Comments Add Comment

निक्षेप खोस्ने होडबाजी रोक्न राष्ट्र बैंकको कडाइ, एक हप्तामै दुई निर्देशन

३० वैशाख, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनमा अस्वस्थ्य प्रतिस्पर्धा गर्न थालेपछि राष्ट्र बैंकले कडाइ गरेको छ ।

केही दिनअघि निक्षेप तान्न उपहार योजना संचालन गर्न नपाइने निर्देशन जारी गरेको राष्ट्र बैंकले आइतबार तीन महिनाभन्दा कम अवधिको मुद्दती निक्षेप लिन नपाइने व्यवस्था पनि गरेको छ ।

लगानीयोग्य रकमको अभाव झेलिरहेका बैंकहरुले सीसीडी सन्तुलनमा राख्न उच्च ब्याजदरका साथै उपहार योजनामा समेत प्रतिस्पर्धा गर्न थालेपछि राष्ट्र बैंक कठोर बनेको हो ।

लगानीयोग्य रकमको अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाले मुद्दती बचतमा उच्च ब्याजका साथमा अन्य आकर्षक उपहार योजना ल्याएर निक्षेप तान्ने गरेका थिए ।

अब बैंकहरुले ९० दिनभन्दा कमको मुद्दती निक्षेप उठाउन पाउनेछैन । यसअघि बैंकहरुले ६० दिनको, ७५ दिनको मुद्दती निक्षेप योजान समेत संचालन गर्ने गरेका थिए ।

साथै मुद्दती निक्षेपको समयावधि समाप्त नहुँदै पूर्वनिर्धारित व्याजदर कायम हुने गरी ग्राहकले चाहेको बखत जहिले पनि झिक्न पाउने गरी मुद्दती निक्षेपसमेत स्वीकार गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

केही बैंकहरुले मुद्दती निक्षेप जतिसुकै बेला झिक्न पाइने योजना सञ्चालन गरेका थिए । अब त्यस्ता योजना समेत सञ्चालन गर्न नपाउने भएका छन् ।

त्यस्तै अबका दिनमा बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्दा सुनचाँदीको सिक्का लगायत कुनै पनि किसिमका सिक्का उपहारहरु प्रदान गर्न नपाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment