Comments Add Comment

निगुरोः कति स्वादिलो, कति पोषिलो ?

वर्षा लागेको छ । यतिबेला बनजंगलमा च्याउ, निगुरो पाइन्छ । कतिपयले जंगलबाट खोजेरै तरकारीको छाक टार्ने गर्छन् । कतिपयले निगुरो, च्याउ बेचेर पैसाको जोहो पनि गर्छन् ।

निगुरो रोप्न पर्दैन । बनजंगलमा आफै पलाउँछ । यो उन्यु प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ ।

निगुरोलाई कतिपय ठाउँमा न्युरो वा निहुरो पनि भनिन्छ । पहाडमा कालो निगुरो बढी रुचाइन्छ । यसैगरी तराईमा हरियो ।

निगुरो यतिबेलाको मौसमी सागसब्जी हुन् । बनजंगलमा आफै उम्रने भएकाले यसमा कुनै रासयनिक मल वा विषादी प्रयोग हुँदैन । अर्थात यो पूर्णत जैविक हुन्छ ।

अहिले हामीले खाने धेरैजसो सागसब्जी विषादी मिसाइएको हुन्छ । व्यवसायिक ढंगले उत्पादन गरिएका सागसब्जीमा रासयनिक मल, किटनासक औषधी प्रयोग गरिन्छ । यस्ता सागसब्जी फलाउन, बढाउन, भण्डारण गर्न पनि रसयान वा विषादी मिसाउने गरिन्छ ।

कसरी खाने ?

निगुरो तरकारीको रुपमा प्रयोग गरिन्छ । नेपालीको सायदै यस्तो भान्सा होला, जहाँ निगुरो पाकेको छैन । वर्षायाम लागेसँगै कतिले बनजंगलबाट खोजेर र कतिले बजारबाट किनेर निगुरो पकाउने गर्छन् ।

निगुरोलाई भुटेर वा आलुसँग मिसाएर पनि सेवन गर्न सकिन्छ ।

कति पोषिलो ?

निगुरो खानुको फाइदै फाइदा छन् । आफै बनजंगलमा गएर खोज्ने हो भने भान्साको खर्च कटौती हुने भयो । बनजंगलमा उमि्रएका हुनाले यो जैविक र मौसमी तरकारी पनि हो । पोषणविद्हरुले निगुरो पौष्टिकताले भरिपूर्ण रहेको बताउने गर्छन् । निगुरोको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको उनीहरुको भनाई छ ।

के हुन्छ त निगुरोमा ?

पोषणविद्हरु भन्छन्, ‘यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ ।’ बालबालिका र गर्भवती महिलालाई त निगुरो अरु बढी लाभदायक छ । किनभने निगुरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिक रुपमै प्राप्त हुन्छ । अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन ।

पोषणविदहरुले यसमा कोलेस्टोर एवं बोसोजन्य पदार्थ नपाईने भएकाले कुनैपनि किसिमको हानी नहुने बताएका छन् ।

तर, सर्तक हुनुपर्छ

निगुरो जस्तै देखिने सबै वनस्पति खान लायक भने हुँदैन । कतिपय निगुरो जस्तै देखिने वनस्पति विषाक्त हुन्छ । निगुरोको तरकारी टिपेर खाँदा कतिपय विरामी परेको खबर पनि बारम्बार आउने गर्छ । त्यसैले आफुले चिनेको अवस्थामा मात्र निगुरो खोज्ने, टिप्ने वा किन्ने गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment