Comments Add Comment

त्रिविको जागिर नातेदारलाई, अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी

२९ वैशाख, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषयलाई प्राथमिकतापूर्वक छापेका छन् । कुनैले त्रिवि सेवा आयोगले लिएको परीक्षाबारे चासो राखेका छन् भने केहीले तातोपानी नाका, मिडिया विधेयक, ललितानिवास जग्गा खरीद प्रकरणलगायत विषयमाथि चर्चा गरेका छन् ।

कान्तिपुरले ‘त्रिविको जागिर नातेदारलाई’ शीर्षक दिएर त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले लिएको परीक्षाबारे मुख्य समाचार लेखेको छ । कान्तिपुरका अनुसार, त्रिवि सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ–संगठन र नेताका नातेदारहरुको नाम निस्किएको छ ।

स्रोतको हवाला दिँदै कान्तिपुर लेख्छ– त्रिवि सेवा आयोग अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिष्टार चन्द्रमणि पौडेल, अनुगमन शाखाका प्रमुख विष्णुप्रसाद खनाललगायत उच्च पदाधिकारीका नातेदार परीक्षामा सफल भएका छन् ।

लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा यसबारे उजुरी परेको समाचारमा उल्लेख छ । त्रिविका कर्मचारी, संघ–संगठन र परीक्षामा सहभागी केही विद्यार्थीले आयोग, केन्द्र, कूलपति, उपकूलपति कार्यालयलगायत त्रिविकै विभिन्न निकायमा उजुरी दिएका छन् ।

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको तीव्र विरोध भएको अर्को खबर पनि कान्तिपुरमा छ । मिडियालाई संकुचित गर्ने गरी विधेयक अघि बढाइएपछि नेपाल पत्रकार महासंघलगायतका सरोकारवालाहरु विरोधमा उत्रिएका छन् ।

ललितानिवास जग्गा खरीद अनियमितताको विषय पनि कान्तिपुरको पहिलो पृष्ठमा छ । कान्तिपुरका अनुसार बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा उच्च पदस्थ सरकारी अधिकारीहरु नै नक्कली मोही र कीर्ते कागजात बनाउने क्रममा संलग्न रहेको भेटिएको छ । उनीहरुले मोही नै नलाग्ने जग्गामा मोही खडा गरेको र सरकारी हुनुपर्ने बाँकी जग्गासमेत व्यक्तिका नाममा दर्ता गरेको समाचारमा उल्लेख छ ।

अन्नपूर्णको नजर तातोपानी नाकामाथि परेको छ । ‘तातोपानी नाका मालवाहक सवारीका लागि’ शीर्षक समाचारमा अन्नपूर्णले लेखेको छ– नेपाल र चीन जोड्ने पुरानो नाका तातोपानी भेहिकल मुभमेन्ट मात्र गर्न पाउने सर्तमा खुला हुने भएको छ । तीन सातापछि उक्त नाका खखोल्ने तयारी भए पनि त्यो स्वभाविक रुपमा सञ्चालन हुन भने थप तीन महिना लाग्नेछ ।

नेपालगञ्जमा लु देखिएको, नेपालमै रोबर्टले कार्यक्रम चलाएकोलगायत खबर अन्नपूर्णको पहिलो पृष्ठमा छ ।

नयाँ पत्रिकाले काजकिरिया नगरेको आरोपमा गाउँनिकालामा परेका बाराका एक परिवारबारे मुख्य समाचार बनाएको छ । विज्ञान संग्रहालय स्थापनालाई पनि नयाँ पत्रिकाले महत्त्वका साथ कभरेज गरेको छ । सरकारले पहल थालेको २५ वर्षपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा देशकै पहिलो विज्ञान संग्रहालय खुलेको हो ।

ललितानिवास जग्गाको विषय आज पनि नागरिकको पहिलो प्राथमिकतामा परेको छ । नागरिकका अनुसार भूमाफियाले यो जग्गा धितो राखेर सवा २ अर्ब ऋण लिएका छन् । उपभोक्ता समिति बेथिति तथा आमसञ्चार विधेयकबारे पनि नागरिकले आज चर्चा गरेको छ ।

जैविक विषादीमा किसानको आकर्षण बढेको निष्कर्ष गोरखापत्रले निकालेको छ भने राजधानीमा न्यायालयका विचौलियाबारेको एक सामग्री छापिएको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका पहिलो पृष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment