Comments Add Comment

भारतीय लोकसभा निर्वाचनको मतगणना सुरु

९ जेठ, काठमाडौं । भारतीय लोकसभा निर्वाचनको मतगणना  सुरु भएकाे छ । पूर्वनिर्धारित तालिकाअनुसार बिहीबार बिहान ८ बजेबाट मतगणना सुरु भएकाे हो ।

देशभर एकसाथ सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा बाहिरिन थालेको छ । प्रारम्भिक नतिजामा सत्तारुढ गठबन्धन एनडीए नै अगाडि देखिएको छ । दोस्रो स्थानमा प्रमुख विपक्षी दल कांग्रेससहितको गठबन्धन यूपीए छ ।

भारतमा गत चैत २८ बाट सुरु मतदान गत आइतबार सकिएको थियो । भारतीय तल्लो सदन लोकसभाको कुल ५४३ सिटका लागि ७ चरणमा निर्वाचन भएको थियो । जसमा १ हजार २ सय ७९ उम्मेदवार मैदानमा छन् । १४ करोड २० लाख ५४ हजार ९७८ मतदाताले मत जायर गरिसकेकाले मतको पोको खुलेपछि यसले उम्मेदवारहरुको भाग्य फैसला गर्नेछ ।

निर्वाचनमा दलहरु विभिन्न गठबन्धन बनाएर भिडेका छन् । खासगरी प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुनेछ । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट चाहिन्छ ।

मत सर्वेक्षण भन्दै सार्वजनिक गरिएका केही नतिजाले मोदी फेरि दोहोरिने देखाएको छ । यद्यपि, मत सर्वेक्षणको नतिजालाई विपक्षी दलहरुले भने अस्वीकार गरेका छन् । उनीहरुले विद्युतीय मतदान मेसिनको सुरक्षा र मतगणना प्रक्रियाको निष्पक्षतामा समेत प्रश्न उठाएका छन् । मत गणना सुरु भएपछि सर्वेक्षणमा देखाइएजस्तै नतिजा आउँछ वा त्योभन्दा फरक हुन्छ भन्नेमा सर्वत्र चासो छ ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले मत सर्वेक्षणमा विश्वास नगर्न र चनाखो भएर मतगणनास्थलमा खटिन आफ्ना नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

कतिपयले यो १७ औं लोकसभा चुनावलाई कांग्रेसका नयाँ अध्यक्ष राहुल गान्धीको नेतृत्व क्षमतालाई दाँज्ने अवसरको रुपमा पनि हेरेका छन् । किनभने यो मत परिणामले आगामी पाँच वर्षका लागि विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भनिने भारतको सत्ता समीकरण र संरचना निर्धारण गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment