Comments Add Comment

प्रदेश ३ सरकारले पनि विभूषण र पदक बाँड्ने

४ जेठ, हेटौंडा । संघीय सरकारले जस्तै प्रदेश ३ सरकारले पनि बिभिन्न व्यक्तिहरुलाई विभूषण तथा पदकले सम्मान गर्ने भएको छ ।

आन्तिक मामिला तथा कानून मन्त्रालयका मन्त्री शालिकराम जमकट्टेलका अनुसार प्रदेश ३ सरकारले २२ वटा पदक बाँड्ने छ । प्रदेश सभा दर्ता गराइएको ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा ११ विधामा २२ वटा पदक तथा सम्मान प्रदान गर्ने उल्लेख छ । विधेयक पास भएपछि पदक वितरणको बाटो खुल्ने छ ।

मन्त्री जमकट्टेलका अनुसार विधेयकमा शान्ति तथा सुरक्षा अन्तर्गत प्रदेश रक्षक, शान्तिमाला र शान्तिदीप, शिक्षातर्फ प्रदेश दीप, स्वास्थ्यतर्फ मुत्युञ्जय र खेलकुदतर्फ प्रदेश सान, कृषितर्फ कृषि किरण र सहकारीतर्फ सहकारी प्रवर्द्धन, उद्योगतर्फ उद्यमशिलता, पर्यटनतर्फ प्रदेशद्रष्टा र वातावरणतर्फ वातावरण संरक्षण पदक प्रदान गर्ने उल्लेख छ ।

त्यस्तै, पूर्वाधार विकास अन्तर्गत विकास सेवी, सूचना तथा सञ्चार विधाअन्तर्गत प्रदेशदूत, विज्ञानतर्फ अन्वेषण, प्रविधितर्फ नव प्रवर्तन, भाषातर्फ सुभाषिक, कलातर्फ कलाकीर्ति, संस्कृतितर्फ संस्कृतिदीप र साहित्यतर्फ प्रदेश श्रष्टा पदक पनि वितरण गरिने छ ।

यसैगरी प्रदेश सार्वजनिक प्रशासन तथा सुशासन अन्तर्गत जनसेवा, विपद व्यवस्थापन अन्तर्गत विपदसेवी र समाजसेवा लोककल्याण अन्तर्गत प्रदेश परोपकार पदक दिइने विधेयकमा उल्लेख छ ।

विभूषण तथा पदक सिफारिस गर्न आन्तरिक मामिला तथा कानूनमन्त्री अध्यक्षको नेतृत्वमा समिति गठन गरिने छ । समितिमा प्रदेश सरकारका प्रमुख सचिव सदस्य, प्रदेशमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तिहरूमध्येबाट समावेशी सिद्धान्तको आधारमा मन्त्रिपरिषदले तोकेको एक महिलासहित तीन जना सदस्य रहने छन् । सो सिफारिस समितिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सदस्य सचिव रहने छन् ।

समितिले सिफारिस गरेको व्यक्तिलाई प्रदेश सरकार स्थापना भएको दिन माघ २९ गते पदकसहित सम्मान प्रदान गरिने मन्त्री जमकट्टेलले जानकारी दिए ।

केन्द्र सरकारले संविधान दिवसको दिन असोज ३ गते विभूषित हुनेहरुको नामावली सार्वजनिक गर्छ र वैशाख १ गते राष्ट्रपतिको हातबाट वितरण गर्दछ । त्यसअघि विभूषण तथा पदक पाउन योग्यहरुको नामावली जिल्ला-जिल्लाबाट असार मसान्तभित्र गृहमन्त्रालयमा पठाइन्छ । त्यो नामावलीमाथि मन्त्रालयले छानविन गरेर उपसमितिमा पेश गर्छ । उपसमितिले असोज ३ गते संविधान दिवसको दिन विभूषण तथा पदक पाउनेहरुको नामावली सार्वजनिक गर्छ र वैशाख १ गते राष्ट्रपतिबाट वितरण गरिन्छ ।

तर, यी पदक तथा विभूषण विवादास्पद व्यक्ति र राजनीतिक दलका कार्यकर्ताहरुलाई पनि बाँड्ने गरिएपछि विवादमा पर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment