Comments Add Comment

भाइचाराको बाटोमा अगाडि बढ्न प्रेरणा मिलोस् : प्रधानमन्त्री ओली

'नेपाल सांस्कृतिकरुपमा समृद्ध'

४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताएका छन् । २५६३औँ बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगत्को कल्याणका निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको उल्लेख गरेका छन् ।

‘संसारमा दुःख छ र दुःख हटाउनसके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्तक गौतमबुद्धले मैत्री, करुणा र अहिंसाको शिक्षा दिए’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘जातीय भेदभाव र छूवाछुत प्रथाको विरोध गरे, समनताको सिद्धान्तको प्रतिपादन गरे, त्यसैले गौतमबुद्धको शिक्षा, सिद्धान्त र दर्शनलाई सर्वत्र अनुशरण र प्रशंसा गरिन्छ ।’

बुद्धका विचार जीवनदर्शन र मानव कल्याणसँग सम्बन्धित भएकाले नै विश्वभर प्रसिद्ध र लोकप्रिय बन्न सकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघले समेत गौतमबुद्धबाट प्रतिपादित ज्ञानलाई मुख्य सिद्धान्तका रुपमा अवलम्बन गरी संसारलाई त्यसैअनुरूप शान्तिको बाटोमा डोर्होयाउन खोजेको सन्देशमा भनेका छन् ।

प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्बिनीलाई विशेष धार्मिक र पर्यटकीयस्थलका रुपमा विकास गर्न सरकार सधैं सकारात्मक रहेको भन्दै बुद्धजयन्तीको महत्वपूर्ण दिनमा सबैलाई बुद्धप्रदत्त ज्ञानलाई शिरोधार्य गरी विश्व शान्ति र भाइचाराको बाटोमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

‘नेपाल सांस्कृतिकरुपमा समृद्ध देश’

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सांस्कृतिकरुपमा समृद्ध देश भएको बताएका छन् । किराँत धर्मावलम्बीको महान् चाड उभौलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालमा बसोबास गर्ने विविध जाति, भाषा र धर्मावलम्बीको एकता गर्व गर्न लायक रहेको बताएका हुन् ।

‘नेपालीले यस विविधतालाई एकताको प्रमुख सूत्रका रुपमा स्वीकारेका छन् । जुन, विश्वका अरु देशका लागि पनि प्रेरणाको स्रोत हो, हाम्रो जातीय विविधामा द्वन्द्वको खेती गर्ने प्रयास विगतमा नभएको होइन तर नेपालीले यस्ता तत्वलाई बेलैमा पहिचान गरेर अस्वीकार गरे र देशमा जाति, धार्मिक र सांस्कृतिक सदभाव कायम राखे,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ।

सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई साकार पार्न प्रयत्नशील रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । ‘वर्तमान सरकार समानतासहितको समृद्ध नेपाल निर्माण गर्ने पक्षमा छ, यस अभियानमा नेपालका सबै जाति, भाषा र धर्मका मानिसका सक्रिय ऐक्यबद्धताको आवश्यकता छ’, प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment