Comments Add Comment

जाजरकोटका गाउँपालिका अझै सदरमुकामसँग जोडिएनन्

३१ वैशाख, जाजरकोट । यहाँका स्थानीय तहले दुई ठाउँमा कार्यालय सञ्चालन गरेर वर्षेनी बजेट सक्दै आएका छन् । जुनिचाँदे, बारेकोट र कुशे गाउँपालिकाबाट हाल भवन, सडक, खानेपानीलगायत पूर्वाधारका काम धमाधम भइरहेका छन् । गाउँमा कार्यालय नाममा मात्र हुँदा स्थानीयवासीले सेवा लिन भने सदरमुकाम नै आउनुपर्ने बाध्यता छ ।

कुशे गाउँपालिकाको केन्द्र थर्पु भार्ममा कार्यालय भवन निर्माण पूरा भइसकेको छ । कुशेको केन्द्र थर्पु भार्मसम्म सडक पनि पुगेको छ । लाखौंँ खर्चेर भवन, खानेपानी, सडकलगायत भौतिक संरचना बनाइए पनि उक्त केन्द्रबाट सेवा भने सञ्चालन हुन सकेको छैन । कुशेले रु दुई करोड ५० लाखको लगानीमा केन्द्र थर्पुमा ६ भवन बनाएको छ ।

त्यस्तै केन्द्रसम्मै जीप, ट्रयाक्टरलगायत सवारी साधन गाडी पनि पुग्छन्  तर जनताका लागि सेवा पुगेको छैन । कुशे गाउँपालिकाले सदरमुकाम खलङ्गाबाटै प्रवाह गर्दै आएको छ । भौतिक पूर्वाधारको अभाव भन्दै दुई वर्षअघिदेखि खलङ्गाबाट सञ्चालन हुँदै आएको उक्त सेवा गाउँबाट प्रवाह नहुँदा दुर्गमका सेवाग्राहीलाई सास्ती भएको छ ।

गाउँबाट सेवा प्रवाह नगर्ने कुशे गाउँपालिका मात्र एक्लो छैन, जुनीचाँदे र बारेकोट गाउँपालिकाले पनि सदरमुकामबाटै सेवा चलाउँदै आएका छन् । कुशे र बारेकोटले बैंकको कारण देखाउँदै खलङ्गाबाट सेवा सञ्चालन गर्ने गरेका छन् भने जुनीचाँदेले केन्द्र विवादका कारण देखाउँदै खलंगाबाट सेवा प्रवाह गर्दै आएको छ ।

असुरक्षाका कारण कुशे, बारेकोट र जुनीचाँदेमा बैंक सञ्चालन हुन सकेका छैनन् । बारेकोटको केन्द्र लिम्सामा कार्यालय भवन निर्माणाधीन छ भने चालु आर्थिक वर्षमै उक्त केन्द्र सडक सञ्जालमा जोडिने भएको छ ।

जुनीचाँदे यसअघि नै सडक सञ्जालमा जोडिएको छ । केन्द्र विवादका कारण भवन निर्माण हुन सकेको छैन । त्यस्तै उक्त गाउँपालिकाका अधिकांश वडाध्यक्ष र वडा सचिवले वडा केन्द्रमा बसेर नियमित सेवा प्रवाह नगर्दा पनि स्थानीय बासिन्दा थप मर्कामा परेका छन् । वडापालिका तथा गाउँपालिका कार्यालयको सेवा सदरमुकामबाटै सञ्चालन हुने गर्दा दुर्गमका सेवाग्राहीलाई सेवा लिन कर्मचारी खोज्दै हैरान हुने गरेको छ ।

वडाध्यक्ष फेला परे सचिव फेला नपर्ने र सचिव फेला पर्दा अध्यक्ष फेला नपर्ने समस्याले सेवाग्राहीलाई सताउने गरेको कुशे -९ का काली सिंहकाे भनाइ छ । बारेकोट, कुशे र जुनीचाँदे गाउँपालिकाले हजारौंँ भाडा खर्चेर सदरमुकाममा सम्पर्क कार्यालय खोलेका छन् ।

स्थानीय तह गठनसँगै परिवर्तनको आशा बोकेका जनता पछिल्लो समय निराश बन्दै गएको कुशे- ५ का रामबहादुर नेपालीले बताए । बीस वर्षदेखि कर्मचारीको झन्झटिलो कार्यशैलीप्रति वाक्क स्थानीयवासी निर्वाचित जनप्रतिनिधिबाट पनि सेवा पाउन सास्ती हुँदा निराश बनेको उनको भनाइ छ  । ‘जनताले मागेको सडक, विद्युत्, खानेपानी, सिँचाइलगायत पूर्वाधार विकास हुनु त परको कुरा भयो, सरकारी सेवा प्रवाहमा समेत अलमल छ ,’   उनकाे भनाइ छ ।

जनप्रतिनिधि आएको दुई वर्ष बित्दा पनि सम्बन्धित स्थानीय तहको केन्द्रबाट सेवा सञ्चालन नहुँदा दुर्गमका सेवाग्राहीलाई विगतजस्तै सास्ती हटेको छैन । दुर्गमका सेवाग्राहीलाई पञ्जीकरण, बैकिङ कारोवार, नागरिकता सिफारिस, योजना सम्झौता तथा भुक्तानीलगायत कामका लागि सदरमुकाम धाउनुपर्ने वाध्यता नहटेको सिंहले बताए ।

‘सिंहदरबार गाउँगाउँमा आयो भनेको त झन् भेटाउनै गाह्रो भयो, सरकारी सेवा लिनका लागि कर्मचारी तथा जनप्रतिनिधि खोज्न गाउँदेखि खलङ्गाका कुनाकुनासम्म चाहार्नुपर्ने पुरानै अवस्था नहट्दा जनतालाई झन् सास्ती भएको छ ,’ उलने भने ।

सुरक्षा र कर्मचारी अभावमा एक वडा सचिवले चार वटा वडा कार्यालयमा काम गर्नुपर्ने बाध्यता भएकाले गाउँमा गएर काम गर्न नसकिएको बारेकोटका अध्यक्ष महेन्दबहादुर शाहले बताए ।

उनले भने, ‘विवाह, जन्म, मृत्यु, बसाइँसराइलगायत पञ्जीकरण गर्न स्थायी कर्मचारी हुनुपर्ने प्रावधान छ, अस्थायी तथा करारका कर्मचारीले पञ्जीकरणका काम गर्न मिल्दैन । ती स्थानीय तहका वडा सचिवले पञ्जीकरणका लागि खाली कागजमा हस्ताक्षर गरेर गाउँगाउँमा पठाउने गरेका छन् ।’

जनप्रतिनिधि र कर्मचारी सुविधाभोगी बन्दा अधिकांश स्थानीय तहले खलङ्गामा अघोषित कार्यालय स्थापना गरेको पाइएको स्थानीयवासीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment