Comments Add Comment

‘सुजाता खीर’ उत्सवबाट शुरु हुँदैछ लुम्बिनी भ्रमण वर्ष

२ जेठ, बुटवल । प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष उद्घाटन समारोहको तयारी पूरा भएको छ । प्रचार प्रसार र अन्य गतिविधि गत फागुनमै सुरु भए पनि भ्रमण वर्षको औपचारिक उद्घाटन २५६३ औं बुद्ध जयन्तीका दिन जेठ ४ गते गर्न लागिएको हो ।

भ्रमण वर्षको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली आउने निश्चित भइसकेको छ । भ्रमण वर्ष उद्घाटनमा रुपन्देही,कपिलवस्तु र नवलपरासीमा तीन दिनसम्म विभिन्न कार्यक्रम हुनेछन् ।

जेठ ३ गते सुजाता खीर उत्सव गरेर भ्रमण वर्ष शुरुवात गर्ने कार्यक्रम तय भएको भ्रमण वर्ष प्रचार प्रसार उपसमिति संयोजक भरत केसीले बताए ।

जेठ ३ गते बिहान ९ बजेदेखि ११ बजेसम्म लुम्बिनीमा रहेका दुई सय बढी भिक्षु–भिक्षुणी र अन्य आगन्तुकलाई ‘सुजाता खीर’ खुवाइनेछ । सुजाता खीर उत्सवका लागि प्रदेश सरकारले ५ लाख रुपैयाँ छुट्याएको छ ।

के हो सुजाता खीर ?

सुजाता खीरको किंवदन्ती यस्तो छ । सिद्धार्थ गौतमले ज्ञानको खोजीमा गृह त्याग गरेपछि ६ वर्षसम्म भारतको बोधगया गएर महातपस्या गरे । तर ज्ञान प्राप्त भएन । एक दिन गुरुले भोजन कम गर्दै जानू, जुन दिन भोजनमा एउटामात्र चामलको दाना रहन्छ, त्यो दिन ज्ञान प्राप्त हुन्छ ।’ सिद्धार्थले त्यही अनुसार गरे तर ज्ञान प्राप्त भएन ।

एक दिन उनी निरन्जना नदी तरेर भिक्षाटनमा जाँदा बाटोमै ढले । उनले नदी किनारमा सुजाता नामकी युवतीले दान गरेको खीर खाए । उक्त खीर खाएपछि सोही राती सिद्धार्थले ज्ञान प्राप्त गरे ।

खाना नखाएर होइन, शुद्ध भोजन खाएर स्वस्थ भएपछि नै ज्ञान प्राप्त हुँदो रहेछ भन्ने मान्यता सुजाता खीरले दिएको भन्दै लुम्बिनीमा सुजाता खीर उत्सव मनाउने गरिएको छ ।
शुद्ध शाकाहारी खीरलाई लुम्बिनीको पहिचान बोकेको परिकार बनाएर व्यवसायिक बिक्री गर्न सकिने भ्रमण वर्ष सचिवालय संयोजक टुकराज पाण्डेले बताए ।

उद्घाटनमा के के हुदैछ ?

लुम्बिनी भ्रमण वर्ष उद्घाटन मूल समारोह ४ गते भए पनि प्रधानमन्त्री केपी शर्मा ओली ३ गते नै लुम्बिनी आइपुग्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओली लुम्बिनीबाट राजा शुद्धोधनको दरबार रहेको कपिलवस्तु तिलौराकोट दरबार क्षेत्रमा अवलोकन गर्न जानेछन् । साँझ लुम्बिनीमै फर्केर दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको भ्रमण वर्ष सचिवालय संयोजक पाण्डेले जानकारी दिए । त्यस दिन प्रधानमन्त्री लुम्बिनीमै बास बस्नेछन् ।

जेठ ४ गते बुद्ध जयन्तीका दिन भ्रमण वर्ष मूल समारोहको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ ।

लुम्बिनीमा पहिलोपटक राष्ट्रिय झण्डा

लुम्बिनी भ्रमण वर्षकै क्रममा बुद्ध जयन्तीको अवसर पारेर प्रदेश सरकारले अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा ५२ फिट अग्लो पिल्लरमा राष्ट्रिय झण्डा फहराउने भएको छ । यसअघि लुम्बिनीमा राष्ट्रिय झण्डा थिएन । राष्ट्रिय झण्डा राख्न १० लाख ५० हजार रुपैयाँ वजेट विनियोजन भएको छ । प्रदेश ५ को उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयले लुम्बिनी नयाँ ग्राम क्षेत्रमा २६ सय ४६ वटा बृक्षारोपण गर्ने भएको छ ।

लुम्बिनी भ्रमण वर्षको उद्घाटनमा कम्तीमा १० हजार जना सहभागी हुने अनुमान गरिएको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु, भारतका सामाजिक न्याय तथा सशक्तिकरण मन्त्री रामदास आठवले, सम्राट अशोकको निधनबारे खोज अनुसन्धान गरिरहेका बोधगयाका भन्ते तिस्सावरोलगायत पनि सहभागी हुनेछन् । सहभागीमध्ये ७ हजार जनालाई निःशुल्क भोजन गराइने कार्यक्रम छ ।

मायादेवी प्रसुति उत्सव

जेठ ५ गते मायादेवी प्रसुति उत्सव मनाउने कार्यक्रम छ । यसका लागि देवदह र रामग्रामबाट दुई वटा टोली लुम्बिनी आउने छ । त्यसपछि लुम्बिनीबाट संयुक्त टोली बनेर मायादेवीको भेषमा एक महिलाले शिशु बुद्धको प्रतीक लिएर सयौंको संख्यामा बाजागाजा झाँकीसहित कपिलवस्तुतर्फ प्रस्थान गर्नेछ ।

तिलौराकोटबाट राजा शुद्धोधनको भेषमा सजिएका एक पुरुषसहित एउटा टोली सुत्केरीलाई उपहार लिएर आउने छ । दुबै टोलीको भेट कोठी नदीमा हुने छ । त्यहाँबाट संयुक्त टोली हर्ष बढाई गर्दै तिलौराकोट दरबार पुग्नेछ ।

साँझ दरबारमा मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा नाचगानसहित सांस्कृतिक कार्यक्रम गरी प्रसुति उत्सव समापन हुने कार्यक्रम संयोजक सञ्जय बजिमयले बताए । प्रसुति उत्सवका लागि १५ लाख रुपैयाँ छुट्टाइएको छ ।

भ्रमण वर्ष वैशाख बुद्ध पूर्णिमाका दिन शुरू भई अर्को वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन समापन हुनेछ । भ्रमण वर्षका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ ।

भ्रमण वर्ष अवधिमा गौतमबुद्धको जीवनीसँग सम्बन्धित सडक प्रदर्शनी होटल तथा पर्यटन व्यवसायीमार्फत् सातवटै प्रदेश र भारतको कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा समेत प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने छ । बुद्ध जन्मभूमि रुपन्देहीको लुम्बिनी, बुद्धको क्रिडास्थल कपिलवस्तुको तिलौराकोट, मावली तथा ससुराली रुपन्देहीको देवदह, बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्रामलगायत बुद्धसंग सम्बन्धित स्थलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी भ्रमण वर्ष मनाउन थालिएको हो ।

भ्रमण वर्षपछि लुम्बिनी घुम्न आउने पर्यटकको संख्या २० लाख बढी पु¥याउने लक्ष्य छ । भ्रमण वर्षमा लुम्बिनी फूड फेस्टिबल,मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूलमून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रम गरिने छ ।

कहाँ कति खर्च हुंदैछ ?

लुम्विनी भ्रमण वर्षको उदघाटन समारोहमा ७० लाख र समापन समारोहमा १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । उद्घाटन समारोहका लागि लुम्बिनी विकास कोषले पनि ५० लाख रुपैयाँ वजेट विनियोजन गरेको छ । प्रचार प्रसारका लागि ४१ लाख, ब्रोसर निर्माणका लागि २० लाख, होर्डिङबोड बनाउनका लागि १० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

त्यस्तै मायादेवी लुम्बिनी फूड फेस्टिवलका लागि ८ लाख, मायादेवी मन्दिरमा दैनिक दीप प्रज्वलनका लागि १२ लाख, धार्मिक यात्रा र त्रिपिटक वाचनका लागि ४ लाख, योग तथा ध्यान शिविरका लागि ५ लाख, स्वागत गेट निर्माण, झाँकी प्रदर्शनी, बत्ती जडानका लागि १५ लाख विनियोजन गरिएको छ ।

सडक प्रदर्शनीका लागि २२ लाख ५० हजार, टिसर्ट तथा क्यापका लागि १० लाख, राष्ट्रिय झण्डा निर्माण तथा व्यवस्थापनका लागि १० लाख ५० हजार, स्टीकर बनाउनका लागि ५ लाख, सरसफाइ तथा सौन्दर्यीकरणका लागि ४० लाख, खेलकुद संस्कृति तथा क्षमता विकासका लागि २७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

अन्त्तर्राष्ट्रिय स्तरको वौद्ध दर्शन तथा लुम्बिनीका बारेमा कार्यपत्र प्रस्तुतिका लागि २० लाख, समिति तथा उपसमिति बैठक भत्ता र खाजाको लागि १६ लाख ६० हजार, सचिवालयका लागि २० लाख र विविध भनी १० लाख रुपैयाँ विनियोजन गरिएको प्रदेश ५ को पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment