Comments Add Comment

बजेट नदिए आन्दोलनमा उत्रिने समानुपातिक सांसदको चेतावनी

९ जेठ, जनकपुरधाम । सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै बजेट दिन लागेको विरोधमा प्रदेश २ का समानुपातिक सांसदले विरोध जनाएका छन् । उनीहरुले आफूहरुले खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

विपक्षी सांसदले प्रदेशसभा अवरुद्ध पारेपछि सरकारले प्रत्यक्ष निर्वाचित सांसदले योजना छनोट गर्न पाउने गरी एक करोड रुपैयाँ दिने सहमति गरेको छ ।
प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै रकम दिने बुझेपछि समानुपातिक सांसद विरोधमा उत्रिएका हुन् ।

बिहीबारको प्रदेशसभा बैठक शुरु हुनासाथ समानुपातिक सांसदले आफूहरु पनि जनताकै मतबाट यहाँसम्म आइपुगेको बताउँदै अपमान गरे सह्य नहुने चेतावनी दिए ।

‘के हामी सांसद होइनौं, जनता समक्ष त हामी पनि जान्छौं । जनताले हामीलाई खोई बजेट र योजना भनेर लज्जित गरिरहेका छन् सत्तासिन राजपाका सांसद रिना यादवले भनिन्, ‘जनताका लागि बजेट नलग्दा हामी बदनाम भइरहेका छौं ।’

उनले दुई दिनभित्र आफूहरुको माग पूरा नगरिए आन्दोलनमा उत्रने चेतावनी दिइन् । उनले आन्दोलनको चेतावनी दिँदा समानुपातिक सांसदहरुले एकै स्वरमा टेबुल ठोकेर समर्थन जनाएका थिए । उनले बोलेलगत्तै नेकपाका सांसद जगत यादवले पनि सोही कुरा दोहो¥याए । उनले निर्वाचित सांसदलाई मात्रै विकास बजेट दिए चुप लागेर नबस्ने चेतावनी दिए । ‘सबै सांसद एकै हो’ यादवले भने, ‘तर यहाँ विभेद गर्ने काम भएको छ । यो विभेद रहे हामी अब चुप लाग्दैनौं ।’

कांग्रेसकी सांसद सरस्वती चौधरीले हामीले हाउसमा विधेयक पारित गर्ने काम मात्रै गर्ने ? भनी प्रश्न गरिन् । प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । त्यसमध्ये ६४ जना प्रत्यक्ष निर्वाचित छन् भने ४३ जना समानुपातिक कोटाका छन् ।

विपक्षीले लगातार संसद बैठक अवरुद्व गरेपछि प्रदेश सरकारले विपक्षी सांसदलाई १ करोड रुपैयाँको योजना दिने भद्र सहमति गरेको थियो । यद्यपी मुख्यमन्त्री लालबाबु राउतले विपक्षीलाई लोभ्याउनका लागि यो बजेट नदिएको भन्दै सरकारले नै विगतमा गरेको प्रतिबद्वता अनुरुप यो बजेट दिन लागिएको प्रदेशसभामा बताइसकेका छन् ।
तर विपक्षीलाई दिइने भनिएको यो बजेट प्रत्यक्ष निर्वाचित सांसदले मात्रै पाउने जानकारी पाएपछि समानुपातिक सांसदहरु तम्सिएका हुन् ।

दलहरुले यसबारे नबोल्न सांसदहरुलाई ह्वीप लगाउने तयारी गरेको छ । तर समानुपातिक सांसदहरुले ह्वीप नमान्ने बताएका छन् । एक सांसदले भने, ‘पार्टीले ह्वीप लगाए पनि हामी रुक्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment