Comments Add Comment

नेकपाको सचिवालय बैठक जारी, जनसंगठन एकीकरण टुंगो लगाइदै

२ जेठ, काठमाडौं । जनवर्गीय संगठनको एकीकरण टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपाका २२ वटा भातृ संगठनको एकीकरण टुंगो लगाउने प्रस्ताव छ ।

नेकपा स्रोतका अनुसार तत्कालीन एमालेले १३ वटा भातृसंगठनको अध्यक्ष पाउने र तत्कालीन माओवादीले ९ वटाको नेतृत्व लिने गरि छलफल अघि बढेको छ । यो संख्या १२ र १० मा टुंगो लाग्ने सम्भावना पनि उत्तिकै रहेको सचिवालयका एक सदस्यले बताए ।

सबैभन्दा प्रभावशाली मानिने युवा र विद्यार्थी संगठनमध्ये पूर्व एमालेले विद्यार्थीको नेतृत्व लिने भएको छ । त्यस्तै युवाको नेतृत्व पूर्व माओवादीले पाउने सम्भावना रहेको छ । मजदूर संगठनको नेतृत्व पनि पूर्वएमाले पाउँदा महिलाको नेतृत्व पूर्वमाओवादीले पाउनेछ ।

संगठनको बाँडफाँडपछि व्यक्तिको बारेमा पनि छलफल हुने बताइएको छ । जिल्ला कमिटी एकीकरणकै मोडलमा साबिक अध्यक्षहरुलाई अध्यक्ष र महासचिव बनाउने वा संयोजक तथा सहसंयोजकको मोडलमा जाने भन्ने टुंगो बैठकबाटै लाग्ने बताइएको छ ।

पार्टी एकीकरणको एक वर्ष पुगेको अवसरमा जेठ ३ गते शुक्रवार जनवर्गीय संगठनहरुको एकीकरण टुंग्याउने प्रयास भइरहेको नेताहरुले बताएका छन् । नेकपा स्रोतका अनुसार युवाको अध्यक्ष पूर्व माओवादीले पाउँदा रामप्रसाद सापकोटा अध्यक्ष हुनेछन् ।

त्यस्तै विद्यार्थीको अध्यक्ष पूर्वएमालेले पाउँदा ऐन महरलाई बनाउने चाहना केपी ओलीको छ । हालकी अध्यक्ष नविना लामा प्रतिनिधिसभा सदस्य रहेकाले महासचिव महरलाई बनाउन खोजिएको हो । यद्यपी उपाध्यक्षहरुमध्येबाट बनाउनुपर्ने दबाब पनि नेतृत्वमाथि छ ।

सचिवालय बैठकमा पोलिटव्यूरो सदस्यहरुको नाम टुंगो लगाउने र केन्द्रीय सदस्यहरुको कार्यबिभाजनका बारेमा पनि छलफल हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment