Comments Add Comment

पोखरा महानगरको टोकन बक्स २ महिनादेखि प्रयोगविहीन

३ जेठ, पोखरा । पोखरा महानगरको राजश्व शाखामा आउने सेवाग्राहीलाई व्यस्थापन गर्न टोकन सिस्टम लागू गरिएको थियो । सेवाग्राही टोकन लिएर त्यही नम्बरका आधारमा आफ्नो पालो पर्खेर बस्थे र काम सकेर बाहिरिन्थे ।

तर शुक्रबार दिउँसो महानगरमा सेवाग्राहीको भीड थियो । सेवाग्राही तितरबितर देखिन्थे । टोकन बक्स त्यहाँ थिएन ।

टोकन बक्स त्यहाँ नभए पनि केही दूरीमा लेखिएको थियो, ‘…टोकन लिई पालोमा बस्ने कष्ट गरी आफ्नो कर तिरी महानगरको क्षेत्रको अमूल्य सहयोग गर्नुभएकोमा तपाईंप्रति उच्च सम्मानका साथ आभार व्यक्त गर्दछौं ।’

महानगरको राजश्व शाखाको टोकन बक्स नहुँदा मर्का परेको सेवाग्राहीको गुनासो छ । राजश्व शाखा अधिकृत छविलाल शर्माले आफूले टोकन बक्स नै नरहेको ध्यान नदिएको प्रतिक्रिया दिए । ‘१÷२ हप्ताअघिसम्म यहीं थियो । अहिले कता गएछ थाहा भएन,’ उनले भने । शर्माले टोकन बक्स के कारणले बिग्रिएको हो आफूले बुझ्ने बताए ।

महानगरका अन्य कर्मचारीका अनुसार उक्त टोकन बक्स करिब २ महिनाअघि नै बिग्रिएको हो । चट्याङले टोकन बक्सको प्रिन्टरमा क्षति पुर्‍याएकाले प्रयोगविहीन बन्न पुगेको हो । शुक्रबार दिउँसो राजश्व तिर्न आएका सेवाग्राहीले महानगरको प्रविधि बिग्रिएको लामो समयसम्म मर्मत नगरिनु लापरबाही भएको बताए ।

महानगर राजश्व शाखामा भेटिएका एक सेवाग्राहीले भने, ‘२ महिनाअघि बिग्रिएको रहेछ । अहिलेसम्म किन नबनाएर बसेको होला ? काम मात्रै ढिलो !’ पोखरा महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले टोकन बक्स प्रिन्टरमा क्षति पुगेकाले मर्मत गर्न दिइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment