Comments Add Comment

अष्ट्रेलियाको जागिर छाडेर मिस नेपालको ताज

अनुष्का भन्छिन्- देशका लागि केही गर्न चाहन्छु

२७ वैशाख, काठमाडौं । यस वर्ष मिस नेपालको ताज पहिरिने अनुष्का श्रेष्ठको पहिचान केवल सौन्दर्यसँग मात्र जोडिएको छैन, विदेशिएको जनशक्तिले अब आफ्नै देशका लागि योगदान गर्नुपर्छ भन्ने सुन्दर भावनासमेत जोडिएको छ ।

बिहीबार बेलुका कीर्तिपुरमा अवस्थित एक स्कुलको ठूलो चौरमा टेन्टले बारेर ‘मिस नेपाल २०१९’को आयोजना भयो । पाँचतारे होटलमा सीमित ‘मिस नेपाल’ प्रतियोगिता यस वर्ष फरक स्थानमा पुगेको थियो ।

यसपटक ‘मिस नेपाल वल्र्ड २०१९’ को अर्को पनि विशेषता थपिएको थियो- मिस नेपालको आयोजना सुरु भएको २५ औं बर्ष अर्थात रजत जयन्ती । यसले गर्दा पनि आयोजकले ठूलो ठाउँमा दर्शकका लागि टिकटको व्यवस्था गर्नुपरेको थियो ।

२५ जना प्रतिस्पर्धीलाई जितेर मिस वल्र्ड नेपालकी विजेता बन्दै गर्दा अनुष्का श्रेष्ठका आँखा खुशीले रसाए । गत वर्षकी मिस नेपाल वल्र्ड २०१८ कि विजेता श्रृङख्ला खतिवडाले क्राउन लगाइदिँदै गर्दा अनुष्कामा हर्षका आँशु छचल्किए ।

आँशु न छचल्किउन् पनि किन ? अष्ट्रेलियामा बैंकको आकर्षक जागिर त्यागेर अनुष्का देशका लागि केही गर्ने अठोट बोकेर नेपाल छिरेकी थिइन् । मिस वल्र्ड नेपालको ताजले उनलाई अब देशका लागि केही गरेर देखाउने अवसर प्रदान गरेको छ ।

को हुन् अनुष्का ?

काठमाडाैंमा जन्मिएकी अनुष्का श्रेष्ठ पाँच वर्ष अगाडि उच्च शिक्षा हासिल गर्नका लागि अष्ट्रेलिया पुगेकी थिइन् ।

अष्ट्रेलियामा रहँदा पनि उनले आफ्नो प्रतिभालाई प्रष्फुटन गर्नका लागि कुनै असर बाँकी राखिनन् । २३ वर्षकी अनुष्काले सन् २०१८ को मिस नेपाल ओसिनियाको उपाधिसमेत जितेकी थिइन् ।

अनुष्का अष्ट्रेलियामा त्यहाँको नम्बर १ मानिने कमनवेल्थ बैंकको जागिरे थिइन् । तर, उनले यो प्रतिस्पर्धामा भाग लिन आउँदा जागिर छाडेकी थिइन् । धेरैले उनलाई यति राम्रो जागिर फेरि पाउन मुश्किल हुने भएकाले मिस नेपालमा सहभागी नहुन आग्रहसमेत गरेका थिए ।

तर, अनुष्काका लागि बैंकको जागिर भन्दा मिस नेपालको विजेता बन्ने हुटहुटी विशेष थियो । त्यसैले उनी नेपाल आइन् र नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतिस्पर्धा जितिन् ।

अष्ट्रेलियाको क्याथोलिक युनिभर्सिटीमा स्नातक अध्ययन पूरा गरेकी ५ फिट ४ इन्च अग्ली यी सुन्दरीले अब डिसेम्बरको ७ मा आयोजना हुन लागेको ‘मिस वर्ल्ड ‘को प्रतिस्पर्धामा आफूलाई सहभागी गराउनेछिन् ।

‘मिस नेपाल २०१९’मा सहभागी हुन नेपाल आउनु अघि अष्ट्रेलियामा पत्रकारसँग कुराकानी गर्दै अनुष्काले आफू नेपाल गएर सामाजिक सेवामा लाग्ने बताएकी थिइन् ।
अष्ट्रेलियाबाट अनुष्काले भनेकी थिइन्- ‘विदेशमा बस्ने मानिसहरुलाई एउटा आरोप के छ भने, हामी नेपाल नेपाल भन्दै कराउँछौ, तर देशका लागि केही पनि गर्दैनाैं । म नेपालमा गएर सैद्धान्तिक रुपमा मात्र होइन, व्यवहारिक रुपमा नै काम गर्न चाहन्छु ।’

अनुष्काले यो पनि भनेकी थिइन्- ‘अष्ट्रेलियामा बसेर हामीले नेपालका विभिन्न स्थानका समस्या सुनेका छौं, बुझेका छैनांै । तर, म मिस नेपालको विजेता बने पनि नबने पनि ती स्थानमा पुगेर काम गर्न चाहन्छु ।’

अनुष्काले नेपालका विभिन्न स्थानमा पुगेर गर्न चाहेको समाजसेवामा अब उनले पाएको ताजले झनै ठूलो मद्दत गर्नेछ ।

अनुष्कालाई चुनौती

अनुष्काले मिस नेपाल वर्ल्ड २०१९ को ताज जितेर सबैको नजरमा परिरहँदा उनीमाथि चुनौतीका पहाड पनि छन् ।

गत वर्ष मिस वर्ल्डमा सहभागी हुन पुगेकी श्रृङ्खला खतिवडाले २ वटा सब-टाइलट जितेर मिस वर्ल्डमा नेपालीहरुको बलियो उपस्थितिको छनक दिएकी थिइन् । श्रृङ्खलाले पाएको त्यो सफलता र उनको चर्चाका पछाडि राजनीतिक पृष्ठभूमि जोडिएको चर्चा पनि भयो । तर, श्रृङ्खलाले त्यसबेला भनेकी थिइन्, ‘अब, मिस नेपालका आउँदा विजेतालाई मिस वर्ल्डमा पुग्न सहज भएको छ । हामीले त्यो बाटो खोलिदिएका छौं कि अब उनीहरुलाई नेपाल के हो भनेर चिनाइराख्नुपर्दैन ।’

श्रृङ्खलाले बोलेको त्यो कुरा अब अनुष्काका लागि चुनौती हो । किनकि, मिस नेपालले मिस वर्ल्डबाट त्यस्तो ठूलो सफलता नपाइरहेको अवस्थामा श्रृङ्खलाले केही आशा जगाएकी छिन् । अनुष्काले अब त्यसलाई जोगाउनु त छँदैछ, झनै ठूलो सफलता पाउन आवश्यक छ ।

त्यसैले, मिस नेपाल वर्ल्डको क्राउन लगाएर खुशी साटिरहेकी अनुष्काका लागि चुनौतीको पहाड पनि सँगसँगै खडा भएको छ । डिसेम्बरमा हुने मिस वर्ल्डमा अनुष्काले त्यो पहाड फोड्न सक्लिन् ? प्रतिक्षा गराैं ।

मिस नेपालको प्रतिस्पर्धाको यो पाटो आफ्नो ठाउँमा छँदैछ । तर, विदेशमा पढेर उहीँ आकर्षक जागिर खाइरहेकी अनुष्कामा स्वदेश फर्केर देशका लागि केही गर्ने जुन अठोट पलाएको छ, यो चाहिँ युवा पुस्ताका लागि थप प्रेरणाको विषय हो ।

यो पनि पढ्नुहोस अनुष्का बनिन् ‘मिस नेपाल वर्ल्ड–२०१९’को विजेता(फोटो फिचरसहित)

आफूले गरेको प्रतिज्ञाअनुसार अब अनुष्का अब स्वदेशका कुना कन्दरातिर फर्किइन् भने पक्कै पनि यसले मुलुकलाई बस्न लायक बनाउने छ र युवाहरुको विदेश पलायनलाई निरुत्साहित गर्ने छ ।

अनुष्काले विहीबार मिस नेपाल वर्ल्ड २०१९ को ताज जितेपछि मिस नेपाल ओसिनियाकी आयोजक भूमा लिम्बु खुशी भएकी छिन् । लिम्बूले अष्ट्रेलियाबाट आफूहरुले पठाएको प्रतिनिधिले मिस नेपाल वर्ल्ड  जितेको भन्दै खुशी व्यक्त गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment