएको यो महंगाइले के निर्मातालाई लगानी गर्न समस्या पारेको हो ? मेकिङमा बढेको लगानी बजार अनुसार नै हो या अनावश्यक हो ?

२ करोड भन्दा माथि लगानी गर्दिनँः सुवास गिरी
चलचित्र ‘कृ’मा निर्माता सुवास गिरीले सोचेको भन्दा डबल खर्च भयो । यसरी खर्च बढ्नुको पछाडि, उनी धेरै कारण मान्छन् । उनले भने–‘निर्देशक सुरेन्द्र पौडेल, छायांकार पुरुषोत्तम प्रधान र एक्सन निर्देशक चन्द्र पन्तको तालमेल नमिल्दा लगानी बढ्यो । अर्कोतिर, ‘कृ’मा प्राविधिक कुरालाई बढी ध्यान दिदा पनि हाम्रो लगानी बढेको हो ।’

गिरीका अनुसार, अहिले किचेन, प्राविधिकको पारिश्रमिक, कलाकारको पारिश्रमिक सबै बढेको छ । नयाँ चलचित्र बनाउने तयारीमा लागेका सुवास भन्छन्–‘अहिले म नयाँ चलचित्रको बजेट देखेर पछि हटिरहेको छु । एकदमै साँघुरो तरिकाले बजेटिङ गर्दा पनि साढे २ करोड निस्किएको छ । अहिलेको अवस्थामा प्राविधिक रुपमा समेत बलियो भएको चलचित्र २ करोडमा सक्नुपर्छ । नत्र, नेपालबाटै लगानी उठाउन गाह्रो छ ।’

सुवासले साढे २ करोड निस्किएको नयाँ चलचित्रको बजेट २ करोडमा खुम्च्याउन आफू लागिपरेको सुनाए । सुवास चलचित्र ‘कृ’ आफूले करिब २ करोडमा सकेको भए राम्रै नाफा कमाउन सक्थे भन्छन् ।

लगानी बढ्यो तर पर्दामा देखिएनः दिपेन्द्र के खनाल
चलचित्रको छायांकन १५ दिनमै सक्न माहिर मानिएका ‘पशुपति प्रसाद’का निर्देशक दिपेन्द्र के खनालको वुझाइमा अहिले चलचित्रको मेकिङमा लगानी आकाशिएको छ, तर त्यो पर्दामा देखिएको छैन । उनका अनुसार, पर्दामा नदेखिने कुरामा बढी खर्च भएको छ । उनले भने–‘अहिले एउटा चलचित्रका लागि किचेनमै १२–१३ लाख सकिन्छ । कलाकार, प्राविधिक, प्रचार खर्च सबै बढेको छ । तर, पर्दामा भने हामीले लगानी देखाउन सकेका छैनौ ।’

उनले, चलचित्र बनाउनु अघि गरिने तयारीले पनि खर्च कटौती गर्न सकिने सुनाए । दिपेन्द्रले भने–‘मैले नै निर्देशन गरेको मल्टिस्टारर चलचित्र ‘चंगाचेट’लाई १ करोड ४० लाखमा हलमा रिलिज गरेको हुँ । यो चलचित्र अरु निर्माताले बनाएको भए निकै महंगो पथ्र्यो ।’

उनले, कुनै पनि चलचित्रमा खर्च निर्देशक र स्क्रिप्टको माग अनुसार हुने बताए । दिपेन्द्रले भने–‘कसैले विदेशमा गएर गीत खिच्छ भने ३०–४० लाख खर्च बढी हुन्छ । अर्कोतिर, हाम्रोमा स्टूडियो छैन । लोकेशनका लागि कसैसँग आग्रह गर्दा उसले जती पनि मागिदिने अवस्था छ । यसैले पनि लगानी बढेको छ ।’

निर्माताले नवुझ्दा लगानी बढ्योः भूवन केसी
निर्माता भूवन केसी पनि ३ बर्षको तुलनामा अहिले खर्च डबल भएको स्विकार गर्छन् । आफूले चलचित्र ‘ड्रिम्स’ बनाउँदा र अहिले ‘क्याप्टेन’ बनाउँदा नै लगानी दोब्बर भएको भूवनले सुनाए । तर, भूवन यसको पछाडि नवुझी लगानी गर्ने निर्माताहरुलाई दोष दिन्छन् । उनले भने–‘यहाँ आउने नयाँ निर्मातालाई चलचित्रको व्यापारको बारेमा गलत सल्लाहा दिइएको छ । २० करोड कमाउने चलचित्रबाट सबै रकम निर्माताकै हातमा जान्छ जस्तो गरेर गफ दिइएको छ । अर्कोतिर, सुरुमा चलचित्र १ करोडमा सकिन्छ भनेर आवश्वासन दिने, पछि महंगो बजेट लगाइदिने प्रचलन पनि छ । यसैले, पनि नयाँ निर्माताले नवुझ्दा चलचित्रमा लगानी अनावश्यक बढेको छ ।’

भूवनले अहिले खाना, प्राविधिक, कलाकार, यातायात, प्रोडक्शन सबैमा पारिश्रमिक बढेको स्विकार गरे । के महंगो पारिश्रमिक लिदै आएका चलचित्रकर्मीले पारिश्रमिक घटाउनुपर्छ भन्ने प्रश्नमा उनले भने–‘हेर्नुहोस्, कुनै कफीको मुल्य सामान्य पसलमा २५ रुपैयाँ त पाँच तारेमा ५ सयसम्म पर्छ । कुनै मान्छेको काम राम्रो भएपछि यहाँ डबल रकम तिरेर पनि काम गराइन्छ । कोही यहाँ काम नै नपाएर बसेका छन् । चलचित्र बनाउनेले पनि कुन बजेटमा चलचित्र बनाउन लागेको हो, त्यो हेरेर मात्र हरेक कुरा छान्नुपर्यो नी ।’

भूवनले कि नयाँ कलाकार लिएर पनि राम्रो चलचित्र बनाउन सक्ने आँट देखाउनपर्यो या चलेको कलाकारलाई उसको पारिश्रमिक दिनपर्यो भन्ने तर्क गरे । भूवनले भने–‘कुनै कलाकारले २ करोड बजेटको चलचित्रलाई पनि सुरक्षित गर्ने हिम्मत गर्छ भने उसले महंगो पारिश्रमिक लिनु नराम्रो होइन ।’

बर्षमा १०० चलचित्र बन्दा धेरै नराम्रा चलचित्रको बिचमा राम्रा चलचित्र पनि पिसिएको भूवनको तर्क छ । उनले चलचित्रको निर्माणमै कम गर्नुपर्ने तर्क गरे ।

हाम्रोमा मापदण्ड नै छैनः शंकर पाण्डे
प्रोडक्शन डिजाइनिङमा चलेका शंकर पाण्डे अहिलेको बजार अनुसार प्राविधिकको पारिश्रमिक स्वभाविक भएको बताउँछन् । उनी भन्छन्–‘अहिले हरेक कुरामा महंगी बढेको छ । यसैले पनि प्राविधिकले पारिश्रमिक बढाउनु नराम्रो होइन ।’

उनका अनुसार, धेरै चलचित्रका निर्माताले चलेका छायांकार, मेकअप, लाइटम्यान लिन खोज्ने भएकाले पनि उनीहरुको पारिश्रमिक बढेको छ । चलचित्र बनाउनेले खोज्ने प्राविधिकले पारिश्रमिक बढाएपनि खासै नलचेका प्राविधिकले सस्तोमै काम गरेको उनले बताए । चलेका प्राविधिकलाई पारिश्रमिक तिर्न निर्माता पनि तयार हुने तर नचलेकाको पारिश्रमिकमा कुनै मापदण्ड नभएको पाण्डेले बताए । पाण्डे भन्छन्–‘अहिले प्राविधिकको मात्र होइन, हरेक कुरामा लगानी बढेको छ । ३ बर्ष अगाडि ३ लाखमा खिचिने गीत अहिले १५ देखि २० लाखसम्म लाग्छ । आफ्नै लोकेशन नहुँदा अरुसँग लोकेशन माग्नुपर्ने अवस्था छ । यसैले, उनीहरुले जती पनि पारिश्रमिक भनिदिने अवस्था छ ।’

हो, अहिले बजारको मुल्य पनि बढेको छ । यसैले, चलचित्रको निर्माणमा पनि पहिलेको तुलनामा लगानी बढ्नु स्वभाविक हो । तर, अहिले धेरै निर्माता चलचित्रको पर्दामा देखाउने कुरा भन्दा पनि व्यक्तिका पछि लागेका छन् । जसलेगर्दा, पर्दामा गुँदी नदेखिने तर चलचित्रको लगानी ३–४ करोडसम्म पुग्ने अवस्था छ । यस्तो अवस्थामा, नेपालबाटै लगानी सुरक्षित हुन सक्ने अवस्था आउँदैन । किनकी, केही चलचित्रलाई छाड्ने हो भने नेपाली चलचित्रको बजार ८ देखि १० करोड ग्रस कलेक्शनको मात्र देखिएको छ । त्यो पनि ब्ल्कबस्टर व्यापार गर्दाको अवस्थामा मात्र ।

यसैले, अहिले चलचित्रको मेकिङ पर्दामा देखाउनतर्फ सबैले सोच्न आवश्यक छ । पर्दा पछाडि कती लगानी भयो भन्ने कुरामा दर्शकले वास्ता गर्दैनन् । तर, पर्दामा फुङ्ग देखाएर पर्दा पछाडि व्यक्तिका नाममा करोड खर्च गर्दा धेरै निर्माता डुबेका छन् ।

चलचित्रमा लगानी गर्ने निर्माताको संख्या अहिले ह्वात्तै घटेको छ । चलचित्रमा लगानी कम भएको खण्डमा प्राविधिक, कलाकार सबै थन्किनुपर्ने अवस्था आउँछ । अर्कोतिर, निर्माताले पनि हतारमा चलचित्रमा पैसा खन्याएर टन्नै कमाउँछु भन्ने सोच राख्नभन्दा पनि यसको बजार बुझेर लगानी गर्न आवश्यक छ । हरेक कुरामा महंगी बढ्दा चलचित्रकर्मीले पनि पुरानै पारिश्रमिकमा काम गर्न पक्कै सक्दैनन् । तर, एउटा नयाँ निर्माता आएको समयमा त्यसलाई ‘खुइल्याइहालौ’ भन्ने सोच पनि हटाउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment