Comments Add Comment

उपेन्द्र यादव भन्छन् : धेरै माफियाले नेपाली नागरिकता पाए

३ जेठ, पोखरा । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पैसाको भरमा थुप्रै माफियाले नेपाली नागरिकता लिएको दाबी गरेका छन् । नागरिकता नपाउने वास्तविक नेपालीहरु भने धेरै रहेको उनले बताए ।

समाजवादी पार्टीले पोखरामा गरेको अभिमुखीकरण कार्यक्रममा यादवले नेपाल बन्नुभन्दा धेरै अगाडिदेखि यहाँ बसोबास गर्ने थुप्रै नेपालीका सन्तानले नागरिकता पाउन नसकेको बताए । ‘नेपालमा धेरै ठूला माफियाहरुले नागरिकता पाए । यहाँका आदिवासीले भने नागरिकता पाएका छैनन्,’ पार्टी अध्यक्ष यादवले भने, ‘पैसा र अनुहार हेरे नागरिकतामा विभेद नगरियोस् ।’

आफूहरु विदेशीलाई नागरिकता दिनुहुन्न भन्ने पक्षमा रहेको भन्दै उनले लिने र दिने दुबैलाई कारबाही गर्नुपर्ने बताए । तर, नेपाली नागरिकका सन्तानलाई नागरिकताबिहीन बनाउन नहुने बताए ।

‘नेपाली नागरिकका सन्तान देशभित्र बाहिर जहाँ जन्मे पनि नागरिक नै हुन् । जबसम्म नागरिकता त्याग्दैन, उ नेपाली नागरिक नै हो’ उनले भने, ‘कुनै पनि व्यक्तिलाई राज्य र राष्ट्रियताविहीन बनाउनु ठूलो अपराध हो । जालीझेली नागरिकता ऐनलाई सच्याउनुपर्छ ।’

नागरिकतामा लैगिक असमानता पनि रहेको उनको भनाइ थियो । महिला र पुरुषका निम्ति एउटै कानुन हुनुपर्ने यादवले बताए ।

नागरिकताका विषयमा संविधान र विधेयक दुबै त्रुटीपूर्ण भएको यादवको दाबी छ । जन्म दिने आमाको नागरिकता देखाएर छोराछोरीले नागरिकता लिन पाउनुपर्ने उनको भनाइ थियो ।

‘आमा नागरिकता लिएर जाँदा बाबु लिएर आउ भन्ने पनि हुन्छ ?’ उपप्रधानमन्त्री यादवले भने, ‘असली त आमा हो । बरु बाबुको नभए नि हुन्छ । बाउको बरु के ठेगान को हो को हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment