Comments Add Comment

विश्वकप नजर : कप्तान विराट र धोनीले बनाउलान् इतिहास ?

८ जेठ, काठमाडौं । आईपीएलको रौनक सकिएपछि भारतीय क्रिकेट टिम अहिले विश्वकपको तयारीमा जुटेको छ ।

तुलनात्मक रुपमा अन्य टिमले भन्दा ढिलो गरी विश्वकपमा केन्द्रित भएको भारत उपाधि रक्षा गर्न कतिको सक्षम छ त ?

विश्वका सबैभन्दा महँगो फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आईपीएल) को माहोल सेलाएपछि अब विश्वकप क्रिकेटले झण्डै दुई महिना क्रिकेटप्रेमीलाई मनोरञ्जन दिने छ । इंंग्ल्यान्ड र वेल्समा संयुक्तरुपमा आयोजना हुने विश्वकप एकदिवसीय क्रिकेटको उपाधि कुन राष्ट्रले जित्ला ? चर्चा टोल, चिया पसल र साथीभाइबीच हुँदै सामाजिक सञ्जालसम्म फैलिन थालेका छन् ।

आधुनिक क्रिकेटमा भारत सधै विश्वकप उपाधिको दाबेदार टिम हो । भारतले अहिलेसम्म दुई पटक विश्वकप क्रिकेटको उपाधि उचालेको छ । सन् १९८३ मा कपिल देवको कप्तानीमा भारतले पहिलो पटक विश्वकप क्रिकेटको ट्रफि उचालेको थियो । २०११ मा आफ्नै घरेलु मैदानमा भएको विश्वकपको फाइनलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको भारतको लागि अर्को अविश्मरणीय पल बन्यो ।

धोनीको जादु चल्ला ?

भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनी झण्डै चार वर्षअघि निकै आलोचित बने । त्यो समय थियो, विश्वकप २०१५ । उपाधि दौडमा रहेको भारतलाई सेमिफाइनलमा अस्ट्रेलियाले ९५ रनले पराजित गरेपछि त्यसबेला कप्तान धोनीको धेरैले आलोचना गरे । कतिले त उनको पुत्ला नै जलाए ।

कतिपय क्रिकेट पण्डितले अस्ट्रेलियालाई उपाधि दिलाएका कप्ताान माइकल क्लार्कसँग तुलना गरेर गाली पनि गरे । प्रशंग थियो क्लार्कले अस्ट्रेलियालाई विजेता बनाएसँगै एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । तर धोनीले भने सन्यास दिएनन् अझै खेल्ने इच्छा ब्यक्त गरे । यही विषयलाई लिएर सामाजिक सञ्जालमा उनलाई खुबै उडाइएको थियो ।

यतिबेला ती सबै आलोचक र प्रश्न गर्नेहरुको मुख टाल्ने लक्ष्यमा पूर्वकप्तान धोनी छन् । उनी भारतलाई उपाधि दिलाएर विदा हुने लक्ष्यमा छन् ।

धोनीले आफ्नै कप्तानीमा सन् २०११ को विश्वकप भारतलाई दिलाएका धेरैले भुलेका भने छैनन् । ३७ वर्षीय धोनीको अब एउटै लक्ष्य छ, भारतका सर्वाधिक सफल खेलाडी भएर बिदा लिने ।

सन् २००४ मा बंगलादेशसँगको भएको एकदिवसीय अन्तर्राष्ट्रिय खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका धोनीले अहिलेसम्म ३ सय ४१ एकदिवसीय खेल खेलेका छन् । जसमा १० हजार ५ सय रन पूरा गरेका छन् । उनले १० शतक बनाउँदा ७१ अर्धशतक बनाएका छन् ।

बाहुवली कप्तान विराट !

सन् २०१७ आईसीसी च्याम्पियन्स ट्रफिको त्यो फाइनल खेल । पाकिस्तानको सनसनीपूर्ण जित । भारतको त्यो १८० रनको लज्जास्पद हार, प्राय सबै क्रिकेट प्रेमीको आँखा अगाडि झलझल्ती हुनुपर्छ ।

त्यसबेला भारतका कप्तान विराट कोहलीको अनेक तरिकाले टिका टिप्पणी गरियो । फाइनलअघि बाहुवली भन्दै टेलिभिजन, पत्रपत्रिका, सामाजिक सञ्जालभर कोहली र टिमको चर्चा गरियो । तर फाइनलमा नमज्जाले पछारिँदा ‘आखिर किन हा¥यो बाहुवली ?’ भन्दै कप्तान विराट कोहलीलाई खेदो खने ।

कप्तान विराटले आफूलाई गरिएको त्यो आलोचनालाई मेटाउन मात्रै होइन पछिल्लो समय नेतृत्वदायी भूमिकामा सफल बन्न पनि विश्वकपको ट्रफि उचाल्नै पर्ने दाउमा छन् ।

कति सन्तुलित टिम ?

भारतको पछिल्लो प्रदर्शनलाई हेर्ने हो भने अहिलेसम्मकै सन्तुलिन टिम देखिन्छ । भारतको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्ष बलियो छ ।

सन् २०११ को विश्वकपको उपाधि भारतले जित्दाका दुई खेलाडी अहिले पनि टिममा छन् । त्यसबेलाका कप्तान मेहन्द्रसिंह धोनी र अहिलेका कप्तान विराट कोहली यी दुबै खेलाडीले अहिले पनि भारतको नेतृत्व गर्दैछन् । यो यटक पनि भारतले उपाधि जितेमा यी दुई खेलाडी भारतका लागि महान सावित हुनेछन् ।

सन् २०१५ को विश्वकप खेलेका सात जना खेलाडी अहिले पनि टिममा परेका छन् । धोनी, विराटसँगै शिखर धवन, रोहित शर्मा, रविन्द्र जडेजा, भुवनेश्वर कुमार र मोहम्मद शामीले ०१५ को विश्वकप खेलेका थिए ।

अनुभवी र स्तरीय खेलाडीको भरिभराउ रहेको भारत सन्तुलित टिम हो । भारतको अग्रपंक्ति जति बलियो छ त्यतिनै मजबुत मध्यक्रम र फिनिसिङ लाइनमा छ । अग्रपंतिमा शिखर र रोहित, दिनेश कार्तिक, लोकेश राहुल आउँदा मध्यक्रममा कप्तान कोहली, धोनी, हार्दिक पाण्ड्य, रविन्द्र जडेजा, विजय शंकर जस्ता ब्याट्सम्यानले सम्हाल्ने छन् ।

बलिङ पक्ष पनि भारतको उतिकै सशक्त छ । तीन जना फाष्ट बलर छन् । मोहम्मद सामी, भुवनेश्वर, जसप्रित बुमराह छन् । त्यसो त, अलराउण्डर हार्दिक पनि फाष्ट बलर नै हुन् । स्पिनरमा युजभेन्द्र चाहाल, कुलदीप यादव, रविन्द्र जडेजा, केदार जाधव जस्ता चर्चित बलर छन् ।

विश्वकपका लागि भारतीय टिम

विराट कोहली (कप्तान) रोहित शर्मा, युजभेन्द्र चाहल, महेन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद सामी, केएल राहुल, जसप्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्तिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment