Comments Add Comment

बालुवाटारमा लिखत गरेपछि दिपशिखा बने युवासंघको अध्यक्ष !

३ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण टुंगिएको छ । गत वर्ष जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकीकरणले जनवर्गीय संगठनको एकतासँगै शुक्रबारबाट पूर्णता पाएको नेताहरुले बताएका छन् ।

गत वर्ष जेठ ३ गते पार्टी एकीकरण घोषणा गर्दैगर्दा ३ महिनाभित्र सबै कमिटी र जनसंगठनको एकीकरण टुंग्याउने भनिएको थियो । तर, विभिन्न कारणले एक वर्ष लागेको महासचिव बिष्णु पौडेलले बताए । शुक्रबार विहान मदन आश्रित स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित कार्यक्रममा महासचिव पौडेलले अब एकताको काम लगभग सकिएको बताए । अब केही बाँकी रहेका काम तत्कालै टुंगो लाग्ने उनले बताए ।

नेकपाको विधानले किटान गरेका २२ वटा भातृ संगठनमध्ये मधेसीबाहेक अरु सबै संगठनको एकीकरण भएको छ ।

२१ वटा संगठनको संयोजक र सहसंयोजक चयन हुँदा तत्कालिन एमालेले १५ वटामा मुख्य नेतृत्व पाएको छ भने तत्कालिन माओवादीको भागमा ५ वटा संगठन परेका छन् ।
नेकपाको बिहीबारको सचिवालय बैठकले कम्तिमा ४५ देखि बढीमा २५१ सदस्यीय केन्द्रीय कमिटी रहने गरी भातृ संगठनमा संयोजक र सहसंयोजक तोकेको छ । सदस्यहरु भने यसअघिका साविक कमिटीका कार्यदलबाट सिफारिस भए बमोजित चयन हुनेछन् ।

सबैभन्दा सानो केन्द्रीय कमिटी नेपाल कानुन व्यवसायी संगठनको ४५ सदस्यीय रहेको छ भने अपांगता संगठनको ६९ सदस्यीय प्रस्ताव गरिएको छ । अन्य प्रायः जनसंगठनका कमिटी बढीमा २५१ सदस्यीय हुनेछन् । मधेशी संगठनको बारेमा पछि निर्णय हुने भएको छ ।

नेकपाका प्रभावशाली संगठन मानिएका युवा संघ र अनेरास्ववियुको नेतृत्व चयनका सन्दर्भमा नेताहरुबीच लामै छलफल चलेको थियो । स्रोतका अनुसार युवा संघ नेपालको अध्यक्षमा प्रस्तावित तत्कालिन वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाबारे अध्यक्ष तथा प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएपछि बैठक लम्बिएको थियो ।

नेताहरु विवादकै बिचमा निस्किएपछि अर्का अध्यक्ष प्रचण्डले दिपशिखालाई बालुवाटारमै बोलाएर ओलीसमक्ष प्रष्ट पार्न लगाएको स्रोतले जनाएको छ । उनले सामाजिक सञ्जालमा सरकारको नेतृत्वको आलोचना गरेको र ओलीप्रति नकारात्मक रहेको सन्दर्भमा दुवै अध्यक्षको उपस्थितिमा कतिपय कमजोरी विगतमा भएको भन्दै आत्मालोचना गरेको स्रोतको दावी छ ।

दुवै अध्यक्षको उपस्थितिमा सापकोटाले लिखित रुपमै भविष्यमा पार्टी र नेतृत्वको विपक्षमा सार्वजनिक रुपमा टिकाटिप्पणी नगर्ने प्रतिबद्धता जनाएपछि युवा संघको नेतृत्व पाएको बताइएको छ ।

सापकोटाले भने आफूले बालुवाटारमा कुनै लिखित नगरेको दाबी गरेका छन् । उनले भने, ‘यसरी मान्छेको हुर्मत लिइदिनु भएन ।’

ओली युवा संघका सस्थापक अध्यक्षसमेत हुन् । एकीकरणपछि पनि युवा संघको नाम कायमै छ ।

यो पनि पढ्नुहोस नेकपामा भागवण्डा मिल्यो, जनवर्गीय संगठनको संयोजक र सहसंयोजक तोकिए

अनेरास्ववियुको अध्यक्ष चयन पनि नेताहरुका लागि पेचिलो बनेको थियो । पूर्व एमालेको भागमा परेको अनेरास्ववियुको अध्यक्ष नविना लामा प्रतिनिधिसभा सदस्य भएलगत्तै संगठनको बैठकमा राजीनामा पेश गरेकी थिइन् । तर उनको राजीनामा स्वीकृत भएको थिएन ।

नविना आफैं संयोजक बन्न इच्छुक थिइनन् । नविना दोहोरिँदा क्रान्तिकारीका रञ्जित तामाङ सहसंयोजक बन्न तयार थिए । तर अध्यक्ष ओलीले नविनाको विकल्पमा तत्कालिन महासचिव ऐन महरको नाम अघि सारे । तत्कालिन एमालेको अनेरास्ववियुमा अध्यक्ष नविना, चार उपाध्यक्ष र महासचिव ऐन महर सबै ओली निकट मानिन्छन् ।

नविनाको विकल्प छान्नुपर्दा ओलीले महर रोजे । नविना अखिलको उपाध्यक्ष हुँदा महर पनि उपाध्यक्ष नै थिए । नविना गुट परिवर्तन गरेर आफूतिर आएपछि ओलीले उनलाई अध्यक्षका रुपमा अगाडि सारे । त्यसबेला नै ऐनलाई अर्कोपटक अध्यक्ष बनाउने आश्वासनसहित महासचिवमा उठाइएको थियो । ओली सोही बचन पूरा गरेका छन् ।

अध्यक्षको दावेदारका रुपमा उपाध्यक्षहरु रश्मी आचार्य, महेश बर्तौला र सुनिता बराल थिए । तर संगठनमा महर सिनियर भएकाले उनैलाई अध्यक्ष बनाइएको ओली निकट स्रोतको दाबी छ ।

पूर्वएमालेले पाएका १५ जनवर्गीय संगठनका संयोजमध्ये केपी ओली पक्षका ९ जना र माधव नेपाल पक्षका ५ जना छन् । बामदेव गौतमसहित ओली इतर समूहका ६ जना संयोजक भएका छन् ।

पूर्व माओवादीतिरका ६ जना सयोजकमध्ये रामबहादुर थापा बादल पक्षले आधा हिस्सा पाएको छ । महिला संघकी अध्यक्ष अमृता थापा मगर, प्रेस संगठनका महेश्वर दाहाल र आदिवासी जनजातिका सुरेश आले बादल निकट मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment