Comments Add Comment

सुनसरी–मोरङमा थप ४७ नयाँ सडकको काम सुरु

७ जेठ, विराटनगर । तराई–मधेशका दक्षिणी क्षेत्रलाई उत्तरतर्फ रहेको राष्ट्रिय राजमार्गसँग जोड्न सुनसरी–मोरङमा थप ४७ नयाँ सडक परियोजनाको काम सुरु भएको छ ।

तराई–मधेस विषेश पूर्वाधार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षदेखि यी दुई जिल्लाका दक्षिणी क्षेत्रका सडकहरुलाई राष्ट्रिय राजमार्गसँग जोड्न ३८ वटा सडक आयोजना थप भएका हुन् । सबै सडक अहिले निर्माणको चरणमा छन् ।

अघिल्लो आर्थिक वर्षमा ९ वटा सडक सम्झौता भइ काम भइरहेको छ । यी सडक योजना बहुवर्षीय योजनामा राखेर काम अघि बढाइएको छ । यसै वर्ष थप गरिएका ३८ वटा सडक योजना भने यही वर्षभित्र सम्पन्न गर्नुपर्ने रहेका छन् ।

दुवै जिल्लाको दक्षिण इलाकाका बासिन्दालाई राष्ट्रिय राजमार्गको पहुँचमा जोड्न चालु आर्थिक वर्षमा नयाँ आयोजना थपिएको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ ।

गत वर्षदेखि उत्तर–दक्षिण सीमा आयोजनाको रुपमा सडक निर्माण थालिएको थियो । चालु आर्थिक वर्षदेखि त्यही आयोजनालाई तराई–मधेस विशेष पूर्वाधार सडक कार्यक्रमअन्तर्गत राखिएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख सुमनराज न्यौपानेले जानकारी दिए ।

‘तराई–मधेसका दक्षिणी क्षेत्रलाई राष्ट्रिय राजमार्गसँगको पहुँचमा जोड्ने सरकारी योजना छ,’ डिभिजन प्रमुख न्यौपानेले भने, ‘बहुवर्षीय योजनाअन्तर्गत दक्षिणी इलाकालाई उत्तरमा रहेको राष्ट्रिय राजमार्गसँग जोड्ने लक्ष्य छ ।’

सुनसरी र मोरङ जिल्लाका दक्षिणी सिमावर्ती इलाकाबाट पूर्व–पश्चिम राजमार्गलाई जोड्ने गरी यी सडक निर्माण गरिनेछन् ।

चालु आर्थिक वर्षमा नयाँ कार्यक्रमअन्तर्गत दुई जिल्लाका दक्षिणी इलाकालाई राष्ट्रिय राजमार्गसँग जोड्न ३८ आयोजना थपिएका हुन् । थप भएका सडक आयोजनाअन्तर्गत कालोपत्रे, नाला, ढल तथा कल्भर्ट निर्माण छन् ।

चालु आर्थिक वर्षमा सबै आयोजनाका लागि एक–एक करोड रुपैयाँ बिनियोजन भएको कार्यालयले जनाएको छ । जसबाट कम्तीमा पनि यो वर्ष ५ देखि ७ किलोमिटर सडक कालोपत्रे गरिने छ ।

निर्माणाधीन र निर्माणको चरण सुरु भएका सडकले भारतको सीमासम्मका नेपाली वस्तीलाई मुख्य राजमार्गसँग जोड्ने छन् । बहुवर्षीय योजनाअन्तर्गत विस्तार गरिने सडकलाई ९ मिटर चौडाइको बनाइने छ ।

गत वर्ष सुरु भएका ९ वटा सडक निर्माणको काम समेत जारी छ । पुराना ९ सडक आयोजनाको म्याद तीस महिनाको छ ।

त्यसैगरी डिभिजन कार्यालय अन्तर्गत दुवै जिल्लामा साना–ठूला गरी ५० वटा पुल निर्माणको काम पनि शुरु गरिएको छ । डिभिजन कार्यालयअन्तर्गत २२ वटा र हस्तान्तरण भएर आएका २२ वटा पुल निर्माणको काम अघि वढाइएको छ । त्यसैगरी ६ वटा पुल निर्माणको लागि सडक विभागले बिस्तृत अध्ययन प्रतिवेदन तयार पारी स्वीकृत हुने चरणमा रहेको डिभिजन कार्यालयले जनाएको छ ।

निर्माण हुने पुलका लागि १७ करोड रुपैयाँ विनियोजन भएको छ । ठेक्का लागेका र काम नभएका, काम हुँदै गरेको चरणमा रहेका र ठेक्का लाग्न बाँकी रहेका पुल स्थानीय सडक पुल कार्यक्रममा समावेश गरी निर्माण गर्न लागिएको डिभिजन प्रमुख न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment