Comments Add Comment

बागलुङमा वर्षापछि बाढी, घर पुरिए, सडक अवरुद्ध

हुरीले विद्यालयको छानो उडाएपछि पठनपाठन प्रभावित

३१ वैशाख, बागलुङ । सोमबार साँझ परेको वर्षाले जिल्लाको बडिगाड गाउँपालिका–६, खालका ३ परिवार विस्थापित भएका छन् ।

पानीसँगै माथिबाट आएको भलले लोकमार्ग छेउमै रहेको स्थानीय गोठे सार्कीको छाप्रे घर पुरेको तथा गोपाल श्रेष्ठ र गङ्गा सार्कीको घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त बनेको बडिगाड–६ का वडाध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिए ।

घ्वाङ्गखोलाको भलसहितको बाढी पसेपछि ३ परिवार विस्थापित भएका छन् ।  वडाध्यक्ष  क्षेत्रीका अनुसार, विस्थापित तीन परिवारलाई सुरक्षित स्थान सारिएको छ ।

बाढीले दुई घण्टा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको थियो । तर अवरुद्ध सडक डोजरको सहायताले तत्कालै खुलाइएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।

यसैबीच, जिल्लाको जैमिनी नगरपालिका–५ विनामारेस्थित दलित उत्थान आधारभूत विद्यालयको छानो हावाले उडाउँदा पठनपाठन प्रभावित भएको छ ।

यही वैशाख ३ गतेको हावाहुरीका कारण विद्यालयको दुईकोठे भवनको कर्कट पाताको छानो उडाउँदा विद्यार्थीलाई खुला आकाशमुनि पठनपाठन गराउन बाध्य भएको विद्यालयले जनाएको छ ।

पानी पर्दा बाल विकास भवनको बार्दलीमा र घाम लाग्दा खुला आकाशमुनि पठनपाठन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक रामु विकले बताए । ‘विद्यालयको छाना उडाएको महिना दिन बित्न लाग्यो, सम्बन्धित निकायलाई जानकारी गराएका छौं’, प्रधानाध्यापक विकले भने, ‘हालसम्म नगरपालिका, जिल्ला समन्वय समिति तथा शिक्षा एकाइ कतैबाट सहयोग भएको छैन ।’

विद्यालयको दुईकोठे छानो उडाउँदा भवनको गारोसमेत चिरा परेकाले जरैबाट भवनको पुनःनिर्माण गर्नुपर्ने आवश्यकता रहेको विकले बताए । उनले छाना छाउने नगरपालिकाले आश्वासन दिएपनि हालसम्म कुनै सहयोग नआउँदा विद्यार्थीलाई पठनपाठन गराउन निकै समस्या भएको हो ।

नगरस्तरीय विपत् व्यवस्थापन समितिले विद्यालयको स्थलगत अनुगमन गरिसकेको र क्षतिको विवरण प्राप्त हुँदासाथ विद्यालयको छाना छाउनका लागि सहयोग गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले जानकारी दिए ।

हावाहुरीले २ र ३ कक्षाका विद्यार्थी अध्ययन गर्ने कक्षाकोठाको छानो उडाएको हो । विद्यालयमा अन्य भवन नभएका कारण खुला आकाशमुनि, बाल विकास भवनको बार्दली र कहिले दुई कक्षाका विद्यार्थी एकै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता रहेको शिक्षिका दीक्षा शर्माले बताइन् ।

हावाहुरीले उडाएको कक्षाकोठासँगैको एककोठे भवनसमेत भूकम्पले चिरा पारेका कारण जोखिम मोलेर अध्ययन–अध्यापन गराउनुपर्ने अवस्था रहेको विद्यालयले जनाएको छ । बाल विकास देखि ५ कक्षासम्म अध्यापन हुने विद्यालयमा जम्मा ४३ विद्यार्थी छन् । विद्यालयमा अधिकांश दलित विद्यार्थी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment