Comments Add Comment

सडक विभाग भन्छ : ढल नबनेसम्म बौद्ध–जोरपाटी सडक पीच हुँदैन

२६ वैशाख, काठमाडौं । बौद्ध–जोरपाटी सडक खण्डका स्थानीय सरकारविरुद्ध आन्दोलन छन् । स्तरोन्नतिका लागि भत्काएर अलपत्र छाडिएका सडकले जनजीवन नै कष्टकर भएपछि उनीहरु आन्दोलित बनेका हुन् । तत्काल सडक कालोपेत्र हुनुपर्ने उनीहरुको माग छ ।

यो आन्दोलनपछि तत्कालै सडक विभागले चाबहिल–साँखु खण्डका कालोपत्रेका लागि तात्छ त ? विभागका महानिर्देशक केशवकुमार शर्मा भन्छन्, ‘तत्कालै सडक पिच गर्न सकिने अवस्था छैन, किनभने त्यहाँ ढल फुट्ने समस्या ब्याप्त देखिन्छ । ढल फुटेर पानी बगिहाल्छ, पिच गरेर के अर्थ ?’

सडक विभागका अनुसार हायात होटलभन्दा अघि करिब ५ सय मिटर सडकखण्ड कालोपत्रेका लागि तयारी अवस्थामा छ । सो खण्डमा केही समयअघि पिचका लागि तह मिलाउँदा विभिन्न ठाउँमा ढलहरु फुटेर फोहोर पानी बाहिरियो । त्यसलगत्तै विभागले काठमाडौंमा ढल हेर्ने जिम्मेवारी पाएको केयूकेएललाई गुहार्‍यो ।

तर, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सो खण्डका लागि ढल व्यवस्थापन गर्न एक रुपैयाँ पनि बजेट नभएको भन्दै असमर्थता जाहेर गर्‍यो । त्यसपछि विभागले सडकको ठेकेदारलाई नै पछि ‘हेर्दिने’ आश्वासन दिएर सो ५ सय मिटर खण्डमा ढल हाल्न लगायो ।

यो पनि पढ्नुहोस सरकार ! सडककै कारण बाँच्न गाह्रो भो

‘उसले ढल हालेपछि आगामी सोमबारबाट कालोपत्रे हाल्न थाल्छु भनेको थियो,’ महानिर्देशक शर्माले भने, ‘तर आजै त्यहाँ आन्दोलन सुरु भएछ ।’

शर्माका अनुसार ढलको समस्या यो जोरपाटीसम्मको खण्डमा मात्रै हैन, साँखुसम्म नै छ । अब यो समस्या समाधान आफूले गर्न नसक्ने विभाग बताउँछ ।

‘हिजो मात्रै हाम्रो केयूकेएलसँग बैठक भयो, हामीले यो खण्डमा ढलको समस्या तत्काल हल गरिदिन भन्यौं तर, उहाँहरुले बजेट नभएकाले सकिँदैन भन्नुभएको छ,’ शर्माले भने, ‘अब सडक विभागले ढलको काम त गर्दैन नि ! ढल बगिरहेको ठाउँमा पिच हालेर के काम ?’

उनले स्थानीयले यस्तो समस्या नबुझेको गुनासो गरे । केयूकेएलले पनि यो सडकको समस्यालाई गम्भीर रुपमा नलिँदा समस्या भएको तर्क विभागको छ ।

यो पनि पढ्नुहोस बौद्ध–जोरपाटी सडकमा स्थानीय र प्रहरीबीच झडप

यो खण्डमा अझै विजुलीका पोलहरु पनि सारिएका छैनन् । प्राधिकरणले भने तत्कालै पोल सार्ने प्रतिवद्धता जनाएको विभागले जानकारी दिएको छ ।

सडक विस्तारको ठेक्का लगाउनुअघि नै ढल मर्मतको कुरामा ध्यान किन दिइएन त ? भन्ने प्रश्नमा महानिर्देशक शार्मले भने, ‘त्यतिबेला ढलहरुमा समस्या आएको थिएन । यो ठेक्कामा ढलको मर्मतको काम जोडिएको छैन ।’

उनले यो सडक खण्डमा १० वर्षदेखि समस्या रहेको स्वीकार्दै सबै पक्षबीच समन्वय र सहकार्य गरेर काम गर्दा मात्रै समाधान निस्कने बताए ।

केयूकेएलका प्रवक्ता प्रकाशकुमार राई पनि ढल सम्बन्धी ठूलो काम गर्न आर्थिक वर्षको अन्त्यमा कम्पनीको भैपरी आउने बजेटले नभ्याउने बताउँछन् । उनका अनुसार यस्तो काम गर्न आवको सुरुमै वार्षिक कार्यक्रममै यस्तो योजनालाई बजेट छुट्याउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment