Comments Add Comment

कथाः युद्ध मैदानको बकपत्र

त्यो समय । जति बेला यस्तो थियो की, त्यसको बारेमा मान्छेले अहिले कल्पनासम्म गर्न सक्दैनन् । एउटा यस्तो समय थियो, यसरी बोल्नलाई त के सोच्न पनि गाह्रो थियो ।

त्यो दिन… । ऊ अहिले पनि सम्झन्छ । ट्याक्सीको हुटमा चढेर भेट्न गएको । ऊ त्यस दिन पसलमै रहिछ ।

उफ्… अहिले जस्तो भएको भए…

त्यो कस्तो समय ? कस्तो बिगत ? यो कस्तो वर्तमान ? यो कस्तोे आगत ?

एक आपसमा तुलना गरेर साध्ये छैन ।

त्यो उमेर…त्यो जवानी…। र, यो अबस्था…यो परिबेश…

बिछट्टको छ जीवन । कति धेरै अन्तर ? कत्रो ठूलो खाडल ? कति धेरै असमानता ? मान्छेको सोचमा । मान्छेको हेराइमा । र, मान्छेको भोगाइमा । कति अस्प्रष्टता ? कति अन्योलता ? कति धेरै परिवर्तन ? कति कति…? अरु पनिदेखेर मात्र हुन्न । लेखकै हुनुु पर्छ भनेको त्यसै कहाँ हो रैछ र ? आज बल्ल उसले कुरा बुुझ्यो । कुरा बुझ्नु नै ठूलो कुरा रहेछ । अनेकले अनेक भन्छन् । तर, जीवन भनेको कुरा बुझ्नु रहेछ । अहिले आएर बल्ल महसुस भयो । कुरा नै ठूलो सम्पत्ति रहेछ ।

आज त्यसै भनेको होइन रहेछ । हो, मान्छेहरुले कुराको बलमा ठूल्ठूला उन्नती र प्रगति गरेका छन् । त्यही कुरा रोपेर खाएका छन् मान्छेले । त्यही कुराको बेर्ना उमारेर ब्याड लगाएका छन् । र, त्यसै कुरामा मलजल गरेर बाँचेका छन् त मान्छेहरु ।

***

कति कठिन थिए ती दिनहरु आज फेरि सम्झना आउँछ, झलल बिजुली बत्ती बले झैं । एउटा ब्यक्तिको मात्र के कुरा र ? सिंगो मुलुक नै एउटा कठिन मोडमा पुगेको महसुस हुन्थ्यो । किनभने मर्ने र मार्नेको खेलमा मुलुक रुमल्लिएको थियो ।

आज फेरि पल्लो गाउँसम्म सेना आए रे ।

उसले सोच्यो, धन्न यता चै आएनछन् । नत्र बेकारमा भिडन्त निम्तिन्थ्यो ।

अस्ती नै पनि त्यस्तै भा । सेनाले अलिकती होस् नगरेको भए अर्को बिनास हुन्थ्यो ।
गत बर्षको कुरा गरिसाध्ये छैन ।

‘के हामी शोकमग्न यात्रीहरु हौं र ? त्यस दिन बेकारमा झण्डै घानमा परियो । मृत्युको भोग नपुगेर मात्र बाँचेको मान्छे हुँ म । मृत्युले चाहेर मात्र नुहुँदो रहेछ, नियतिले पनि बँचाउदो रहेछ । परिबेशले पनि जगाउँदो रहेछ ।

‘त्यस रात हाम्रो क्याम्पमा रातभर जसो भिडन्त भयो । सँगैका १३ जनालाई बिहानै खोल्सीमा लगेर खाडलमा पुर्ने मान्छे मै हुँ । आज पनि कहिले काहीँ त्यो दिनले झस्काउँछ । कहिलेकाहीँ सपनाले ब्यूँझाउछ ।

‘हो, हामीले हिंसा रोप्यौं । तर, हामीले शान्ति चाहेका हौं । हिंसालाई प्राथमिकता दिने हाम्रो अभिप्राय थिएन । हामी दीगो शान्तिको पक्षमा थियौं । हो, हामीले मुर्दा शान्ति खोजेका थिएनौं । हामी नयाँ नेपाल बनाउन चाहन्थ्यौ । नयाँ नेपाल मार्फत मुलुकको समृद्धि र समुन्नती चाहन्थ्यौं । त्यही भएर त हामीले पूराना संरचना भत्कायौं । नयाँ बन्न पनि दिएनौं । किनभने हामी हाम्रो आधार इलाकामा कोही पनि दुस्मन आउन् भन्ने चाहदैनथ्यौं । त्यही भएर हामीले गाउँमा छुट्टै सरकार बनायौं । आफै कर उठायौं र आफै खर्च गर्न थाल्यौं । स्कुलमा पढ्न दिएनौं । त्यहाँ क्याम्प खडा गर्यों । बम र बन्दुक राख्यौं ।’

‘युद्ध मैदानमा ओर्लिएको सिपाईको के भर थियो र ? त्यतिबेला को बाँच्यो, को मर्यो कसको ठेगान थियो र ?’

‘म आफै नमरेर बाँचेको मान्छे हुँ । अनि तिमी सोध्छ्यौ ? कहाँ हराएका थियौ भनेर …’

‘हो, म यतै कतै थिएँ । मेरै देशमै । एउटा युद्धको घाउ बाकेर हिँडिरहेको यात्री झैं बनेर रुमल्लिएको थिएँ । तिमीलाई थाहा छ ? आज मेरो शरिरभरि गोलीका छर्रा रोपिएका छन् भन्ने कुरा ?’

‘हो, मैले अघि नै भनिँसके नी । म धेरै पटक मरेर बाँचेको मान्छे हुँ । तिमीले आज मलाई किन बोल्दैनौ भन्दा मैले के जवाफ दिन सक्थें र ? तिमीले यतिन्जेल कहाँ हराएका थियौ भन्दा म के भन्न सक्थें ? म त्यस प्रश्नको उत्तर कुन रुपले दिन सक्थे र ? किनभने म त तिम्रो त्यो रुप र जवानीलाई पनि लात मारेर भागेको मान्छे हुँ । ’

‘हो, म यही मान्छे हुँ, जसलाई तिमी आफ्नो बनाउन चाहन्थ्यौ । मनमा मस्तिस्कमा सजाउन चाहन्थ्यौ । तर, म त्यही मान्छे हुँ, जसले यो मुलुकको भाग्य र भबिस्यको ठेक्का लिएर हिडेको थियो । मुलुकमा बिद्यमान तमाम खाले बिकृति र बिसंगतीको अन्त्यका लागि कम्मर कसेर लागेको मान्छे हुँ । सत्ता बन्दुको नालबाट आउँछ भन्ने हाम्रो मान्यता थियो । हामी लडेरै बाँच्न चान्थ्यौं । बाँच्नु र मर्नु त एउटा नियतीको खेल मात्र हो । हामी त आफ्ना लागि भन्दा पनि धेरै अरुकै लागि बाँचेका थिर्यौ । ’

‘आज आएर तिमी मलाई हजुर कता ? भनेर सोध्छौ । त्यही भएर त म केही बोल्न सक्दिन । म मेरो बिगत कोट्याउनु भन्दा पनि बिर्सन चाहन्छु । कसैले ती दिनका प्रसंग कोट्यायो भने मेरो मस्तिष्क रन्थनिन्छ । शरिर थर्थरी काम्न थाल्छ । किनभने मेरो बिगतले मलाई नराम्ररी ठगेको छ । मलाई त्यो कालखण्डले नमिठो गरी हेपेको छ । ती दिनहरु मेरा शरिरमा काँडा सरी बिजेका छन् । जरा सरी फिजारिएका छन् । रुखका हाँगा सरी फैलिएका छन् । त्यो भन्दा पनि मेरो शरिर नै सुरक्षा निकायका लागि परेड खेल्ने मैदान बनेको कहाली लाग्दो दृश्य सम्झदा म अझैपनि रन्थनिन्छु । ’

‘अनी आज आएर आफ्नो वर्तमानलाई नियाल्छु र मनमनै सोच्छु, मैले देश र जनताका लागि बन्दुक बोकेर के गरें ? ठीक गरें या बेठीक ?’

‘जव मेरो देशले राजतन्त्रका बिरुद्ध आवाज निकाल्यो । सडक ततायो । गणतन्त्र ल्यायो । संबिधान पायो । तीन तहको सरकार पायो । तव लाग्छ, मैले ठीक गरेको रहेछ । तर, जव म घर पुग्छु र घर परिवारको कचकच सुन्न थाल्छु । तैले केही गर्न सकिनस् भनेर गाली गरेको सुन्दा फेरि लाग्छ, मैले बन्दुक बोकेर गलत गरेछु । ’

‘त्यतिबेला तिमीले मलाई नबोलेको आरोप लगाउँदा म के जवाफ दिउँ । तिमी आँफै भन त … त्यति बेला मैले दिने जवाफले तिम्रो चित्त बुझाउँथ्यो होला र ? म आँफै अन्तरसंघर्षमा रुमल्लिएको बेला मैले प्रकट गर्ने भावनाले तिमीलाई शान्त राख्न मद्दत गथ्र्यो र ?’

‘हो, तिमीले मेरा लागि धेरै बसन्त ऋतुहरु खेर फाल्यौ । धेरै रातहरु त्यसै बितायौ, चिसा रातहरु । संभावनाका धेरै ढोकाहरु बन्द गर्यौ । पढाई अधुरो बनायौ । यौवनका झर्झराउँदो समयलाई खेर फाल्यौ । जीवनका अनन्त संभावनाहरुलाई लात मार्यौ । मलाई राम्ररी थाहा छ । ’

‘अनी फेरि तिमी आज नबोलेकोमा दुःख मान्छ्यौ ? तिमीले त म नबोलेकोमा त खुशी मान्नु पर्ने हो । किनकी म तिम्रा लागि बरदान बन्न सकिन । बरु अभिशाप बनें ।’

‘एउटा समय थिया । जतिबेला म युद्ध मैदानबाट फर्किएर आउँन सक्थें । तर, मैले त्यतिबेला यही नै सही हो भन्ने ठाँने । जव बिस्तारै त्यो कालरात्री भोग्न थालें, त्यतिबेला म त्यहाँबाट आउन सक्ने अबस्था बनेन । तिमीलाई थाहा थिएन ? हाम्रा लडाकु श्रीमति, छोरा छोरी र आफन्त भेट्न आउँदा मारिएका ? के म त्यस स्थितीमा घर आउन सक्थें ? के म तिमीलाई भेट्न आउन सक्थें र ? शायद तिमीलाई थाहा छैन होला । युद्धको पीडा कतिसम्म भयानक र दर्दनाक हुन्छ भन्ने ।’

***

‘तिमी आज जुन ठाउँमा छौ । त्यो एकदमै ठीक छ । किनभने कुनै न कुनै दिन कसैको बन्नु नै थियो । समसेकम मेरो जस्तो अन्योलको जीवन बिताउनु त परेन’, उसले कुरा झिक्यो ।
तर, आज उसले बोल्न दिइन ।

भनी, ‘भो अब हजुर धेर नबोल्नुस् । के हजुरलाई थाहा छ ? म आज कुन अबस्थामा छु भन्नेकुरा ।

ऊ बोल्दै गई …।  भनी, ‘हजुर युद्ध मैदानमा गए पछि मैले बिहे नगरी बसेको छु । आजसम्म पनि म त्यही रुप मै छु । जुन परिस्थितीबाट म गुज्रिएँ, हजुरलाई के थाहा छ ?’

‘म यो कुरा पहिल्यै भन्न चाहन्थें । तर, हजुरले म्यासेजको रिप्लाई नै नगरे पछि केही भन्न सकिँन । त्यसकारण म आज पनि हजुर प्रति उही भावना बोकेर बसेकी छु । ’

उही सद्भाव र समर्पण छ, मेरो हजुर प्रति…

(बिर्तामोड, झापाका पत्रकार सिग्देलको प्रकाशोन्मुख कथा संग्रह मनोनेटबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment