Comments Add Comment

वयोवृद्ध जनप्रतिनिधि भन्छन्- प्रदेश सरकारले पोखरी हडप्न खोज्यो

३१ वैशाख, सप्तरी । राजविराज नगरपालिका- १३ बिषहरियाका राजेन्द्रप्रसाद यादव वयोवृद्ध उमेरमा वडाध्यक्षको जिम्मेवारी पूरा गरिरहेका छन्, त्यो पनि सबैको चित्त बुझ्दो गरी । जहिल्यै हाँसेरै बोल्ने नानीदेखिको बानीमा पनि कुनै कमी आउन दिएका छैनन्, उनले ।

यो उमेरमा लाठी अवश्य उनको हातमा आएको छ, तर शारीरिक अवस्था र स्फूर्तिले यादवलाई पूरा साथ दिएको छ । नागरिकताअनुसार उनको जन्ममिति वि. सं. १९९९ जेठ ४ छ तर, यादव भने १९९० को भूकम्प आउँदा आफू झण्डै २० वर्षको भएको बताउँछन् ।

यो उमेरमा पनि गाउँलेहरुको मायाले वडा हाँकेको र शरीरले साथ दिए अर्को कार्यकाल पनि भ्याउन बेर नमान्ने उनले बताए ।

‘वडाभरमा बिहान सबभन्दा छिटो उठ्न अहिले पनि म नै हो’, फूर्तिला यादवले भने, ‘नीत्य कर्म सकेर सुतेकालाई जगाउँदै टोल र खानापछि गाउँभरका घरघरै पुगेर समस्या के छ बुझ्छु । त्यसैले जनताले मलाई पत्याएका हुन् ।’

नेपालमा जुनसुकै तहको होस्, चुनाव अत्यन्त महंगो भएको भन्दै वुद्धिजीविहरुले चिन्ता व्यक्त गरेका छन् ।

२ असोज २०७४ मा भएको स्थानीय तह निर्वाचनमा कतिपय वडा सदस्यको उमेद्वारले नै करोड हाराहारी खर्च गरेको समाचाहरु आएका थिए । त्यो निर्वाचनमा सम्भवतः सबभन्दा कम खर्चमा निर्वाचित हुने जनप्रतिनिधिमा पर्छन्, राजेन्द्र प्रसाद यादव । सम्भवतः देशभरकै ज्येष्ट जनप्रतिनिधि पनि उनै हुन् ।

चुनावमा केही दिन चार चक्का कुदाउँदा कुल ५० हजार नगद र खट्नेहरुलाई खुवाउँदा चिउरा र चामल गरी २५ मन खर्च भएको उनले बताए । ‘जम्मा खर्च त्यत्ती नै भयो, त्यसमा पनि चामल र च्युरा त घरकै हो’, उनले भने, ‘मलाई जनताले मन पराएर जिताएका हुन् ।’

यादव ३४१ मतका विरुद्व ३६५ मत ल्याएर वडा अध्यक्षमा विजयी बनेका हुन् ।

रविन हूडपछि राजनीतिकर्मी

यादवले युवाकालको केही वर्ष रविन हुडको शैलीमा बिताए । अंग्रेजी लोक कथाका सुप्रसिद्ध पात्र  हुड शोषक-सामान्तको सम्पत्ती लुटेर गरीबहरुलाई बाँड्थे । डाका घोषित उनी गरीबजनबीच अत्यन्तै लोकप्रिय थिए ।

यादवले युवा जोसमा जमिन्दार लुटेर गरीबहरुलाई बाँड्दा रबिन हुडबारे केही सुनेका थिएनन्, अहिले पनि छैन ।

तर, उनले रविन हूडले जस्तै गरेका थिए । ‘म अहिले जनप्रतिनिधी भएको छु, पंचायत कालमा पनि धेरै पटक भएँ’, रहष्य खोल्दै उनले भन्छन्, ‘तर, पंचायत कालमा मलाई जमिन्दारहरुले डाका प्रधानपञ्ज भयो भन्थे ।’

उनका अनुसार, २०१८ सालतिर गाउँमा जमिन्दारहरुको जगजगी राणाकालमै जस्तो हुन थाल्यो । २००७ सालमा प्रजातन्त्र आएपछि हच्केका उनीहरुले फेरी गरिबमाथि अचाक्ली गर्न थाले । गरीबका छोरीबुहारीको इज्जत लुट्नेसम्मका अत्याचार गरेर उल्टै बन्दुक देखाउने गर्न थालेपछि आफ्नो खुन उम्लेको यादबले बताए ।

‘त्यसपछि मैले गोप्य रुपमा केही साथी मिलाएर जमिन्दारबिरुद्ध लड्ने शंकल्प गरेँ’, उनी भन्छन्, ‘त्यसको केही समयपछि भारतबाट पाँच थान बन्दुक ल्याएर जो अत्याचारी हो उसको अनाज लुटेर गाउँमा बाड्न थाल्यौं । उसले एउटा बन्दुक देखाउँदा हामी पाँच वटा देखाउँथ्यौं ।’

लुट्यो, बाँड्यो गर्ने कामले राजेन्द्रप्रसाद यादबलाई गरीबहरुबीच नायक बनायो । जमिन्दारबिरुद्ध लडन सहयोग गर्नेहरु थपिँदै गए । ‘काम गलत भए पनि हाम्रो समूहको भावनामा खोट थिएन’, उनी भन्छन्, ‘त्यसैले जमिन्दारहरुले केही गर्न सकेनन्, उनीहरु रोकिएपछि हामी पनि रोकियौं ।’

अनि २०२२ सालमा यादव तत्कालीन बिषहरिया गाउँ पञ्चायतको उप-प्रधानपन्च चुनिए । त्यसको ६ महिनामै प्रधानपञ्च बच्चुलाल देवले राजीनामा गरेपछि उनी कार्यबाहक प्रधानपञ्च बने । २०२४ सालमा उनी प्रधानपञ्चमै विजयी भए ।

‘बीचमा हारेँ’, सहज र रमाइलो पारामा उनी भन्छन्, ‘फेरि प्रधानपञ्च जित्न मैले २०३९ सालसम्म पर्खनु पर्‍यो ।’

दल बदलको शृङ्खला

२०४६ सालमा प्रजातन्त्र बहाली भएपछि आफ्नै हिसाबले समाज सेवा गर्दै बसे पनि धेरै समय स्वतन्त्र रहन नपाएको यादव बताउँछन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेर २०५० सालसम्म त्यसैमा रहे ।

२०५० सालमा राप्रपा छाडेका यादवलाई २०५४ को स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेले बिषहरिया गाविस अध्यक्षमा उम्मेदवार बनायो, तर जित्न सकेनन् । ‘म एमाले बनेको गाउँलेहरुले मन पराएनन्’, यादव भन्छन्, ‘त्यसपछि लामो समय निर्वाचन भएन म पनि एमालेमै लागिरहे ।’

२०७४ सालमा त तराई-मधेशभर नै एमाले विरोधी माहोल बन्यो । सप्तरीमा पनि एमाले विरोधी जनलहर चल्यो । त्यसपछि संघीय समाजवादी फोरम, नेपाल प्रवेश गरेका यादजव राजविराज- १३ बिषहरियाका वडा अध्यक्ष निर्वाचित भए ।

मोवाइल फोन ‘रिसिभ’ गर्न मात्रै

राजेन्द्रप्रसाद यादव जन्मेको, हुर्केको समयको सप्तरी जमिन्दारी प्रथामा जकडिएको थियो । पढाई लेखाई भन्ने कुरा ठुल्ठुला जमिन्दार परिवारमा सिमित थियो । ‘त्यसकारण, पढाई लेखाई केही छैन मेरो,’ यादब भन्छन्, ‘हातले सही गर्न चाही सानैमा सिकेको हुँ ।’

त्यती चाही जमिन्दारहरुले आफ्ना छोराहरु पढाउन भारतबाट ल्याएर गाउँमा राखेका हेमनारायणजीले बालुवामा कोर्न लगाएर सिकाएको उनले बताए । उनी अप्ठ्यारो गरी कलम समाउँदै अच्छा ढंगले दस्तखत गर्छन्, तर गोजीमै बोकेर हिड्ने मोवाइलका अक्षर चिन्दैनन्, चलाउन जान्दैनन् ।

‘जमानाको जरुरतले मोवाइल चलाउन परेको छ’, उनी भन्छन्, ‘फोन आउँदा आफैं उठाउँछु, गर्नु पर्दा अरुको सहयोग लिन्छु ।’

‘कमाउन जनप्रतिनिधि भएको होइन’

बयोबृद्व वडा अध्यक्ष राजेन्द्र यादवले आफूले बनाएको वा अनुगमन गरेको कुनै पनि योजना खराब नहुने सुनाए । ‘गत वर्षको सबै योजना पूरा भएको छ’, उनले भने, ‘यो वर्ष चालु योजनाहरु पनि कुनै हालतमा समयमै पूरा हुन्छ, फेल हुँदैन ।’

सम्बन्धित सबैलाई जनाएर, उनीहरुसँग छलफल गरेर योजना बनाएपछि अनि आफूले दैनिक अनुगमन गरेपछि योजना पुरा नहुने कुरै नआउने उनले बताए । उनी नगरपालिकाले वडा अध्यक्षहरुलाई उपलब्ध गराएको मोटरसाइकलको पछाडि बसेर अनुगमनमा दौडने गरेका छन् ।

‘योजना बनाउने वा अनुगमन गर्नेलाई लोभ भयो भने काममा खराबी गर्छन्, मलाई त्यस्तो कुनै लोभ छैन’, उनी भन्छन्, ‘मसँग आफ्नै सातबिघा उब्जाउ जग्गा छ, कमाउन होइन जन सेवा गर्न वडा अध्यक्ष भएको हुँ ।’

जनप्रतिनिधि बन्न खोज्ने हो भने आफुले लिने होइन, सकेसम्म समाजलाई केही दिने भावना बोकेर हिड्नुपर्ने यादव बताउँछन् । गाउँमा बाटो, मन्दिर र विद्यालयहरु बनाउँदा आफूले त्यही गरेको उनले बताए ।

‘कुनै हालतमा पोखरी हडप्न दिन्न’

अहिले संघमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार छ भने प्रदेश २ मा समाजवादी पार्टी नेतृत्वको । सरकारले गलत गर्दा सम्बन्धित दलका नेता-कार्यकर्ता ढाकछोप गर्न खोज्छन् । तर वडा अध्यक्ष राजेन्द्रप्रसाद यादव भन्छन्, ‘प्रदेश सरकारले पोखरी हडप्न खोजेको छ, म यो कदापी हुन दिन्नँ ।’

उनका अनुसार, २०२८ सालको नापीमा कर्मचारीहरुले बिषहरिया गाउँ पञ्चायतका अधिकांशको पोखरी ननापी दिएपनि आ-आफ्नो पोखरी भोगचलन गर्दै आए । ‘प्रदेश सरकारले माछा पालनको नाममा ति पोखरी हडप्ने होइन’, यादव भन्छन्, ‘सम्बन्धित व्यक्तिको नाममा दर्ताको पहल गर्ने हो ।’

आफूलाई वडा अध्यक्षको टिकट दिने दलको नेतृत्वमा रहेको प्रदेश सरकारको ताल हेर्दा उनलाई अर्को कार्यकाल पनि यो पद लिनुपर्ने हो कि भन्ने लागेको छ । ‘पुराना पोखरीहरु जोगाउन प्रदेश सरकारसँग लामै लडाइँ चल्ला जस्तो देख्दैछु’, उनले हँसाए ।

मुहारमा मुस्कान, मनमा उदाशी

राजेन्द्रप्रसाद यादवले ज्यादै कम मानवलाई नसिव हुने आयु पाए । उनीसँग अनाजले भरिएको खेत-खलिहान र सन्तानले भरिएको घर-आगन छ । त्यो सँगै हातभरी समाजिक काम र गाउँभरी मानसम्मान छ । केवल जीवनभरको संगीनी छैनन्, जसले उनलाई यहाँसम्म ल्याइन् ।

‘मलाई चुनाव जिताएर पोहोर वैशाखमा उनी स्वर्गवास भइन्’, वयोवृद्व यादव एकाएक उदास बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment