Comments Add Comment

किटानी जाहेरी नलिएपछि इप्रका बुटवल घेराउ

२६ वैशाख, बुटवल । प्रहरीले किटानी जाहेरी नलिएपछि मृतक महिलाका आफन्त र स्थानीय आमा समूहले इलाका प्रहरी कार्यालय बुटवल घेराउ गरेका छन् ।

गत शुक्रबार रुपन्देहीको बुटवल उपमहानगरपालिका -१४ बिनायकपुरकी लक्ष्मी खत्री आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

माइती पक्षबाट बुबा डोमबहादुर खत्रीले परिवारका सदस्य मिलेर कुटपिट गरी हत्या गरिएको दावीसहित किटानी जाहेरी दिन बिहीबार इप्रका बुटवल गएका थिए । तर, प्रहरीले जाहेरी लिन इन्कार गरेपछि बिहीबार दिउसो इप्रका बुटवल घेराउ भएको हो ।

स्थानीय महिलाले इप्रका बुटवलको गेटमा प्रदर्शन र नाराबाजीसमेत गरेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले भने मृतककी आमाले यसअघि नै जाहेरी दिइसकेकी र ज्यान मुद्दामा सासूलाई पक्राउ गरी अनुसन्धान जारी रहेकाले किटानी जाहेरी नलिइएको बताए ।

तर, मृतककी भाउजु मधु भुसालले भने मृत्युको अघिल्लो बिहान लक्ष्मी सासूबाट कुटिएर घाइते भएपछि फेसबुकमा जे पनि हुन सक्छ भन्ने लेखेको, सोही दिन राति घरमा रुवाबासी चलेको पाइएकाले किटानी जाहेरी दिन खोज्दा प्रहरीले नलिनु आश्चर्यको विषय भएको बताइन् । ‘किटानी जाहेरी लिएर अनुसन्धान गर्दा के बिग्रन्छ र ?’- मधुले भनिन्-‘प्रहरीको व्यवहारले पीडामाथि थप पीडा थपेको छ ।’

अर्घाखांची गोखुङ्गा माइत भएकी लक्ष्मीको ७ वर्षअघि अमृत खत्रीसँग बिहे भएको थियो । उनकी ६ वर्षकी छोरी छन् । लक्ष्मीको मृत्यु भएपछि रोजगारीका लागि दुबई रहेका अमृत घर फर्केका छन् ।

बिहे गरेको केही महिनापछि देखि सासूले लक्ष्मीमाथि दुर्व्यवहार र दाइजो कम ल्याएको भन्दै कुटपिट गर्ने गरेको माइती पक्षको दावी छ ।

लक्ष्मीको मृत्युलाई शंकास्पद भन्दै माइती पक्षले गहिराईमा पुगेर अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

लक्ष्मीको मृत्यु भएपछि परिवारका सदस्यले माइतीलाई खबर नगरी उनको दराज फोरेर कपडाहरु नजिकैको खोलामा फ्याकिदिएको मृतककी भाउजु भुसालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment