Comments Add Comment

‘जात्रै जात्रा’ निर्देशक भट्टराई भन्छन्–‘कमेडी भन्नु र बन्नुमा फरक छ’

‘दर्शकको प्रतिक्रियाले निर्माण भएको जात्रै जात्रा’

चलचित्र ‘जात्रा’ निर्माण हुँदै गर्दा यसको सिक्वेल पनि बन्छ भन्ने सोच यसको निर्माणपक्षलाई आएको थिएन । केही नयाँ गर्ने सोचले निर्देशक प्रदीप भट्टराई र उनको टिम मिलेर ‘जात्रा’ निर्माण गरेका थिए । रिलिजपछि ‘जात्रा’लाई निकै रुचाइयो ।

पहिलो दिन, पहिलो शो हेरेर निस्किएका दर्शकले नै ‘जात्रा’को दोस्रो भागको माग गरे । धेरैले भनेका थिए, ‘चलचित्रमा त्यो २ करोड ८० लाख कसरी नक्कली भयो ? यसको त अर्को भाग बन्नुपर्छ ।’ दर्शकको यो मागलाई निर्माण टिमले खासै वास्ता गरेका थिएनन् । निर्देशक भट्टराई भन्छन्–‘हामीले सिक्वेल बनाउने ठाउँ छोडेका छौ जस्तो पनि लागेको थिएनँ । त्यसैले, त्यसमा खासै मन डुलाएका थिएनौँ ।’

जब चलचित्र युट्युबमा रिलिज भयो, चलचित्र हेरेका प्रायस् दर्शकले दोस्रो भाग चाहियो भन्ने प्रतिक्रिया दिए । प्रदीपले भने,–‘हलमा त सिमित मान्छेले भन्नुभएको थियो । युट्युबमा हेरेपछि त थामिनसक्नु नै भयो । त्यसैले हामी टिममा बसेर केही गर्न सकिन्छ कि भनेर सोच बनाउन थाल्यौँ ।’

उनीहरु बसेर केही आइडियाहरु बनाए । कतिपय लेखे, केही संवाद सोही समयमा पनि कोरियो । तर, उनीहरु लेख्दै च्यात्दै गर्थे । कारण, उनीहरुलाई आफ्नो आइडियामा चित्त बुझेन । पछि बल्ल एक आइडियामा टिम पूर्ण रुपमा सहमत भयो । प्रदीप भन्छन्–‘हो यस्तो हुन सक्छ है । दर्शकले पनि यसलाई स्विकार गर्नुहुन्छ भन्ने लागेपछि बल्ल त्यसमा वर्कआउट सुरु गरिएको थियो ।’

निर्देशकका अनुसार यो चलचित्रमा ‘जात्रा’मा नक्कली भएको २ करोड ८० लाखको रहस्यलाई प्रष्ट पारिएको छ । उनी भन्छन्–‘यी दुई चलचित्रलाई जोडेपछि मात्र एक पूर्ण चलचित्र बनेको जस्तो हुन्छ ।’

चुनौतीपूर्ण सिक्वेल निर्माण
सिक्वेल बनाउँदाको चुनौती के रहेछ ? प्रदीप सुनिए–‘सिक्वेल आफैँमा चुनौतीपूर्ण काम हो । पहिलो चलचित्र हेरेका दर्शकले सिक्वेलमा बढि आश राख्नुहुन्छ । उहाँहरुको अपेक्षा पूरा गर्नु नै मुख्य चुनौती हो । अरु पनि थुप्रै चुनौतीहरु छन् ।’
दर्शकले पूरानो चलचित्र भन्दा बढी आश राख्नाले पनि सिक्वेलहरुले राम्रो प्रतिक्रिया पाइरहेका छैनन् । प्रदीप पनि यही भन्छन् । ‘दर्शकले के बुझ्नुपर्छ भने सिक्वेल पहिलेको चलचित्रको निरन्तरता मात्र हो । यसमा पहिलेको भन्दा माथि वा तल केही हुन्न ।’

‘जात्रै जात्रा’मा ‘जात्रा’कै पात्र र कथालाई निरन्तरता दिइएको छ । तर, कथा बढ्दै जदाँ आउने घटनाक्रम र परिवेश फरक छ । प्रदीप भन्छन्–‘हामीले त्यही पात्रलाई निरन्तरता दिएका छौ । कथा पनि जहाँ सकिएको हो त्यहीबाट सुरु हुन्छ । तर, घटनाक्रम र त्योसँगै प्रवेश हुने खलनायकहरु फरक छन् ।’

कलाकारलाई निरन्तरता दिन पनि सिक्वेलमा समस्या हुने उनले बताए । उनले भने–‘पहिला पो उसले भ्याएन भने अर्को लिउ भन्ने हुन्थ्यो । अहिले त उहाँहरु व्यस्त हुदाँ जति समय कुरेर भए पनि उहाँलाई नै लिनुपर्ने वाध्यता हुन्छ । यो कुरा पनि चुनौती नै हो ।’ तर, प्रदीप यसलाई ठुलो चुनौती मान्दैनन् । ‘माउन्ट एभरेष्ट जस्तै चुनौती त दर्शको अपेक्षा नै हो ।’

के ‘जात्रा’ हेरेका दर्शकको आशालाई यसले पूरा गर्ला ? प्रदीप भन्छन्–‘यसमा म केही भन्दिनँ । किनभने मैले नजिकबाट चलचित्रलाई हेरेको छु । चस्मा लगाउँदा चस्माको फ्रेम नदेखिने जस्तै भएको छ मलाई । त्यति नजिक छु म । त्यसैले दर्शकले नै यसमा बोल्नु हुनेछ ।’

दर्शकको कति अपेक्षा गरेका छन् सोही अनुसार पूरा हुने वा नहुने प्रदीपको बुझाई छ । उनी दर्शकलाई चलचित्रको पूर्व मुल्याङ्कन नगरी जान अनुरोध पनि गर्छन् । त्यो हुदाँ चलचित्र राम्रो लाग्ने उनको तर्क छ । तर, चलचित्रबाट दर्शकको गाली खाना नपर्ने कुरामा उनी विश्वस्त छन् ।

कमेडीमा फरक कमेडी
अहिले कमेडी चलचित्रको लहर नै लागेको छ । वर्षमा रिलिज हुने सय चलचित्रमा ९५ चलचित्र कमेडी जनरामा निर्माण भइरहेका छन् । यस्तैमा, ‘जात्रै जात्रा’ पनि कमेडी जनरामा नै निर्माण भएको चलचित्र हो । प्रदीप भट्टराई कमेडी चलचित्र भन्नु र बन्नुमा धेरै फरक भएको बताउँछन् । उनी भन्छन्–‘कमेडी चलचित्र बनाउनको लागि सेन्स अफ ह्युमर जरुरी छ । यदी सेन्स अफ ह्युमर भएन भने कमेडी त हरर भइदिन्छ । त्यसैले कमेडी बनाउँछु भनेर सजिलो छैन ।’

सेन्स अफ ह्युमर भएन भने रुनुपर्ने ठाउँमा दर्शक हाँसिदिने र हाँस्नुपर्ने ठाउँमा नाक खुम्चाउनु पर्ने अवस्था आइदिन्छ । उनी भन्छन्– ‘संवाद बोलेर दर्शकलाई हसाउँछु भन्ने तिर लाग्यो भने त्यो एकदमै गलत हो । दर्शकलाई त घटना परिवेश, पात्रको हाउभाउ र उसको शैलीबाट हसाँउन सक्नुपर्छ ।’

हाउभाउबाट हसाउने भन्दैमा नाकमा रातो लगाउने, मुख बङ्ग्याउने, लुगा त्यस्तै लगाउने गर्नु पनि लज्जास्पद कुरा नै हो । तर, ‘जात्रा’मा त्यस्तो नभएको उनी बताउँछन् । ‘जात्रामा फणिन्द्रले ‘दर्शन हजुर’ भन्दा हास्नु पर्ने के छ र ? तर, त्यसैमा दर्शक हास्नुभएको छ’, उनी भन्छन्, ‘यसको कारण भनेको पात्रको परिवेश र उसको हाउभाउ नै हो ।’

कमेडी चलचित्र चल्यो भनेर नै धेरै मात्रामा कमेडी चलचित्रहरु निर्माण भएका हुन् । तर, कमेडी चलचित्रहरु किन सफल भए भन्ने कुरामा निर्माता(निर्देशकहरुले ध्यान नपुर्याएको गुनासो प्रदिपको छ । उनले भने–‘कमेडी चलचित्र त्यसको चलेको छ, जसले लामो समयदेखि यो क्षेत्रलाई बुझेर, यो क्षेत्रमा लामो योगदानपछि चलचित्र बनाएको छ । हावामा हसाए भइहाल्यो भनेर चलचित्र निर्माण गर्न हुन्न ।’

प्रदीप आफूले पनि दर्शक कमाई नसकेको बताउँछन् । एक चलचित्र चल्यो भन्दैमा मात्तिएर हेलचक्राई गर्न नहुने उनको बुझाई छ । ‘हामीले पनि हाम्रो दर्शक कमाइसकेका छैनौ’, उनी भन्छन्, ‘जात्रा’बाट केही दर्शक आउनु भएको छ । तर, त्यो चलचित्र चल्यो भन्दैमा अर्को चलचित्रमा हेलचक्राई गरियो भने त दर्शक पक्कै भड्किनुहुन्छ । त्यो कुरालाई हामीले ध्यान पुर्याउन जरुरी छ ।’

‘जात्रा’को उत्पती
‘जात्रा’ निर्माण हुने समयमा अर्को जात्रा मच्चिएको थियो । सबै स्क्रिप्ट, गीत तयार थियो । सुटिङका लागि टिम पनि तयार भइसकेको थियो । तर, सुटिङमा जानु पूर्व चलचित्रको कथा मनोज पण्डितलाई देखाइयो । उनले अहिले उक्त चलचित्रमा काम नगर्न सुझाए । मनोजको कुरामा उनीहरु पनि सहमत भए ।

उक्त स्क्रिप्टमा काम नहुने भएपछि प्रदीपले १७ दिनमा ‘जात्रा’को स्क्रिप्ट तयार पारेका थिए । प्रदीप भन्छन्–‘उहाँले हामीलाई कन्भिन्स गराएपछि हामीले उक्त स्क्रिप्ट छोडेर नयाँ स्क्रिप्टमा लाग्यौँ । मैले १७ दिनमा स्क्रिप्ट तयार परिसकेको थिएँ ।’

त्यो समय ‘जात्रा’ जस्तो चलचित्र बनाउन निकै चुनौती थियो । बिल्कुलै फरक विषयबस्तु, नचिनिएका कलाकार, सबै कुरा नयाँ थियो । प्रदीप भन्छन्–‘पछि टिमले नै आँट गरेपछि उक्त चलचित्र बनेको थियो ।’ टिमको आँटले ‘जात्रा’ बन्यो । दर्शकको हौसला र टिमको फेरि कोशिशले ‘जात्रै जात्रा’ निर्माण भएको छ । निर्देशक भट्टराई चलचित्रबाट पाउने प्रतिक्रियामा सकारात्मक सुनिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment