Comments Add Comment

स्वर्गद्वारीमा गौमूत्र प्रशोधन केन्द्र, मूल्य लिटरको १५०

१ जेठ, प्यूठान । स्वर्गद्धारी आश्रम प्यूठानमा ‘गौमूत्र’ प्रशोधन गरी प्रयोग गर्न थालिएको छ । धार्मिक परम्परा अनुसार पञ्चामृत उपभोगका लागि प्रशोधित गौमुत्रको प्रयोग थालिएको हो ।

आयुर्वेद चिकित्सकको सल्लाह अनुसार, गौमूत्र प्रशोधन थालिएको आश्रमका सहायक कोठारी बाबुराम न्यौपानेले जानकारी दिए ।

ग्याष्टिक, अल्सर, रुघाखोकी, बाथलगायत रोगको उपचारका लागि प्रशोधित गौमूत्र उपयोगी मानिन्छ । वाष्पीकरण विधिबाट प्रशोधित गौमूत्रमा हर्रो, बर्रो, चिराइतो, अमलालगायत जडीवुटी मिसाइएको न्यौपानेले बताए ।

आश्रममा हाल दैनिक ४० लिटर प्रशोधित गौमूत्र उत्पादन हुँदै आएको छ । आश्रमले प्रतिलिटर १५० रुपैयाँको दरले बिक्री गर्ने गरेको छ । आश्रममा आउने दर्शनार्थीले गौमूत्रको उपयोगीता वारे जानकारी लिएर खरिद गर्ने गरेका छन् ।

जंगलमा चर्ने गाईले यहाँ पाइने जडिबुटी खाने भएकाले यहाँको गौमूत्र को माग बढेको सहायक न्यौपानेको बुझाइ छ । दुई महिनामा पन्ध्र सय लिटर बिक्री भएको छ ।

आश्रममा करिब पाँच सय गाई छन । ती गाईहरुबाट संकलित गौमूत्र प्रशोधनका लागि एक जना व्यक्तिलाई तालिम दिएर राखिएको छ ।
बाथरोगको समस्या भएका आफन्तलाई नियमित रुपमा स्वर्गद्वारीको प्रशोधित गौमूत्र पठाउने गरेको प्यूठान नगरपालिका क्वाडीका स्थानीय गुरुप्रसाद पोख्रेलले बताए । गौमूत्रको सेवनले रोग निको हुने भएकाले नियमित रुपमा पठाउँदै आएको उनको भनाइ छ ।

आयुर्वेद औषधालय भिंगुका प्रमुख शिशिर पोख्रेलका अनुसार गौमूत्रको सेवनबाट ग्याष्टिकको समस्या भएका व्यक्तिलाई फाइदा पुग्छ । गौमूत्रमा छारियपन हुने भएकाले यसको प्रयोगले अम्लियपनबाट हुने ग्याष्ट्रिकको समस्या निको हुन्छ । अन्य रोग तथा समस्या समाधानका लागि पनि गौमूत्रको प्रयोग हुने गरेको पोख्रेलले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment