Comments Add Comment

विश्वकप क्रिकेट : अभागी दक्षिण अफ्रिकाको परीक्षा

९ जेठ, काठमाडौं । दक्षिण अफ्रिकी टिम विश्वकप क्रिकेटमा अभागी टिम हो । सात पटक विश्वकपमा सहभागी दक्षिण अफ्रिका चार पटक त सेमिफाइनलबाट बाहिरिएको छ । दुई पटक क्वार्टरफाइनल र एकपटक समूह चरणबाट बाहिरिए पनि हरेक पटक सन्तुलित टिममा रुपमा देखिन्छ ।

दक्षिण अफ्रिकी टिम विश्वकपबाट बाहिरिएका हरेक खेल हेर्ने हो भने नाटकीय नै लाग्छ । चाहे त्यो १९९२ मा इंग्ल्याण्डमा होस्, चाहे १९९९ र २००७ मा अस्ट्रेलियामा या २०१५ मा न्यु जिल्याण्डमा नै किन नहोस् । खेलाडीको नाम मात्रै हेर्ने हो भने दक्षिण अफ्रिकी टिमलाई कसले हराउला र जस्तो देखिन्छ तर दुर्भाग्य भने सधैँ आइपरिदिन्छ ।

उपाधिविहीन भए पनि विश्वकपमा दक्षिण अफ्रिकाको उपस्थिति भने अरु टिमका लागि खतरा नै हुने गर्दछ । यसपटक उपाधिमा दाबेदार मानिएको अफ्रिकी टिममा विश्व क्रिकेटका उत्कृष्ट ब्याट्सम्यान एबी डी भिलियर्स भने हुने छैनन् ।

फाफ डु प्लेसिसको कप्तानीमा रहेको पटक दक्षिण अफ्रिका यो पटक विश्वकप उपाधि उचाल्न कति सक्षम छ त ?

दक्षिण अफ्रिकाको बलियो पक्ष भनेकै ब्याटिङ लाइन हो । उच्च लयमा रहेका ब्याट्सम्यान र बलर मिश्रित दक्षिण अफ्रिकाले महत्वपूर्ण खेलमा कमजोर देखिने दुरावस्था सुधार्ने हो भने अरु टिमलाई निकै कठिन हुने छ ।

अब्बल ब्याटिङ

भरपर्दा ब्याट्सम्यान हासिम आमला केही कजोर देखिएकाले क्वान्टन डे ककको भूमिका अझ बढ्ने विश्लेषकहरु बताउँछन् । वर्तमान समय विश्व क्रिकेटका राम्रा भनिएका बलरलाई दबावमा पार्न सक्ने क्षमता डे ककमा देखिन्छ । यदि महत्वपूर्ण समयमा त्यो भूमिकामा डे कक देखिए टिमलाई फाइदा हुने छ ।

दक्षिण अफ्रिकामा कप्तान फाफ डु प्लेसिस, डेभिड मिलर, डे कक, हसिम अमला, एडियन मार्कराम र रसि भ्यान डर डुसेन जस्ता ब्याट्सम्यान छन् । त्यस्तै जेपी डुमिनी र क्रिस मोरिस जस्ता अब्बल अलराउण्डर हुनु दक्षिण अफ्रिकाका लागि थप उर्जा हो ।

अग्रपंतिमा अमला, डि कक, डुसेन र मार्करामले सम्हाल्दा मध्यपक्रममा कप्तान प्लेसिस, डुमिनी, मिलर साथै क्रिस मोरिसले फिनिसिङमा भूमिका खेल्ने छन् । यस्तै, एन्डिल फेलुकवायो, ड्यान पेट्रियस जस्ता राम्रो ब्याटिङ गर्न सक्ने बलर पनि छन् ।

सन् २०१५ को विश्वकपको सेमिफाइनलमा वर्षा बाधक बनेपछि दक्षिण अफ्रिका फाइनल पुग्न चुकेको थियो । त्यो बेला सेमिफाइनलमा आयोजक टिम न्युजिल्यान्डसँग डिएल मेथडका आधारमा ४ विकेटले पराजित भएको थियो ।

त्यो विश्वकपमा दक्षिण अफ्रिका सन्तुलित र विशेषगरी बलियो ब्याटिङ लाइन भएको टिमको रुपमा हेरिएको थियो । त्यसबेला सबै खेलाडी उतिकै लयमा देखिन्थे भने विशेषगरी कप्तान एबी डिभिलियर्सको तुफानी ब्याटिङ थियो ।

रबडा र ताहिरको भर ?

बलिङमा दक्षिण अफ्रिका यो पटक बलियो देखिएको छ । कागिसो रबडा र इमरान ताहिर दक्षिण अफ्रिकाका मुख्य हतियार हुन् । त्यसो त अनुभवि फाष्ट बलर डेल स्टेन टिममा हुनुले दक्षिण अफ्रिकाको बलिङ पक्ष झनै बलियो भएको छ ।

बलिङमा रबडा, ताहिर र स्टेनका अलवा लुंगी एनगिडी, ड्यान पेट्रियस, तबरेज साम्सी, एन्डिल फेलुकवायो छन् ।

रबडा उदयमान खेलाडी हुन् । रबडाले ६६ एकदिवसीय खेलबाट दक्षिण अफ्रिकाका लागि १०६ विकेट लिइसकेका छन् । २०१५ मा बंगलादेशविरुद्ध डेब्यु गरेका उनले फ्रेन्चाइज लिगहरुमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।

दक्षिण अफ्रिकालाई एउटै चिन्ताको विषय बनेको छ के उनी विश्वकप अघि पूर्णरुपमा फिट हुन्छन् ? इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दौरानमा रबडाको ढाँडमा समस्या आएको थियो । दिल्लीका लागि उनले १२ खेलबाट २५ विकेट लिएका थिए । लिग चरणकै खेलमा घाइते भएपछि उनलाई दक्षिण अफ्रिकाले फिर्ता बोलाएको थियो ।

दक्षिण अफ्रिकाका लागि ९८ खेलबाट १६२ विकेट दिलाइसकेका इमरान ताहिर भने उच्च लयमा देखिएका छन् ।

विश्वकपका लागि दक्षिण अफ्रिका टिम

फाफ डु प्लेसिस (कप्तान), हासिम अमला, क्वान्टन डे कक, रसि भ्यान डर डुसेन, जेपी डुमिनी, एडियन मार्कराम, डेभिड मिलर, लुंगी एनगिडी, क्रिस मोरिस, एन्डिल फेलुकवायो, ड्यान पेट्रियस, कागिसो रबाडा, तबरेज साम्सी, डेल स्टेन, इमरान ताहिर ।

खेल कहिले ?

३० मे – भर्सेस इंग्ल्याण्ड

२ जुन – भर्सेस बंगलादेश

५ जुन – भर्सेस भारत

१० जुन – भर्सेस वेस्ट इन्डिज

१५ जुन – भर्सेस अफगानिस्तान

१९ जुन – भर्सेस न्यु जिल्याण्ड

२३ जुन – भर्सेस पाकिस्तान

२८ जुन – भर्सेस श्रीलंका

६ जुलाई – भर्सेस अस्टे«लिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment